पाकिस्तानसँगको वैदेशिक व्यापार : ५० करोडको आयात हुँदा ९ करोडको मात्रै निर्यात
दक्षिण एसियाली मुलुक पाकिस्तानसँग नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्मको अवधिमा पाकिस्तानसँगको व्यापार घाटामा देखिएको हो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा पाकिस्तानबाट ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, यही अवधिमा नेपालबाट पाकिस्तानतर्फ ९ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यस अवधिमा नेपाल र पाकिस्तान बीचको वैदेशिक व्यापार ४१ करोड २ लाख ८७ हजार रुपैयाँ घाटामा छ । यससँगै दक्षिण एसियाका कुनै पनि मुलुकसँगको व्यापारमा नेपाल नाफामा छैन । भारतसँग सबैभन्दा घाटा व्यहोर्दै आइरहेको नेपाल भुटान, माल्दिभ्स, बंगलादेश, श्रीलंकासँगको व्यापारमा पनि घाटामा छ ।
पाकिस्तानबाट नेपालतर्फ ड्राई फ्रुट्स, मसला, औषधीय गुण भएका बिरुवा, तरकारी लगायतका वस्तुको आयात हुन्छ । यसैगरी, कालो नून (बिरे), सोडियम र सौन्दर्यका सामाग्रीको आयात समेत हुने गरेको छ । नेपालबाट भने पाकिस्तानतर्फ अलैँची, मसालजन्य वस्तु, जडिबुटी, खयर लगायत वस्तुको निर्यात हुने गरेको विभागले जानकारी दिएको छ ।