डियर मृत्यु
प्रकाश श्रेष्ठ
तिमी आयौ
मेरो कुनै गुनासो छैन
तर, मेरो अनुरोध छ
केही समय अझै पर्ख
बरु म सँगै हिँड
जाउँ भेट्नलाई
एक मसहुर गायक
मूर्धन्य चित्रकार
लोकप्रिय गजलकार
वरिष्ठ डाक्टर
ख्यातिप्राप्त ईन्जिनियर
प्रसिद्ध पत्रकार ।
त्यो गायक जसलाई मैले
उनको यादहरुको
गीत गाउन लगाएको छु
त्यो चित्रकार जसलाई मैले
उनलाई गरेको चोखो मायाको
चित्र कोर्न लगाएको छु
त्यो गजलकार जसलाई मैले
उनको बयान पुग्ने गरी
गजल लेख्न लगाएको छु
त्यो डाक्टर जसलाई मेरो
मानसपटलमा भएकी उनको
सिटी स्क्यान गर्न लगाएको छु
त्यो ईन्जिनियर जसलाई मैले
उनका लागि देखेको
सपनाको महलको डिजाइन
गर्न लगाएको छु
त्यो पत्रकार जसलाई मैले
उनलाई पाउन गरेको ठुल्ठुला
आन्दोलनको कथा छाप्न लगाएको छु ।
डियर मृत्यु,
मलाई जान्न मन छ
त्यो गीतको सङ्गीत, भाका
र, लय कस्तो सुनियो होला ?
त्यो चित्रको आकृति
प्रेमिल भयो कि भएन होला ?
उनको बयान पुग्ने गरी
गजल कोरियो कि कोरिएन होला ?
सिटी स्क्यान गर्दा उनको
यादको रिपोर्ट कस्तो आयो होला ?
उनको लागि सपनाको महल
कत्ति तलाको भयो होला ?
पत्रकारले मेरो त्यागको कथा
कति पृष्ठमा छाप्यो होला ?
डियर मृत्यु,
अझै थोरै फुर्सद छ भने
ती मन्दिर, गुम्बा, चर्च
र, मस्जिदहरुमा जाउँ
जहाँ मैले उनको स्वास्थ, प्रगति
र भविष्यको लागि प्रार्थना गरेको छु
पूजा गरेको छु, भाकल गरेको छु,
अनि, कामना गरेको छु ।
डियर मृत्यु,
मलाई थाहा पाउन मन छ
मेरो प्रार्थना, पूजा, भाकल
र, कामनाको खबर के छ होला ?
मन्दिरको घण्टीहरुमा
तुर्लुङ्ग झुन्डिरहेको पो छ कि ?
या, गुम्बाको प्रवेशद्वार देखि नै
असरल्ल छरिएको छ कि ?
या, चर्चमा बलिरहने अबल माथिको
धुवाँसँगै उडिगयो कि ?
या, मस्जिदमा बाँधिने मनोकामनाको
धागोसँगै बाँधिरहेको पो छ कि ?
डियर मृत्यु,
अब त तिमीलाई कौतुहल पक्कै लाग्यो होला
उनको नाम के होला भनेर
उनी अग्लो, होचो, मोटो, दुब्लो कस्तो छिन् भनेर
केश घुम्री परेको वा सिल्की कस्तो छ होला भनेर
मुस्कुराउँदा गालामा डिम्पल
र रिसाउँदा आँखा रातो हुन्छ कि हुँदैन होला भनेर
उनको आवाज सुरिलो छ कि तिखो छ होला भनेर ।
डियर मृत्यु,
तिमी सोध्छौ भने म अवश्य भन्ने छु
उनलाई म मायालु शब्दमा
कहिले मेरो देशको प्रिय शान्ति भनेर बोलाउँछु
कहिले हराएको प्रिय खुशी भनेर
कहिलेकाहीँ प्रिय प्रगति भनेर बोलाउँछु
त, कहिले प्रिय विकास र समृद्धि भनेर ।
डियर मृत्यु,
अब तिमी थाक्यौ भने,
मलाई एकछिन जान देऊ
म मेरो प्रियसीलाई अन्तिम पटक भेटेर आउँछु
अहिलेसम्म भन्न नसकेको कुरा भनेर आउँछु
देखाउन नसकेको माया बिस्कुन लगाएर आउँछु
साष्टाङ्ग प्रणाम गरेर आउँछु, पुजनीय बुवा मुवालाई
र, भन्ने छु, बुढेसकालको लठ्ठी बन्न सकिन भनेर
अनि भेट्ने छु, मेरा आदरणीय गुरुजनलाई
र कृतज्ञ हुनेछु उहाँहरुले दिनु भएको
शिक्षा र संस्कारप्रति
अनि भेट्ने छु, मेरा ती सबै हितैषी साथीहरुलाई
जसले मेरो बाल्यकाल र युवावस्था
कत्ति रमाइलो, रोमाञ्चित र प्रिय बनाईदिए
अनि सोधेर आउँछु हालखबर
छिमेकी र आफन्तहरुको ।
ढकढक ढकढक ढोकामा कसैले गर्दै थियो
झसङ्ग मन आत्तियो, मृत्युले पो हो कि भनेर
तर आमाले पो रहेछ,
‘उठ्ने बेला भएन, ६ बजिसक्यो’
एक जोर आँखाको ढकनी उघ्रियो
र, भित्ताको घडीमा पर्यो
साँच्चिकै ६ बजेछ
अनुहार र जिउ पसिनाले भिजेछ
उँठे फ्रेस भएँ र लेख्न बसें
‘डियर मृत्यु ।’
अर्जुनधारा नपा–४, झापा