प्रेममा बिछोडिएकी प्रेमिकाजस्तै गाउँ
आजकाल
गाउँघरबाट
हुलका हुल युवाहरू
सुनौला सपना सजाउने रहर पालेर
हतार हतारमा कतार पुग्छन्
र, सपनाको सहरमा
रहरका बाली भित्र्याउन
नचाहेरै पनि
प्रिय परिवारलाई चटक्कै बिर्सेर
दलालको दलालीमा
कौडीको भाउमा
पसिनाको मोती बेच्न
खाडीको बजारमा भौंतारिएपछि
आजकाल गाउँ
प्रेममा बिछोडिएकी प्रेमिका भएको छ ।
...
खाडी पसेको रामेले
आफू खाडी पस्नुको कारण
आफ्नु गरिबी मात्र हैन
आफ्नो अप्रतिस्पर्धी शिक्षा पनि हो
आफ्नो ग्रामीण जीवनशैली पनि हो
जहाँ, सम्भावनाका कोपिला लाग्दैनन्
चाहनाका फुल फुल्दैनन्
इच्छाको फल लाग्दैनन्
यस्तै ठानेर होला
आफ्नी दुलहीलाई सहर डाकेको छ
सहरमा, उसले
आफ्ना सन्तानको लागि
सम्भावनाका सयपत्री
र, मखमली किनी दिनुछ ।
श्रीमतीको जवानीसँग साटेको पैसाले
उसैका लागि
उसैको चाहनामा
सुनखरी लगाउने शिरमा
सुनफुल सजाइदिनु छ ।
अझ भनौं
उसको रहरको बगैंचामा
सम्पन्नताको बेली, चमेली
फुलाइ दिनु छ ।
गाउँ छोडेपछि
सहरमा उसलाई
आफ्नु पसिनाको
स्वर्णिम सहर बसाउनु छ
त्यसैले त
आजकाल गाउँ
प्रेममा बिछोडिएकी प्रेमिका भएको छ ।
आज भोलि
छोरा–बुहारीहरू
छोरी–ज्वाइँहरू
नाति–नातिनीहरू
सुख खोज्न
सहर पसेपछि
बिरक्तिएको गाउँले
आफ्नै छाती चिरेर बनाएको
लमतन्न धुले सडकलाई
सोधिरहेको छ
सहरका सन्ततिको सन्चो बिसन्चो
बिचरा गाउँघर
आफ्नु जीर्ण शरीर बोकेर
आफन्त बियोगमा थलिएको
टिठलाग्दो अनुहारमा
पर्खिरहेको छ आफ्ना आफन्तहरू
त्यसैले त
आजकाल गाउँ
प्रेम बिछोडिएकी प्रेमिका भएको छ ।
आजकाल
हाम्रा बा आमाहरूलाई
आफ्नै श्रमको महलमा बसेर
छोरा बुहारीसँग भलाकुसारी गर्ने
छोरी ज्वाइँसँग
आत्मीयता बढाउने
र, नाति नातिनासँग जिस्किदै
मनभरि भरिका
दन्त्यकथाहरू सुनाएर फुरुङ्ग पार्ने
जीवन भरका चाहनाहरूलाई
छिडीमुनि थुनेर
लैबरीको सहरमा
जीवनको कठिन यात्रा गर्नु छ
किनकि
आफ्नु बुढेसकालको सहारा सहरमा छ
त्यसैले त
आजकाल गाउँ
प्रेम बिछोडिएकी प्रेमिका भएको छ ।
आफ्नै पसिनाको आर्जन
गैरी खेतलाई
आफू हाँस्दा हाँस्ने
आफू रुँदा रुने
सल्लेरी पाखा
जसलाई
मन मस्तिष्कले भूस्वर्ग ठानेको थियो
उसैसँग
पारपाचुके गर्नु पर्दाको पीडा
हृदयभरी बोकेर
सहर पसेपछि
आजकाल गाउँ
प्रेम बिछोडिएकी प्रेमिका भएको छ ।
पारी पट्टिका भीर पाखाहरूमा
बाख्रा चराउँदा टुसाएका यादहरू
भैंसी डुलाउदा उम्रिएका चाहहरू
डन्डीबियो खेल्दा बनाएका साथीहरू
पूजामा दोहोरी गाउँदाका दौंतरीहरू
गुच्चासँगै साटेको प्रेमिल आँगन
सबै सबैलाई
मनको कुनामा पोको पारेर
मन नलागी नलागी
बिदाइको हात हल्लाएर
भैंसी बाँध्न काटेको
सुरिलो किला आफ्नै मुटुमा गाडेरबाख
गाई बाँध्न बाटेको दाम्लोले
आफ्नै मन बाँधेर
छोराको इज्जत राख्न
बुहारीको मन राख्न
नाति नातिनाको रखवारी गर्न
एकहुल बा आमाहरू
छिरेका छन् सहरको गोलघरमा
जहँ उनीहरूको शरीर रहन्छ
मन रहँदैन
त्यसैले त
आजकाल गाउँ
प्रेम बिछोडिएकी प्रेमिका भएको छ ।
अध्यक्षः प्रगतिशील लेखक संघ, महोत्तरी