बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कथाः जात्रा

शनिबार, ०४ असार २०७९, १२ : ५१
शनिबार, ०४ असार २०७९

वसन्त ऋतुको एक शान्त बिहान । प्रकृति समयचक्रको नयाँ गोरेटोमा भर्खरै हिँड्न सुरु गरेको हो कि जस्तो देखिएको थियो । जमिनका बोट–बिरुवा र घाँसपातमा समेत आँकुरा पलाउन थालेका थिए । यत्रतत्र जहाँतहीँ हरियाली व्याप्त थियो । बिहानीपखको चिसो हावा पूरै वातावरणलाई आनन्ददायक बनाउँदै सुस्त गतिमा चलिरहेको थियो । हावाको त्यही सुस्त गतिको चापले गर्दा रुख–विरुवाका पातहरू सुस्त सुस्त गतिमा हल्लिइरहेको देखिएका थिए । सडकमा मानिसहरूको दोहोरी लत्ता चलिरहेको थियो । कोही आइरहेका थिए, कोही गइरहेका थिए । कोही चाहिँ सडक किनाराका चौतारीहरूमा सुस्ताइरहेका थिए । एउटा सजीव गति विद्यमान थियो  त्यहाँ । 

अगाडितिर ससाना पहाडका शृङ्खलाहरू देखिन्थे । तिनलाई हरियो जङ्गलले ढाकेको थियो । तिनै पहाडी शृङ्खलाहरूमध्ये एउटा ठूलो पहाडको काखमा बसेको थियो अर्को सानु पहाड । झण्डै आधा घण्टा हिँडेपछि पुगिएलाजस्तो देखिने त्यसको माथिल्लो भाग थुम्काको सानु समथर खण्डमा मानिसहरूको चहलपहल परैबाट समेत देख्न सकिन्थ्यो । त्यस क्षेत्रमा बिहानैदेखि मानिसहरू आउने–जाने गरिरहेका थिए । 

उकालो सुरु हुनुभन्दा पहिल्यै नै लगभग दुई सय मिटरवर देब्रेतिर ससानो खोल्सीको काँधमा उत्तर–दक्षिण फैलिएको लाम्चो आकारको चउरको एक छेउमा टेबुल र बेन्च राखेर केही युवा–युवतीहरू बसेका थिए । तिनीहरूका हातमा टिकट थिए । ठाउँ ठाउँमा पार्किङ लेखिएका पोस्टरहरू टाँसिएका थिए र चउरमा यो छेउदेखि ऊ छेउसम्म लहर मिलाएर कार, मोटरसाइकल र साइकलहरू राखिएका थिए । मानिसहरूको एउटा जीवन्त चहलपहल थियो त्यहाँ । सवारी साधनहरूलाई सुव्यवस्थित किसिमले राख्ने उद्देश्यले चउरको उत्तर, पश्चिम र पूर्वतिरको खण्डमा डोरी टाँगिएको थियो । 

काउन्टरका रूपमा प्रयोग गरिएको टेबलभन्दा पाँच–सात मिटर दक्षिणतिर पार्किङ क्षेत्रमा प्रवेश गर्नका लागि छाडिएको खाली ठाउँबाट पर्यटकजस्तो देखिने एक जना नौलो मानिस भित्रतिर गयो । र, आफ्नो साधनलाई एउटा पार्किङ लटमा राखेर पुनः बाहिर निस्कने तरखर गर्नै लागेको बेलामा मोटरसाइकलको स्विच अफ गरेर साँचो थन्क्याउन पाउँदा नपाउँदै हातमा टिकटको प्याड र काँधमा झोला बोकेको एउटा युवक उसको नजिकै पुग्यो र टिकट तेस्र्यायो । त्यसमा मेलाका विषयमा सामान्य जानकारीका केही बुँदाहरू र पार्किङ शुल्क अङ्कित गरिएको थियो । नवागन्तुकले टिकट समात्यो र त्यस कम्पाउन्डबाट बाहिर निस्कियो । ऊ अशोक थियो ।

पहाडको घाँचमा अवस्थित त्यस ठाउँले कुनै हाटबजार, मेलापर्व वा जात्रा विशेषको झझल्को दिन्थ्यो । बाटामा माथितिर जाँदै गरेका र माथिबाट तलतिर फर्कँदै गरेका मानिसहरूको दोहोरी लत्ता थियो । तुलनात्मक रूपमा ओरालो झर्नेभन्दा उकालो चढ्ने मानिसको सङ्ख्या अधिक देखिन्थ्यो । एक सय मिटर जति हिँडेपछि अशोक ससाना राम्रा कुदेका ढुङ्गा बिछ्याएर बनाएका सिँडी टेक्न पुग्यो । दोकाँधे शैलीमा भिरेको उसको बाइनाकुलर कम्मरमा झुन्डिइरहेको थियो र अगाडिपट्टि उसको गर्धनमा एउटा सानु पेन्टेक्स क्यामरा झुलिरहेको थियो । टाउकामा उसले खैरो खाले जिभे्र टोपी लगाएको थियो । ऊ झलक्क हेर्दा कतै विदेशतिरबाट भर्खरै आएको पर्यटक पो हो कि जस्तो देखिन्थ्यो । 

डाँडाको फेदीमा एउटा भव्य र आकर्षक प्रवेशद्वार भेटियो । त्यसबाट भित्र प्रवेश गर्ने बित्तिकै देब्रेतिर सानो खोल्सामा अर्धचन्द्राकार शैलीको पुल र त्यसको छेवैमा पानीको एउटा धारो । त्यसको अलिकति माथितिर पिकनिक स्पटका रूपमा प्रयोग गर्न सकिने सानु फराकिलो समथर खुला ठाउँ र बगैँचा । ती यावत् वस्तुहरूलाई हेर्दै अशोक अनगिन्ती मान्छेको हुलबीचबाट ढुङ्गाका छपनी ओछ्याइएको एउटा चिटिक्क परेको राम्रो बाटो हुँदै लगातार अघि बढ्दै गयो । 

केही बेरपछि एउटा उकालो बाटो भेटियो र स्वाभाविक रूपमा त्यसको गति क्रमशः मन्द हुँदै गयो । धैर्यतापूर्वक बिस्तारै पाइला चालिरहेको अशोकका मनमा अनायास उसको बालककालका स्मृतिलहर आएर नाच्न थाले । 

धेरै समय पहिले उसको बालबय पहाडको गाउँबेँसीका उकाली र ओराली गर्दै बितेका थिए । तल मादी नदीले बनाएको फाँटसँगैको बेँसीमा खेतीपाती थियो र माथि डाँडाको पहारिलो ठाउँमा गाम थियो । ती गामबेँसीका बाटाहरूमा त्यसरी नै चिटिक्क परेका ढुङ्गाका छपनीहरूले बाटो निर्माण गरेका थिए । आज यहाँ देखिएको यस ढुङ्गेबाटोले अशोकका मनमा विगतको स्मृतिलाई ताजा बनाएर अगाडि ल्याइदियो । 

अहिले त नेपालमा पनि सहरी क्षेत्रका विविध मल र सपिङ सेन्टरहरूमा विशालकाय बिजुली भर्याङहरू बनेका छन् । तिनका सिँढीमा गएर उभिएपछि माथिल्लो तलोबाट तल्लो वा तल्लो तलोबाट माथिल्लोमा मानिसहरू निमेषभरमा पुग्छन् । उहिले भने त्यस्तो थिएन । काठका लिस्नामा खोपिएका सिँढीमा यत्नपूर्वक टेकेर तलमाथि गर्नुपथ्र्यो । अहिले यतिबेला तिनै ठाडा लिस्ने सिँढीजस्ता सिँढीहरूमा टेकेर अशोक मताप लयमा धैर्यपूर्वक विस्तारै हिँडिरहेको छ माथि पहाडको टाकुरामा लागेको जात्रामा सामेल हुन । 

ठाउँ ठाउँमा खुला आकाशमुनि बाटाका दुवै किनारमा किसिम किसिमका अस्थायी पसलहरू थिए, छरपस्ट सामान फिँजारेर राखिएका । जाने मान्छेहरू गैरहेका थिए, आउनेहरू आइरहेका थिए । माथि देवीलाई चढाउन ध्वजापताका र धुपदीप नैवेद्य किन्ने मानिसहरू मोलतोल गर्दै गरेको देखिन्थ्यो । 

एकाएक एउटा अप्रिय दृश्यमाथि मानिसहरूको ध्यान खिचियो । देवीको दर्शन गर्न अगाडितिर लम्किइरहेको एक वृद्ध जोडीका आँखा सडक किनारमा सामान फैलाएर बसेकी एक पसले महिलाको विज्ञापन शैलीको स्वरले तान्यो । वृद्ध निमेषभर रोकिएर पूजाको सामान भएको डाली उठाएर ‘यसको दाम कति हो ?’ भनेर सोध्यो । ‘लानोस् लानोस्, पैसा पछि दिए पनि हुन्छ । बढी पर्दैन ।’ उसले कर लगाई । पूजा सामग्रीको ढकिया उठाउन उसले हात बढाउन लागेकै बेलामा उसका हातलाई तानेर रोक्दै ‘उतै लिए पनि हुन्छ । जाऊँँ छिटो ।’ भन्दै उसकी जहानले उसको कदममा ब्रेक लगाई । 

‘कुन बोक्सी बूढी हो यो ? अर्काको सामान छोएपछि नलिएर सुक्ख ? निकाल पैसा !’ यति भन्न पाउँदा नपाउँदै धोतीको फेर पिठ्युँमा बाँधेर ऊ आवेगको घोडामा चढेर कुर्लिई । 

‘सोध्दैमा लिनै पर्छ र ? सोध्न पनि नपाउने के हो यो ?’ वृद्धाले प्रतिवाद गर्न खोजी । 

‘नकरा तँ चोथाले बोक्सी बूढी । तेरो मुखसुख च्यातिदिउँला ऐले बढ्ता भइस् भने ।’

आफ्नी बूढीलाई तथानाम गाली गरेको सुनेर वृद्धलाई सही नसक्नु भयो । त्यसको कन्सिरी तातेर आयो । यति संवाद चलिन्जेलसम्म त्यहाँ मानिसहरूको एउटा ठूलै भीड जम्मा भइसकेको थियो । 

‘तिमीले बेच्न राखेको सर्जाम छुन पनि नहुने ?’ रौद्र रूपमा देखिएको पुरुषका मुखबाट यति शब्द निस्किए । 

‘चुप लाग पाखण्डी बूढो । नलिने भएपछि किन छोइस् मेरो सामान ? पैसा निकाल् पैसा ?’ त्यसले पूरै डन शैलीमा उसलाई हकारी ।’ 

‘राम राम राम । कलियुग उर्लन्छ भन्थे, नभन्दै र’च । केही बटुवाहरूको मुखबाट यस्तो आवाज निस्कियो । किंकर्तव्यविमूढ भएर अपमानबोधको भुमरीमा रुमल्लिइरहेका ती वृद्ध जोडी नजिक पुगेर अशोक र अरू केही युवाले त्यो पसले महिलालाई शान्त पार्न खोजे । र, तिनीहरूलाई हातमा समातेर अगाडिको बाटो लागे । वृद्ध महिला क्लान्त मुहारमा जवाफ फर्काउने प्रयत्न गर्दै थिई, अशोकले ‘नालीमा ढुङ्गा हाने त्यसबाट निस्केका छिटा आफैँतर आउँछन्’ भनेर सम्झाउँदै तिनलाई लिएर अगाडितिर लाग्यो । 

कतै लिस्नो उक्लेजस्तो लाग्ने उकालो थियो, कतै कतै तर्पाएँ बाटो पनि थियो, ठूला छपनी छापिएको । माथिबाट आउने यात्रुको गति तीव्र थियो, ती ग्वार ग्वार हिँडिरहेका थिए । उकालो लाग्नेहरूका पाइला मन्द गतिमा चलिरहेका थिए । युवक–युवतीहरूका भने कुरै भिन्दै । तिनीहरू अरूहरूका मन्द गतिमा चलेका पाइलाहरूलाई उछिन्दै सहज रूपमा उकालो चढिरहेका थिए । 

केही माथि पुगेपछि बाटाको पूर्वी किनारमा एउटा घुमाउने घरजस्तो ठाँटी भेटियो । मानिसहरूको आवादी त्यहाँ पनि बाक्लै थियो । थरीथरीका किचिरमिचिर सामान फिँजाएर तिनीहरूले त्यहाँ पनि खुला पसलको विस्तार गरेका थिए । एउटा चौतारो थियो बाटाको किनारमा । चौताराको बिचोबिचमा समीको मझौला खाले रुख थियो र उकालोको थाप्लामा टेकेर त्यहाँको शीतल छहारीमा मानिसहरू बसेर थकाइ मारिरहेका थिए । उकालो बाटाको ठाउँ ठाउँमा केही सय मिटरको फासलामा परोपकारी मानिसहरू चिसो सर्बत पानी बाँडिरहेका थिए । उकालो चढ्दा बिहानै पनि पसिना छुटिरहेका थिए । तिनीहरूका हर्हराएका आँतमा जौको सातु र सक्खरको सर्बतपानी पर्दा तिनीहरू प्रसन्न देखिएका थिए । अक्षय तृतीयाको दिन थियो त्यो ।

तलतिरबाट माथिको उकालोतिर चढ्दै गरेका प्रहरीहरूको एक हुलमाथि एक्कासि मानिसहरूका नजर पर्न पुगे । जात्रामा कुनै अप्रिय घटना नघटोस् भन्ने मनसुवा लिएर शान्ति, सुरक्षा कायम गर्न खटिएका होलान् तिनीहरू । मानिसहरूले यस्तै सोचे । त्यसपछि चौतारीमा थकाइ मार्न बसेका मानिसहरू पनि क्रमशः माथितिर लागे ।

+ + +

अशोक माथि थुम्कीमा पुग्दा झण्डै नौ बजेर तीस मिनेट गइसकेको थियो । घामका किरणले पोल्न थालेका थिए । माथि थुम्काको उत्तरपूर्वतिर एउटा मन्दिर थियो र त्यसका वरपर झुण्ड झुण्डमा मानिसहरू विभाजित भएर बसेका थिए । देवी मन्दिरको उत्तरतिर च्यानलगेट थियो तर आज पर्वको दिन भए पनि भित्र पस्ने च्यानल गेटमा भोटे ताल्चा लागेको थियो । भर्खरै आएका प्रहरीहरूले च्यानल गेट अगाडि जङ्गी शैलीमा उभिएर त्यहाँ पहरा दिइरहेका थिए । 

मानिसहरू केही समयसम्म त अलमलमा परेका थिए । तर, पश्चिमतिरको छेउमा एक जना युवकले शिष्ट शैलीमा प्रवचन दिएर वस्तुस्थितिलाई बुझाउन सुरु गरेपछि वातावरणमा लागेको तुवाँलो बिस्तारै फाट्न थाल्यो । अनि, मानिसहरूले पनि कुरोको चुरो बुझ्दै गए । 

पश्चिमतिरको कुनामा, अलिकति अग्लो ढिस्कोमा उभिएर प्रवचन दिइरहेको युवकले मानिसहरूका आफ्नै कथा व्यथा भन्न थालेपछि तिनका हृदय पनि पग्लन थाले । र, त्यस वरपरको आकाश तिनका तालीको गड्गडाहटले तरङ्गित हुन पुग्यो । ऊ भन्दै थियो, ‘हामीले बनाएका कुटो कोदाला, भाँडा–बर्तन नछोइने, अनि हामी मान्छेहरू कसरी अछूत हुने । हाम्रो अगाडिको मन्दिरको शिरमा राखेको त्यसको ताज, त्यो गजुर शुद्ध हुने, हामी कसरी अशुद्ध हुने ? हामीले बनाएका सबै कुरा चल्ने, हामीले छोएको पानी किन नचल्ने ? हामीले कँुदेका देउताका मूर्तिहरू मन्दिरभित्र राखेर अरूले पूजा गर्न हुने, हामीले किन नहुने ? खासमा जन्मका आधारमा कोही पनि छूत वा अछूत छैन÷हुँदैन । सबैका नसामा बग्ने रगत उही हो । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भनेर हाम्रा महाकवि देवकोटाले यसै भनेका हुन् र ? 

‘कुरा त केटाले भनेका ठिकै हुन् तर जानाजान हाम्रै कामी, दमाई र सार्कीसित एउटै लहरमा बसेर देउता पुज्न कसरी सकिन्छ ए गाँठे हो ?’ मन्दिरको पूर्वी खण्डमा दस–आठ जना धर्मभिरु मान्छेको बीचमा बसेर रामानन्द पण्डित कुरा काटिरहेका थिए । 

‘अहिले कोही दुर्घटनामा परिहाल्यो भने हामीलाई चाहिने रगत कुन जातको हो भनेर हेर्ने कुरा आउँदैन । हेर्ने भनेको कुन रक्त समूहको हो भन्ने मात्र हो । उचनीच भन्ने कुनै भेद हुँदैन मानिसबीचमा । यो त हजारौँ वर्षसम्म हाम्रो मन मस्तिष्कमा जमेर रहेको अज्ञानका कारणले मात्र त्यस्तो देखिएको हो । अहिलेको एक्काइसौँ शताब्दीको समयमा समेत हामी उच्च र निम्न जाति भनेर विभेद गर्छौं भने त्योभन्दा असभ्य कुरा कुनै हुन सक्तैन । तसर्थ सबै दाजुभाइहरूले यो कुरा बुझ्नु र मनन गर्नु आवश्यक छ । मान्छे मान्छेबीचको विभेदरूपी यो दरार मेटाउनु हामी सबैको कर्तव्य हो ।’ 

यसरी मन्दिरको बीच भागमा उभिएर अशोकले पनि लामै भाषण ग¥यो । सबैले होमा हो मिलाएर ताली पिटे । हेर्दाहेर्दै विभेदकारी चर्का भाषण गर्ने मानिसहरू बिस्तारै बाहिरिन थाले । अनि सद्भावपूर्ण कुराको वकालत गर्ने मानिसहरूको मनोबल बढ्दै जान थाल्यो । ती सबैको अनुहार बिहानीपख हिमचुलीमा परेका सूर्यका किरणहरूले वातावरणलाई क्रमशः उज्यालो बनाउँदै लगेसरी मानिसहरूका प्रफुल्ल मुहारमा प्रसन्नताको आभा फैलिन थाल्यो । उपस्थित सबैले एकआपसमा हात मिलाएर मानवता र समानताका लागि प्रतिबद्धता जाहेर गरे । 

फेरिएको वातावरणमा सबैलाई सहभागी गराउने उद्देश्यले अशोकले मन्दिरको पेटीमा उभिएर एउटा सङ्क्षिप्त वक्तव्य दियो– ‘उपस्थित भद्र महिला तथा सज्जनवृन्द, यद्यपि यी मन्दिर र देवालयहरू सबै मानव निर्मित हुन् । हामीले जसलाई देवता भनेर पूजा गर्र्छौं र आंशिक लिन खोज्छौँ, ती पनि सबै हाम्रै मनमस्तिष्कका सिर्जना हुन् । तथापि हामी कसैका आस्थामा कुठाराघात गर्न चाहन्नौँ । इच्छा हुनेहरूले पूजा गरे हुन्छ, नहुनेहरूले नगर्दा पनि केही फरक पर्दैन । स्वेच्छाको कुरा हो यो । 

तसर्थ अबदेखि यो जातका मानिसले पूजा गर्न पाउने र ऊ जातका मानिसले नपाउने भन्ने भ्रमपूर्ण विचारलाई परित्याग गरौँ र सामाजिक रूपान्तरणको बाटोमा अघि बढौँ । अब मन्दिरको ढोका सबैका लागि खुला गरिदिऊँ र एउटा सद्भावपूर्ण समाजको निर्माण गरौँ ।’ 

उसका कुरा सुनेपछि सबैले उल्लासपूर्ण तरिकाले परर ताली पिटे । पहरा बसेका प्रहरीहरू पनि बिस्तारै परतिर सर्न थाले र पूजारीले च्यानल गेटको ताला खोले । त्यसपछि बिनाभेदभाव सबै मानिसहरू क्रमबद्ध रूपमा लाइन लागेर आआफ्नो पालोको प्रतीक्षा गर्न थाले ।     

धापासी, काठमाडौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप