बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६५ जिससमा नयाँ नेतृत्व : काँग्रेस पहिलो, प्रदेश १ मा एमालेलाई जित्यो समाजवादीले

गण्डकीमा एमालेको वर्चश्व
शनिबार, ०४ असार २०७९, १२ : २८
शनिबार, ०४ असार २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस)को चुनाव अन्तिम चरणमा छ । शुक्रबारसम्म ६५ जिल्लामा जिससको नयाँ नेतृत्व आएको छ । प्रदेश एक – ३, मधेस– ४, गण्डकी २, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा चुनाव हुन बाँकी छ ।

जसमा काँग्रेसले २९ जिल्लाको जिसस प्रमुख जितेको छ भने २३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले प्रमुखमा १७ र उपप्रमुखमा १४ जितेको छ । नेकपा माओवादी केन्द्रले १० जिल्लामा प्रमुख र २१ उपप्रमुख जितेको छ । 

नेकपा एकीकृत समाजवादीले प्रमुखमा ४ र उप्रमुखमा ५, लोसपाले २ प्रमुख र १ उपप्रमुख जितेको छ । यस्तै जसपाले प्रमुखमा २ र राष्ट्रिय जनमोर्चा १ प्रमुख जितेको छ ।

एक प्रमुख र उपप्रमुखमा स्वतन्त्र विजयी भएका छन् । जिससको प्रमुखमा तेस्रो भएको माओवादीले उपप्रमुखमा एमालेलाई उछिनेको छ । स्थानीय तहको जिल्लागत परिणाम अनुसार काँग्रेसको १६, एमालेको ११ र माओवादी ४ जिल्लामा एकल बहुमत थियो ।

काँग्रेसले गठबन्धनबाट १३ र माओवादीले ६ जिससको नेतृत्व हात पारेको छ । एकीकृत समाजवादी र जसपाले पनि गठबन्धनबाट जिससमा जित निकाल्न सफल भएका छन् । तर एमालेले ६ जिल्लामा गठबन्धन चिरेको छ । एमालेले ४ जिल्लामा गोलाप्रथाबाट नेतृत्व हात परेको छ ।

प्रदेश १ मा एमालेलाई जित्यो समाजवादीले

प्रदेश–१ का १४ जिल्ला मध्ये ११ जिल्लामा जिससको चुनाव सम्पन्न भएको छ । झापा इलाम र उदयपुरमा चुनाव हुन बाँकी छ । निर्वाचन सम्पन्न भएका ११ जिल्लामा काँग्रेसले ५ प्रमुख र ६ उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले ३ प्रमुख र जसपाले १ प्रमुख जितेको छ । माओवादीले ३ उपप्रमुख हात पारेको छ । यस्तै एमालेले प्रमुख र  उपप्रमुख २–२ जितेको छ । 

जिसस मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका अजम्बर राई प्रमुख र उषा झा ठाकुर उपप्रमुखमा निर्वाचित भएका छन् ।​  जिसस धनकुटामा पनि एमालेको प्यानल नै विजयी भएको छ । प्रमुखमा निरेन तामाङ र उपप्रमुखमा सावित्रा राईसहितको टीम नै विजयी भएको थियो ।

जिसस सुनसरीको प्रमुख र उपप्रमुखमा काँग्रेसले जित हात पारेको छ । प्रमुखमा काँग्रेसका राजन मेहता र उपप्रमुखमा काँग्रेसकै कमला खतिवडा चयन भएका छन् । ओखलढुंगामा काँग्रेसको एकल बहुमतमा जिसस गठन भएको छ । प्रमुखमा  काँग्रेसका डिल्लीराम खनाल र उपप्रमुखमा तारादेवी कार्की निर्विरोध निर्वाचित भएका थिए ।

सोलुखुम्बुमा काँग्रेसको एकल बहुमतमा जिसस गठन भएको छ । काँग्रेसका कृष्णप्रसाद निरौला प्रमुख र  टिकामाया मगर उपप्रमुख बनेका छन् ।​ जिसस भोजपुरको प्रमुखसहित सबै पदमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । प्रमुखमा काँग्रेसका कमल थुलुङ राई र उपप्रमुखमा मओवादी केन्द्रबाट अनिशा खड्कासहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको छ ।

जिसस ताप्लेजुङमा गठबन्धनतर्फको प्यानल नै विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका छिरिङ लामा निर्वाचित भएका छन् । उपप्रमुखमा काँग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।  

जिसस तेह्रथुमकोमा गठबन्धले प्रमुख उपप्रमुख सहित सबै पदमा जित हात पारेको छ । प्रमुखमा एकीकृत समाजवादीका गुमानसिंह इस्वो र उपप्रमुखमा काँग्रेसका श्रीप्रसाद कार्की निर्वाचित भएका थिए ।

जिसस खोटाङको नेतृत्वमा गठबन्धनका विजयी भएको छ । प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र उपप्रमुखमा माओवादीका सुरेश तामाङ चयन भएका छन् । ​जिसस संखुवासभामा गठबन्धमार्फत एकीकृत समाजवादीले नेतृत्व हात पारेको छ । जिसस प्रमुखमा सुमन शाक्य विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकी बबिता खत्रीसहित गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

जिसस पाँचथरकामा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन् । काँग्रेसका रामाराज आङदेम्बे प्रमुख र माओवादीका यामकुमार आङबो उपप्रमुख बनेका छन् । एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको जिससका लागि एमालेसँग एकल बहुमत छ । जिसस झापाको प्रमुखमा  विश्वनाथ बराल र उपप्रमुखमा शान्ता रोकालाई उम्मेदवार लाई बनाउने निर्णय गरेको छ । चुनावको मिति भने तोकिएको छैन । 

इलामामा असार ४ गते जिसस निर्वाचनका लागि मिति तोकिएको छ । जिससमा निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको छ । एमालेले जिसस प्रमुखसहित ५ सदस्य लिएको छ भने नेकपा एसलाई उपप्रमुखसहित दुई सदस्य दिइएको छ । जसपाले पनि दुई सदस्य पाएको छ । 

जिसस प्रमुखमा जयप्रकाश राई र उपप्रमुखमा चित्र बराइलीले उम्मेदवारी दिएका छन् । यस्तै उपदयपुरमा पनि जिसस निर्वाचन भएको छैन । गठबन्धनबीच तालमेल हुँदा एमालेले जित्ने सम्भावना छैन ।

मधेसमा गठबन्धनमा गडबड, एमालेलाई चिट्ठा

मधेस प्रदेशका ८ जिल्ला मध्ये ४ जिल्लामा जिससको चुनाव सम्पन्न भएको छ । काँग्रेस एमाले जसपा र लोसपाले एक–एक जिसस प्रमुख जितेका छन् । काँग्रेसले एक र एमालेले ३ उपप्रमुख जितेको छ । माओवादीले भने प्रमुख–उपप्रमुखमा पनि खाता खेल्न सकेको छैन ।

काँग्रेसले धनुषामा एकल बहुमतका साथ जिसस नेतृत्व लिएको छ । प्रमुखमा राजनन्द मण्डल राज र उप–प्रमुखमा संगिता देवी ठाकुर चयन भएका छन् । काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।

पर्सामा एमाले र जसपा गठबन्धनले जिससमा बाजी मारेको छ । जसपाका निरञ्जनप्रसाद सोनार प्रमुख र  एमालेका पुरनप्रसाद कुर्मी उपप्रमुख बनेका छन् ।  पालिकाको निर्वाचनमा काँग्रेससँग तालमेल गरेपनि सत्ता घटक जसपा जिससमा एमालेसँग मिलेको थियो ।

जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । जिसस प्रमुखमा एमालेका नरेन्द्र कुमार साह र उपप्रमुखमा चण्डिका उप्रेती चयन भएका छन् । ​जिसस महोत्तरीको प्रमुखमा लोसपाका सुमन कुमार लाल कर्ण विजयी भएका छन् । उपप्रमुखमा भने एमालेका नन्दु महरा विजयी भएका छन् । 

उपप्रमुखमा एमालेका महरा र काँग्रेसका धवेन्द्र कुमार यादवको १५–१५ मत आएपछि गोला प्रथा गरिएको थियो । जसमा एमालेका महरालाई चिट्ठा परेको थियो । महोत्तरीमा जसपा–काँग्रेस  र लोसपा, एमाले , स्वतन्त्र र तमलोपाको गठबन्धन भएको थियो ।

सर्लाहीमा जिसस निर्वाचन असार ४ गते हुने छ । सर्लाहीमा २० वटा पालिकाका प्रमुख र उपप्रमुख गरी ४० जना मतदाता छन् । जिसस गठनका लागि काँग्रेस एक्लैलाई पर्याप्त बहुमत छ । १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको काँग्रेससँग २३ मत छ । माओवादी केन्द्र,  एमाले, जसपा र लोसपासँग भने १७ मत मात्रै छ । 

यता रौतहटमा भने जिसस चुनावको मिति समेत तोकिएको छैन । रौतहटमा जिसस निर्वाचनमा कुनै पिन दलको एकल बहुमत छैन । यस्तै सरहा र सप्तरीमा पनि अहिलेसम्म जिसस चुनाव भएको छैन । तर सत्ता गठबन्धनको मत निर्णायक छ ।

बागमतीमा माओवादीको कमाल, एमाले भाग्यमानी

बागमती प्रदेशका १३ वटै जिल्लामा जिसस गठन भएको छ । काँग्रेसले काठमाडौँ र ललितपुरमा एकल बहुमत पाएको थियो । तर उसले गठबन्धनका दललाई पनि जिससमा भाग दिएको छ । काँग्रेसले बागमती प्रदेशमा  ४ जिसस प्रमुख र ६ उपप्रमुख जितेको छ । माओवादीले प्रमुखमा ५ र उपप्रमुखमा २ जित्दा एकीकृत समाजवादीले १ प्रमुख र ३ उपप्रमुख जितेको छ । यता एमालेले गोलाप्रथाबाट ३ प्रमुख र १ उपप्रमुख जितेको छ ।

काठमाडौंको जिसस प्रमुखमा काँग्रेसका सन्तोष बुढाथोकी र उपप्रमुखमा शान्ति पाण्डे चयन भएका छन् । काँग्रेसले माओवादी र एकीकृत समाजवादीलाई १–१ जिसस सदस्य दिएको थियो । उनीहरू निर्विरोध निर्वाचित भएका थिए । 

जिसस ललितपुरमा काँग्रेस र माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । काँग्रेसका ऋषिदेव फुयाँल प्रमुख र माओवादीका रामलाल थिङ उपप्रमुखमा बनेका छन् ।

जिसस रामेछापको जिससमा काँग्रेस र माओवादीको गठबन्धनले नेतृत्व हात पारेको छ । प्रमुखमा सत्ता गठबन्धनबाट काँग्रेसकी चीना खड्का कार्की निर्वाचित भएकी छन् । उपप्रमुखमा माओवादी केन्द्रका प्रेमसागर थापा निर्वाचित भएका छन् । 

जिसस सिन्धुपाल्चोकमा काँग्रेस र एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । काँग्रेसका बालकृष्ण श्रेष्ठ प्रमुख र  एकीकृत समाजवादीका पदमनाथ नेपाल उपप्रमुख बनेका छन् ।

सिन्धुपाल्चोक माओवादीले सत्तागठबन्धन छोडेर एमालेसँग तालमेल गरेको थियो । तर एमाले र माओवादीको तालमेल सफल हुन सकेन ।

जिसस मकवानपुमा सत्तारुढ गठबन्धनबाट नेतृत्व आएको छ । प्रमुखमा माओवादी केन्द्रका  ललितकुमार घलान र उपप्रमुखमा काँग्रेसका सानुकाजी लुइँटेल चयन भएका छन् । 

जिसस दोलखाको प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका बर्जुराम घतानी विजयी भएका छन् । उपप्रमुखमा पनि गठबन्धनबाट एकीकृत समाजवादीका दार्जी शेर्पा विजयी भएका छन्। 

धादिङको जिसस पनि सत्ता गठबन्धनबाट प्रमुखमा माओवादी र उपप्रमुखमा एकीकृत समाजवादीको हातमा परेको छ । प्रमुखमा माओवादी केन्द्रका नवराज अधिकारी र उपप्रमुखमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा निर्वाचित भएका थिए । काँग्रेसले ७ वटा सदस्य लिएको थियो । सबै निर्विरोध निर्वाचित भएका थिए । 

सिन्धुली  काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले जिसस हत्याएको छ । जिसस प्रमुखमा माओवादीका कारसाङ लामा र उपप्रमुखमा काँग्रेसकी शान्ता कार्की निर्वाचित भएकी छन् । सन्धुलीमा एमाले र एकीकृत समाजवादीको गठबन्धन भएपनि काँग्रेस र माओवादीले बाजी मारेको थियो । 

नुवाकोटको जिससमा काँग्रेस र माओवादीको गठबन्धन विजयी भएको छ । प्रमुखमा माओवादीका रजिन्द्रविक्रम सिंह ठकुरी  र  उपप्रमुखमा काँग्रेसका दलबहादुर तामाङ विजयी भएका छन्। 

यस्तै जिसस काभ्रेमा पनि गठबन्धन विजयी भएको छ । एकीकृत समाजवादीका दिपककुमार गौतम प्रमुख  र काँग्रेसका रिमबहादुर तामाङ उपप्रमुख बनेका छन् ।

गोलाप्रथामा एमाले भाग्यमानी

जिसस चितवनमा गोलाप्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । गोला तान्दा एमालेका नारायणप्रसाद अधिकारी जिसस प्रमुखमा चयन भए । उपप्रमुखमा भने एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी थिइन् ।

जिसस रसुवाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । गोला तान्दा प्रमुखमा एमालेका अशोककुमार घिमिरे र उपप्रमुखमा विजय लामालाई चिट्टा परेको थियो । 

रसुवाका ५ पालिकामा मध्ये काँग्रेस र एमालेले ५–५ सिट जितेका थिए । दुईको मत बराबरी भएपछि गोलापथा गर्दा एमालेलाई चिट्टा परेको थियो ।यस्तै भक्तपुरको जिससमा पनि गोलाप्रथाबाट चयन गरिएको थियो । 

प्रमुखमा गोलाप्रथाबाट एमालेका ईश्वरबहादुर थापा चयन हुँदा उपप्रमुखमा काँग्रेसकी सुजाता वैद्यलाई चिट्टा पर्‍यो । सदस्यमा पनि एमालेकै उम्मेदवारको भाग्य खुलेको छ । काँग्रेसका एक जना सदस्यका उम्मेदवारलाई मात्र चिट्ठा परेको थियो । 

गण्डकीमा एमालेको वर्चश्व

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा जिसस गठन भएको छ । जसमा एमालेले ६ प्रमुख र ५ उपप्रमुख जितेको छ । यस्तै काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ । 

माओवादीले १ प्रमुख  र २ उपप्रमुख जित्दा राष्ट्रिय जनमोर्चाले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख एक जितेको छ ।

कास्कीमा एमालेको एकल जिसस बनेको छ  । प्रमुखमा लीलाधर पौडेल र उपप्रमुख सरिता मालसहितको पुरै टिम एमालेको छ । जिसस लमजुङमा एमालेको प्यानल विजयी भएको छ । प्रमुखमा पूर्णबहादुर गुरुङ र उपप्रमुखमा बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएका छन् । 

जिसस मुस्ताङ एमालेले प्रमुख र उपप्रमुख जितेको छ । एमालेकी माया गुरुङ प्रमुख र आईतेलाल थकाली उपप्रमुख बनेका छन् । 

म्याग्दी जिससमा एमालेको एकल नेतृत्व छ । एमालेबाट प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्री निर्वाचित भएका हुन् ।

पर्वत जिससको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी भएको छ । प्रमुख पदमा एमालेका बिष्णुराम बिक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सोम जिसी विजयी भएका छन् । 

एमाले र गठबन्धनकाबीचमा समान ७ मत रहेपछि सहमतिमा जिसस गठन गरिएको थियो । जिसस सदस्यमा एमाले, काँग्रेस र माओवादीबीच भागबण्डा भएको थियो ।

गोरखा जिससमा माओवादी केन्द्रको एकल नेतृत्व आएको छ । प्रमुखमा माओवादीका मोहनबहादुर थापा र उपप्रमुखमा  लीला परियार निर्वाचित भएकी छिन् । ९ सदस्यीय जिससमा माओवादीका उमेदवार निर्विरोध निर्वाचित भएका थिए । 

बागलुङको जिससमा गठबन्धनले जितेको छ ।  गठबन्धनबाट राष्ट्रिय जनमोर्चा पार्टीका नेता अमरबहादुर थापा जिसस प्रमुख निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा एकीकृत समाजवादीका होमनाथ शर्मा विजयी भएका छन् । काँग्रेस माओवादी र जसपाले जिसस सदस्य पाएका छन् । स्याङ्जा जिससमा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । 

काँग्रेस र  एमालेले ११–११  मत भएपछि गोलाप्रथा गरिएको थियो । काँग्रेसले प्रमुखसहित चार सदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा थियो । प्रमुखसहित चार सदस्य काँग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो । 

मनाङको जिससको प्रमुख र उपप्रमुख गोलाप्रथाबाट टुंग्याइएको छ । गोला तान्दा प्रमुख पद एमालेलाई चिट्ठा परेको छ । एमालेका चीनबहादुर घले प्रमुख बनाएका छन् । उपप्रमुखको चिट्ठा भने काँग्रेसलाई परेको छ ।  सुरेन्द्र गुरुङ उपप्रमुख बनेका छन् ।

तनहुँ र नवलपुरको जिसस निर्वाचन हुन बाँकी छ । नवलपुरको निर्वाचन असार ४ गते हुने छ । तनहुँमा निर्वाचनको मिति नतोकिएको भएपनि प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादीले उम्मेदवारी गठबन्धनभित्र सहमति भएको छ । तनहुँमा गठबन्धनले जिसस चुनाव जित्ने निश्चित जस्तै छ ।

लुम्बिनीमा काँग्रेस पहिलो, समाजवादी निल

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ११ मा जिसस गठन भएको छ । रुपन्देही बाहेक सबै जिल्लामा जिसस गठन भएको हो । लुम्बिनी प्रदेशमा काँग्रेसले ५ प्रमुख  र ३ उपप्रमुख  जितेको छ भने  एमालेले ४ प्रमुख  २  उपप्रमुख जितेको छ । 

माओवादी दुई  प्रमुख र ५ उपप्रमुख जितेको छ । यस्तै लोसपा एक  उपप्रमुख जितेको छ । रुपन्देहीमा भने शनिबार जिसस निर्वाचन  हुनेछ ।

दाङको जिसस प्रमुख काँग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा चेतना चौधरी निर्वाचित भएकी छन् ।

कपिलवस्तुको जिसस  प्रमुखमा एमालेका बाबुराम आर्चाय र उपप्रमुखमा लोसपा रमेश कुर्मी निर्वाचित भएका छन् । 

बाँके जिससका प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । प्रमुखमा ज्ञानेन्द्र कुमार चौधरी र उपप्रमुख सीता कार्की निर्वाचित भएका छन् । 

गुल्मीको जिससमा काँग्रेस र माओवादीको गठबन्धन विजयी भएको छ । काँग्रेसका द्रोण बहादुर खत्री प्रमुख,  माओवादी केन्द्र तेजेन्द्र समाली मगर उपप्रमुख बनेका छन् ।

अर्घाखाँचीको जिससमा प्रमुख र उपप्रमुखसहित प्यानल एमालेले लगेको छ । प्रमुखमा एमालेका जीव नारायण कोइराला र उपप्रमुखमा लक्ष्मी शर्मा ज्ञवाली  विजयी भएकी हुन् । 

जिसस प्युठान प्रमुखमा काँग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका धर्म बहादुर जीसी र माओवादीका उपप्रमुखमा दुर्गा रेग्मी रेग्मी निर्विरोध भएका थिए ।  ५ दलीय गठबन्धन भएपछि एमालेले प्युठानमा उम्मेदवार समेत खडा गरेको थिएन ।

रोल्पामा भने माओवादी प्यानल नै विजयी भएको छ ।  प्रमुखमा सीता आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् । यस्तै पूर्व रुकुममा पनि माओवादी प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

प्रमुखमा मेघ बहादुर श्रेष्ठ र उपप्रमुखका मोहन बहादुर केसी निर्वाचित भएका थिए । जिसस बर्दियामा काँग्रेस निर्विरोध भएको छ । प्रमुखमा सूर्य बहादुर विष्ट र उपप्रमुखमा अमिता कुमारी यादव चयन भएकी छन् ।

नवलपरासीमा एमालेकोमा जित्न प्रमुख सफल भएको छ । प्रमुखमा गठबन्धन दललाई पराजीति गर्दै एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादीका राम दयाल चौधरी निर्वाचित भएका छन् । 

पाल्पामा एमालेका एकल बहुमतमा जिसस गठन भएको छ । प्रमुखमा एमालेका टङ्क नाथ खनाल विजयी भएका छन् । यस्तै उपप्रमुखमा पनि एमालेकी काशिका गैरे ज्ञवाली निर्वाचित भएकी छन् ।

कर्णालीमा एमाले एकमा सीमित

कर्णालीमा जिल्ला समन्वय समितिको निर्वाचन कतै सम्पन्न भएको छ भने कतै विवाद बनेको छ ।  कर्णाली १० जिल्ला मध्ये रुकुम पश्चिम र कालिकोटमा माओवादी केन्द्रले नेतृत्व पाएको छ भने जाजरकोट, जुम्ला, सल्यान र मुगुमा काँग्रेसले नेतृत्व पाएको छ । 

काँग्रेसले ५ प्रमुख, उपप्रमुख २ जितेको छ भने माओवादीले २ प्रमुख र ५ उप्रमुख जितेको छ । एमालेले प्रमुख र उपप्रमुख १–१ जितेको छ । एक प्रमुख र उपप्रमुखमा स्वतन्त्र विजयी भएका छन् ।

डोल्पामा काँग्रेसले एमाले, समाजवादी, स्वतन्त्रसँग मिलेर जिसस नेतृत्व हात पारेको छ । एमालेले माओवादीसँग मिलेर सुर्खेत जिससको नेतृत्व पाएको छ । 

दैलेखका काँग्रेसकै बागी उम्मेदवार निर्वाचित भएपनि विवाद भएको छ । उपप्रमुखमा एमाले विजयी भएको छ । हुम्लामा भने जिससको चुनाव भएको छैन । यद्यपि प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा माओवादी केन्द्रलाई दिने गठबन्धनको सहमति छ ।

रुकुमको जिससमा प्रमुखमा माओवादीकी लुम्बिनी गौतम निर्वाचित भएकी छिन । उपप्रमुखमा पनि माओवादीकै देवबहादुर कामी निर्वाचित भएका हुन । उनीहरु निर्विरोध निर्वाचित भएका थिए ।

कालिकोको जिसस प्रमुखमा माओवादीका धनजित शाही (आदर्श ) र उपप्रमुखमा मिना रावत (विश्वकर्मा) निर्वाचित भएकी छन् । 

जुम्लाको जिससमा काँग्रेसका गौरीनन्द आचार्य प्रमुख र उपप्रमुखमा समाजवादीका जनक थकाली निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पामा पनि प्रमुखमा काँग्रेसका श्यामबहादुर रोकाय निर्विरोध भएका छन् भने उपप्रमुखमा तेजेन्द्र बुढा निर्वाचित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् । यहाँ एमाले, काँग्रेस, समाजवादी र स्वतन्त्रको तालमेल हुँदा माओवादी एक्लो थियो ।  

मुगुको जिसस मुगुको प्रमुख र उपप्रमुखमै काँग्रेसले हात पारेको छ । काँग्रेसका मञ्जनबहादुर कार्की प्रमुख र नैली कार्की उपप्रमुखमा बनेका छन् । यहाँ काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।  

जाजरकोट जिसस प्रमुखमा काँग्रेसका कालिबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् भने उपप्रमुखमा माओवादीका दलबहादुर सिंह निर्वाचित भएका छन् ।

सल्यानको जिससमा पनि गठबन्धनको प्यानल विजयी  भएको छ । प्रमुखमा काँग्रेसका बेलाराम रावत र उपप्रमुखमा माओवादी केन्द्रका असबिर बुढाथोकी निर्वाचित भएका छन् ।  

सुर्खेतमा भने जिसस प्रमुखमा एमालेले बाजी मारेको छ । प्रमुखमा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन् । एमाले÷माओवादी गठबन्धनबाट एमालेका सुनार निर्वाचित भएका हुन् । उपप्रमुखमा माओवादी सचिनकुमार बडुवाल निर्वाचित भएका छन् । 

सुदूरपश्चिमका जिससमा काँग्रेस एकछत्र

सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लामा जिसस गठन भएको छ । विवादपछि मतगणना रोकिएको बाजुराको बूढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरे पनि अझै मिति तोकिएको छैन । बाजुरामा जिसस गठन हुन सकेको छैन । बाँकी ८ जिल्लामा काँग्रेसको नेतृत्वमा जिसस बनेको छ । 

कञ्चनपुर, डडेल्धुरा र डोटीमा काँग्रेसको एकल जिसस बनेको हो। बैतडी, दार्चुला, कैलाली, अछाम र बझाङमा सत्तारुढ गठबन्धनका दलहरूसँगको तालमेलमा काँग्रेसको नेतृत्वमा जिसस बनेको हो । 

 यीमध्ये बैतडी, दार्चुला र कैलालीमा नेकपा माओवादी केन्द्रले उपप्रमुख पाएको छ भने बझाङमा नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ।

काँग्रेसको एकल नेतृत्व

सुदूरपश्चिम प्रदेशका ३ जिल्ला समन्वय समितिमा काँग्रेसको एकल नेतृत्व चयन भएको छ । जिसस कञ्चनपुरको प्रमुखमा काँग्रेसका दुर्गा बोहरा र उपप्रमुख रामकुमारी राना चयन भएका छन् । 

यस्तै डडेल्धुरामा काँग्रेसका गगनसिंह भण्डारी जिसस प्रमुख र अमृताकुमारी ठडाली मगर निर्विरोध उपप्रमुख बनेका छन् भने डोटी जिसस प्रमुखमा पनि काँग्रेसकै लक्ष्मण सिंह र उपप्रमुखमा स्मृति चुनारा विक  निर्वाचित भएका थिए । 

गठबन्धनको साथमा काँग्रेसको नेतृत्व

काँग्रेसले सत्ता गठबन्धनको सहयोगमा ५ जिससको नेतृत्व हात पारेको छ। जिसस कैलालीको प्रमुखमा काँग्रेसका पदमबहादुर कलेल  र उपप्रमुखमा माओवादीका खगराज भुसाल चयन भएका छन् ।

यस्तै बैतडीको जिससमा काँग्रेसका खगेन्द्रसिंह धामी प्रमुख र माओवादी केन्द्रका दमनबहादुर कुँवर उपप्रमुख बनेका छन्। 

स्थानीय तहको प्रमुखमा निल भएको काँग्रेस जिसस दार्चुलाको नेतृत्व हात पार्न सफल भएको छ । दार्चुला जिससमा काँग्रेसका महादेव बडू  प्रमुख र माओवादी केन्द्रका अमरसिंह ठगुन्ना उपप्रमुख बनेका छन् । 

 अछाममा जिससको चुनाव जित्ने काँग्रेसको एकल बहुमत छ। तर काँग्रेसले माओवादी र एकीकृत समाजवादीलाई एक–एक सदस्य दियो । जिसस प्रमुख र उपप्रमुखमा भने  काँग्रेसका ललित कुँवर र दानमती बम शाही चयन भएका छन् ।

बझाङमा पनि गठबन्धनको साथमा जिसस काँग्रेसले नै लिएको छ। जिल्ला समन्वय समितिको प्रमुख काँग्रेसका नरबहादुर बोहरा र उपप्रमुख एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट बनेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप