वीर्य कुण्ड
जब समगम हुन्छ दुई नदीको
किनारले आँशु झारिबस्छ त्यो छेउबाट
ग्रह चक्रपथमा ग्रह नक्षेत्र हेराहेरमा
चुहिएको र्यालको दुर्गन्धित गन्ध
पाइरिया गन्हाउँछ ।
चर्को बतासले लतारेको फुस्रो हाङ्गाको पात
लछाप्रै सिँचिन्छ आँशुले
त्यो वेदना हो कि हर्षित लाचारता
समर्पित संसार उसको हाँकमा
हल्लिरहन्छ हावामा ।
परमानन्दको कडा आगोमा होमिएको युगल आभा
ज्वालामुखीको भुङ्ग्रो वीर्य कुण्डमा उम्लिरहन्छ
बाफ भएर विचारहरू कावा खाइरहन्छ
फुस्रो बतासमा ।
वंैशको बतासले हुर्हुराएको सपनाहरू
भोलिको सक्षम योजनाहरू
कैद भएर चौपैयामा लम्पसार लडिरहन्छ
एउटा आक्रोश
क्रान्ति भएर उक्लिन्छ सगरमाथा
हलचल हल्लिन्छ भूइँचालो मथिङ्गलको
यो सृष्टि हो या विनाश
असमञ्जसमा वीर्य कुण्ड उम्लिरहन्छ ।
हजारौं सपनाहरू ब्युँझाउन उठेको एउटा लाठी
हुर्मत हुकुमतको सामु निहुरिन्छ बैंस सकेपछि
बारम्बार उठेको चोर औंला कोट्याउन एउटा मांशपिण्ड
नयाँ सृष्टि निर्माण हुन नपाउँदै अस्ताउँछ क्षितिजमा ।
डुवर्स, भारत