शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘जुन सेरले मन छुँदै छुँदैन, लेखेर त्यस्तो गजल हुँदैन’

अनलाइन माध्यमबाट गजलको तीनवटा पाठशाला चलाउने ‘परिश्रमी’
शनिबार, ०४ असार २०७९, ०८ : ५५
शनिबार, ०४ असार २०७९

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ गजल विधाका विशेष सुपरिचित व्यक्तित्व हुन् । ‘परिश्रमी’ विद्यार्थी जीवनदेखि नै साहित्य साधनामा लागेका हुन् । नेपालीमा स्नातकोत्तर, व्याकरणमा आचार्य र गजलमा विद्यावारिधि गरेका छन् उनले ।

अहिले त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसाबाट अवकासप्राप्त उनी साहित्य सिर्जना, प्रशिक्षण र लेखनमा समर्पित छन् । अहिले अनलाइन माध्यमबाट तीनवटा पाठशालाहरूमा उनले गजल लेख्न सिकाइरहेका छन् । प्रस्तुत छ, घनश्याम ‘परिश्रमी’सँग गजल विषयमा केन्द्रीत रही शिखर मोहनले रातोपाटीका लागि गरेको कुराकानी : 

–हिजोआज केमा व्यस्त हुनुहुन्छ ? 

विश्वविद्यालयबाट अवकास लिएपछि मूलतः सिर्जना र अध्ययनमै समय वितेको छ । औपचारिक रूपमा कुनै विशेष काममा हात हालेको छैन । तर पनि आफ्नै सिर्जनाका काम, कतिपय साथीहरूका कृतिहरूमा भूमिका लेख्ने काम यस्तै यस्तैमा समय वितिरहेको छ । 

–कुनै कृति प्रकाशनको तयारीमा हुनुहुन्न ? 

भर्खरै एउटा ‘बहर र गजल’ भन्ने एउटा कृति प्रकाशित भएको छ । त्यो गजलको सैद्धान्तिक जानकारी दिने खालको कोर्समा आधारित पाठ्यपुस्तक जस्तैहो । अरु तत्कालै प्रकाशन गर्ने तयारीमा छैन । एउटा समालोचनात्मक कृतिका लागि लेखहरू सङ्कलित छन्, गजल सङ्ग्रहका लागि पनि केही गजलहरू लगभग लगभग तयार छन् । तर पुस्तक प्रकाशन गर्ने योजनामा तत्काल छैन । प्रकाशकहरू भेटिएमा प्रकाशन गर्ने प्रतीक्षामा छु ।

–तपाईं गजल लेखनसँगै गजलबारे प्रशिक्षण दिँदै आउनुभएको छ, सङ्क्षेपमा गजललाई कसरी चिनाउने ?

नेपाली साहित्यमा गजल लेख्ने, रुचाउने, मन पराउनेहरू धेरै छन् । तर धेरै यस्ता सर्जकहरू छन्, जसले गजलको सैद्धान्तिक कुरा बुझेका छैनन् । 

हुन त कुनै पनि विधा, उपविधालाई सिद्धान्तमा बाँध्नु हुँदैन भन्नेहरू पनि छन् । तर गजल प्राविधिक विधा भएकाले सिद्धान्तनिष्ठ हुन्छ । यो सिद्धान्तमा लेखिनुपर्छ । सिद्धान्त बुझेर लेख्नेको सङ्ख्या अत्यन्त न्यून छ । हाम्रा श्रोता, पाठकहरू पनि सिद्धान्त बुझेर श्रोता र पाठक बनेका ज्यादै कम छन् । 

जसरी हिन्दी, उर्दुमा गजलका स्रष्टा, पाठक र श्रोताहरू पनि सिद्धान्त बुझेका हुन्छन्, त्यस्तो नेपालीमा छैनन् । त्यसैले म एउटा सिद्धान्तनिष्ठ स्रष्टा, सिद्धान्तको बाटो हिँड्ने एउटा यात्री भएको नाताले सोहीअनुसार नै गजलको सिर्जना गर्नुपर्छ भन्नेमा छु । सबैभन्दा पहिले  सिद्धान्त बुझ्नुपर्छ भन्छु । गजल गीत, कविताहरू जस्तो स्वतन्त्र ढङ्गले लेख्न पाइँदैन, सकिँदैन । गजल संरचनाका निश्चित सिद्धान्तहरू छन् । ती सिद्धान्तको व्याख्या धेरै लामो हुन्छ । यो मैले भन्ने गरेको छु– 

जुन सेरले मन छुँदै छुँदैन

लेखेर त्यस्तो गजल हुँदैन ।

गजल लेख्दा तीनवटा कुरालाई मुख्य रूपमा ध्यान दिनुपर्ने हुन्छ । एउटा– गजल बहरमा लेखिन्छ । बहर भनेको एक प्रकारको छन्द, एक प्रकारको लय हो । सिद्धान्तले धेरै लयहरू निर्दिष्ट गरेको छ । त्यसमध्ये केही लयलाई मात्रै पक्रन जान्यो भने पनि धेरै कुरा गर्न सकिन्छ । 

जस्तै भुजङ्गप्रयातसँग मिल्ने बहर छन्, त्यस्तै पञ्चचामरसँग मिल्ने लय छ, स्रग्विणीसँग मिल्ने छ, तोटकसँग मिल्ने छ । त्यसकारण छन्दहरूसँग मिल्ने खालका बहरहरू छन् ।  ती बहरहरूलाई पक्रिन सकियो भने पनि हुन्छ । छन्दमा जुन कठोरता छ, त्यो बहरमा छैन, लचकता छ । 

छन्दमा हलन्तलाई पनि अजन्त उच्चारण गर्नुपर्ने, कलम् लाई कलम भन्नुपर्ने, मन् लाई मन भन्नुपर्ने हुन्छ तर गजलमा कलम् लाई कलम् नै उच्चारण गर्न पाइन्छ । मनलाई मन् उच्चारण गर्न पाइन्छ । दिल लाई दिल् उच्चारण गर्न पाइन्छ । गजलमा उच्चारण अनुसारको भाषा प्रयोग गर्न सकिन्छ । 

अर्को कुरा केही मात्राहरू इकार, ओकारलाई गिरावट गर्न सकिन्छ । तिनलाई ह्रस्वमा र दीर्घमा परिवर्तन गर्न सकिन्छ । यी लचकताहरू गजलमा छन् । त्यसैले छन्दभन्दा धेरै लचक छ बहर । बहर भनेर डराउनुपर्ने, आत्तिनुपर्ने अवस्था छैन । तयो अनिवार्य तत्त्व हो, गजल लेख्नेले यसलाई बुझ्नै पर्छ ।

अर्को भनेको काफियाको सन्तुलन हो । काफिया सन्तुलित हुनुपर्छ । छन्दका अनुप्रास जस्ता कुराले मात्र काफियाको समग्रता हुँदैन । सम्पूर्ण रूपमा काफिया बुझ्नका लागि त्यसका संरचनाका विविध पक्ष छन् । पूर्ण शब्दले अनुप्रास मिल्ने काफिया हुन्छन् । जस्तै : मन, धन, तन; सहर, जहर, नहर; बानी, पानी, खानी यी शब्दले पूर्ण रूपमा काफियाको भूमिका निर्वाह गरेका छन् । 

त्यस्तै शब्दान्तमा काफियाको भूमिका निर्वाह गर्ने पनि हुन्छन् । जस्तैः जवान, बिहान । यहाँ वान र हान काफिया हुन सक्छन् । यहाँ ज र बि चाहिँ काफियाको सन्तुलनमा पर्दैनन् । त्यसैले शब्दको अंशले नै काफियाको भूमिका निर्वाह गर्ने हुन्छन् । जस्तैः चुनाव, तनाव, हिसाब मा नाव, नाव र साब काफियाभित्र पर्छन् । 

यसै गरी एकाक्षरी काफिया पनि हुन्छन् । एउटै मात्र अक्षरको मात्राले पनि काफिया हुन्छन् । अग्लो, होचो, बाठो, कालो, सेतो भन्दा आउने ‘ओ’कारले मात्रै पनि काफिया हुन्छन् । त्यस्तै हृत काफिया, रदिफ काफिया लगायत धेरै काफियाका प्रकारहरू छन् । यी ४÷५ कुरा मनन गर्यौँ भने काफियाबारे राम्रो गरी बुझ्छौँ । 

काफिया बिग्रियो भने माथि बात भनियो, तल हात भनियो । अनि तल बाथ भनियो भने बात र हात मिल्यो तर बाथ मिलेन, थ आयो । छन्दमा यो मिलाउन सकिन्छ तर काफियामा यो मानिदैन । 

तेस्रो कुरा भनेको शब्दजुल हो । रजदुल भनेको चमत्कारपूर्ण अभिव्यक्ति हो । गजलका प्रत्येक सेर सूत्रजस्ता हुनुुपर्छ, सन्देश दिने खालका या प्रहार गर्ने खालका हुनुपर्छ । रजदुलको अर्थ हुन्छ– चोटिलो प्रहारात्मक, प्रभावात्मक अभिव्यक्ति । 

यी तीन कुरा गजल लेख्नेले बुझ्नुपर्छ । बहर मिलाएँ भन्दैमा गजल बन्दैन । यदि बहर मिल्यो तर चमत्कारपूर्ण अभिव्यक्ति भएन भने गजल हुँदैन । त्यसैले भनेको हुँ ‘जुन सेरले मन छुँदै छुँदैन, लेखेर त्यस्तो गजल हुँदैन’ ।  काफिया र बहर मिल्यो तर दिल छोएन, चमत्कारपूर्ण छैन भने गजल हुन सक्दैन । 

–नेपाली साहित्यमा गजलले कसरी प्रवेश पायो ? 

नेपाली साहित्यमा गजल भित्र्याउने काम मोतीराम भट्टले गरेका हुन् । मोतीराम बनारसमा अध्ययन गर्दा भारतीय भरतेन्दु हरिश्चन्दसँगको सङ्गतमा पर्दा उनले नेपालीमा लेखेका हुन् । जसरी उनीहरू हिन्दीमा गजल लेखेर हिन्दी भाषाको विकास गरे । त्यसै गरी नेपालीमा गजल लेखेर नेपाली भाषा साहित्यको विकास गर्न सकिन्छ भन्ने कुराबाट प्रभावित भएर नेपालीमा गजल लेख्न थालेका थिए मोतीरामले । उनीबाट सुरु भएको गजल लेखन परम्परा लक्ष्मीदत्त पन्त, शम्भुप्रसाद ढुङ्ग्याल, भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर लगायतका ठूलो जमातले यसलाई अगाडि बढायो ।  

–तपाईंको प्रथम गजल चाहिँ कुन हो ? 

२०४० सालपछि मैले गजल लेख्न सुरु गरेको हुँ । तर आफैँ पनि असन्तुष्ट रहेको अवस्थामा सैद्धान्तिक स्वरूप बुझेर, बहर र काफियाका कुरा बुझेर लेख्न थालेको २०४४ सालदेखि हो । 

जिन्दगी त जिएकै छु हाँस्न कहिल्यै पाइनँ

त्यसैले त प्रीति गाँस्न कसैसँग रुचाइनँ । 

भोकभोकै हिँड्दा एउटा दानी आई जुठोदेखि 

दिए ला खा घनश्याम भनी तर मैले खाइनँ ।

 यो गजल २०४५ सालको मधुपर्कमा छापिएको छ ।  

– तपाईंको गजलसम्बन्धि कतिवटा कृति प्रकाशित छन् ?

सिद्धान्त र सिर्जनाका गरेर मेरा १० वटा जति कृतिका रूपमा प्रकाशित छन् । समालोचना लगायतका कृति गरी जम्मा २६ वटा प्रकाशित छन् । 

–आफ्नै मनपरेको गजल चाहिँ कुन हो ? 

मलाई मनपरेका आफ्ना गजल धेरै छन् । सुवास अजम लगायत गायकले कतिपय मेरा गजल गाइसकेका छन् । तीमध्येमा यो गजल बढी राम्रो लाग्छ । 

सुनाएर दर्शन कहाँ मिल्छ शान्ति 

छ मनमा प्रलोभन कहाँ मिल्छ शान्ति

बढेकै छ पीडा दुखेकै छ माथा 

लगाएर चन्दन कहाँ मिल्छ शान्ति

कसेको छ खुट्टा नचुँड्ने रसीले 

नखेलेर बन्धन कहाँ मिल्छ शान्ति

सधैँ भोक सहँदै महलका खुसीमा 

कठै ! झोपडी छन् कहाँ मिल्छ शान्ति 

प्रकाशित कुनै पुस्तिका शान्तिबारे

हुँदैमा विमोचन कहाँ मिल्छ शान्ति 

परेवा उडाएर हिंसा गरिन्छ 

रुवाएर जीवन कहाँ मिल्छ शान्ति ।

(जूनको चुम्बन गजल सङ्ग्रहबाट)

–तपाईंलाई मनपर्ने अन्य गजल र गजलकारहरू ? 

अहिले कसैको नाम लिँदा पक्षपात भएजस्तो हुन्छ, कसैको नाम नलिऔँ । मैले गजल लेख्ने क्रममा सुरुमा ललितजङ रावलबाट धेरै कुरा सिकेको हुँ । उहाँले नेपाली लोकलयलाई बढी प्रयोग गर्नुहुन्छ । मनु व्राजाकीबाट निकै प्रभावित भएको छु । ज्ञानु दाइसँग पनि निकै राम्रो सङ्गत भयो । आफ्ना अग्रजहरू रवि प्राञ्जल, जसले केही गजल बहरमा पनि लेख्नुहुन्छ । केही  सामान्य लयलाई आधार मानेर लेख्नुहुन्छ । 

सशक्त गजल लेख्नेहरू नयाँ पुस्तामा धेरै छन् । सिद्धान्त बुझेर लेख्नेहरूमा आभा शर्मा, टक गुरुङ हुन् । बहरलाई उत्प्रेरित गर्दै गजल लेख्ने उनीहरु हुन्  । यस्तै छन्दलाई आधार मानेर लेख्ने घनेन्द्र ओझा हुन् ।  

–भर्खरै गजल सिर्जनाका क्षेत्रमा प्रवेश गरेका नवसर्जकलाई गजल लेख्ने सजिलो तरिका भनिदिनुस् न ?

अहिले अनलाइन माध्यमबाट तीनवटा पाठशालाहरूमा मैले गजल लेख्न सिकाइरहेको छु । नेपाली साहित्यकार विश्व सञ्जाल भन्ने एउटा संस्था छ । यसमा हरेक सोमबार गजलका लागि अभ्यास गराउँछु । यस्तै उज्यालो पाठशाला भन्ने अर्को छ । यसमा हरेक शनिबारदेखि शुक्रबारसम्म हप्तैभरि गजलको अभ्यास गराउँछु । त्यहाँ पनि केही नवसर्जकहरू सक्रिय रूपमा सहभागी हुनुुहुन्छ । यसैगरी मेरो परिश्रमी पाठशाला भन्ने छ । त्यसमा पनि सोमबारदेखि शुक्रबारसम्म गजल र शनिबार आइतबार चाहिँ छन्दका रचनाको अभ्यास गराउँछु । यी तीनवटा पाठशालामा गुरुको भूमिका निर्वाह गरेर गजल सिकाइरहेको छु ।

नवप्रवेशीहरूले गजल लेख्दै जानुहोस्, सिद्धान्त पनि सिक्दै जानुहोस् भन्छु । उहाँहरूका रचनाले भोलि वास्तविक गजल हुन् भनेर प्रमाणित हुन सकून् । भोलिको इतिहासले उहाँका रचनाहरूलाई स्वीकार्न सकोस् । आज कुनै पाठकले रुचाए भन्दैमा सिद्धान्तहीन रचनालाई भोलिका मूल्याङ्कनकर्ताले नकारात्मक ढङ्गले चित्रण गर्न सक्छन् । त्यसैले जजसले लेख्दै हुनुहुन्छ, उहाँहरूले लेख्दै पनि जानुहोस्, सिद्धान्त अध्ययन गर्दै पनि जानुहोस् । त्यसले सिद्धान्त पनि बुझिन्छ, आफ्नो लेखन पनि खारिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप