बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

व्यङ्ग्य : जब झाँक्री भुसालले सातो फुके...

शनिबार, ०४ असार २०७९, ०८ : ४१
शनिबार, ०४ असार २०७९

प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो फुक्ने कार्जेक्रम हो । यो सातो फुक्दा कसको सातो आउँछ, कसको सातो जान्छ, मलाई मतलब हुने कुरो होइन ।’

स्टेजमा सञ्चालकसहित चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्की कालो भादगाउँले टोपीमा सजिएर बसेका थिए । टोपीको रङ, लुगा र कार्कीको रूपरङले उनी फेरी जगाउन आएका जोगी भन्दा कम देखिन्नथे । स्टेजमा गजधम्म डा. मीना पौडेल बसेकी थिइन् । उनी चस्माको पावरबाट भुसाललाई नियालिरहेकी थिइन् । एकाछेउमा ‘उहिले’का जनवादी गायक अहिलेका ‘सडकछाप’ गायक जीवन शर्मा काखमा झोला राखेर बसेका थिए । 

दर्शकलाई एक फन्को सम्बोधन गरेपछि भुसाल बेरोकटोक प्रवचन दिन थाले, ‘हाम्रो पार्टीमा एकजना बोलैया झाँक्री थिइन् । उनी अन्यत्रै फलाक्दै छिन् । यसकारण आज म नै झाँक्रीको भूमिकामा छु । मैले जोखाना हेर्दा के थाहा पाएँ भने एमालेको पत्तासाफ गर्दिनु पर्छ भनेर ‘कम–रेट’ प्रचन्न हुकुम गर्छन् । माउवादीका बटारिएका कार्जेकर्ता एक हात उफ्रेर लाठो मुंग्रो गर्न सुरु गर्छन् । माधप नेपाल एमालेलाई धुलो चटाउँछु भन्छन्, समाजवादीका कार्जेकर्ता हाम्रा ‘बा’को पुत्ला जलाउन थाल्छन् । हाम्रा ‘बा’ माधपको नामै काढेर उखान बान्ता गर्छन्, ‘बा’मालेका कार्जेकर्ता रगत छाद्न थाल्छन् । यिनको जोग्यता यति नै हो । जसले जानेको जति छ, तेत्ति नै गर्ने रैछन् । अनि लंगडाको देशमा खुट्टो नखुम्च्याएर के गर्नु ?’

दर्शक दीर्घाबाट ताली बज्दै जान्थ्यो । मुख मिठ्याउँदै, हात डुलाउँदै, दायाँबायाँ ढल्किदै, जुल्फी हल्लाउँदै, जोस्सिदै भुसाल झाँक्री फलाक्न हौसिन्थे । 

अनि जुल्फी फर्काउँदै पुनः फलाक्न थाले, ‘उहिले राजाले, रंकले संसदलाई फुटबल झैं हाने । त्यही भएर चारसुर बाँधेर संविधान बनाइयो । फेरी कुन सुरमा हो न बेसुरमा हाम्रा ‘बा’ले पनि संसद्लाई लात्ते भकुण्डो बनाए । त्यही भएर त ‘बा’, बालुवाटार हुँदै बाल्कोटको बार्दलीमा पुग्या हुन् । कसलाई थाहा छैन यो कुरा ? उहिलेको कुरा हो, गौंथलीले सिकुवामा विष्टा गर्यो भनेर घरको दलानमा भएको गौंथलीको गुणमा आगो लगाएका थिए रे । अनि घरै जलेपनि रमाउँदै यस्तो गीत गाएको थिए रे :

कताबाट उम्की जाउली गौंथली नानी हो

झ्यालै थुन्यौं, ढोकै थुन्यौं,

ए... झ्यालै थुन्यौं, ढोकै थुन्यौं, 

त्यहीँमाथि आगोको मुस्लो झोस्यौं 

कताबाट उम्केर जाउली

ताङ भुतुङ, ताङ भुतुङ, ताङ ।

यो त कपालमा लिखा, जुम्रा पर्‍यो भनेर मट्टितेल लगाएर टाउकोमा आगो झोसे जस्तो भएन र भन्या ? स्वर्गको ठेगाना खल्तीमा हालेर नर्कको बाटो हिँडेपछि पुग्ने त नर्कै हो ।’

गीतसहित बाक्के पुरा गर्न पनि भ्याएका थिएनन् । दर्शकले तालीसहित सुसेला मारेर भुसाल झाँक्रीलाई फेरि हौस्याए । 

दर्शक श्रोताको उत्तेजनाबाट उत्तेजित हुँदै पुुनः भन्न थाले, ‘हामी मदारीले बाँदर नचाए जस्तै छौं । जेलेन्स्की हुँदैछौं । खम्पा–२ हुँदैछौं । कान्लाबाट भिररिर मुन्टिदै छौं । धोती पाटा फेरेर दलाल पुँजीवादले गुण लगाइसकेको छ । माछाको तेलमा माछा फ्राइ गरेजस्तै कम्युनिष्टको तेल निकालेर त्यही तेलमा हामी कम्युनिष्टलाई भुट्दैछन् । मेरो यसमा निन्दा, भत्र्सना, असन्तुष्टी केही होइन । तर, तिमारु टाउके नेता सबले प्रायश्चित गर्नुपर्छ । माफी सप्ताह मनाउनु पर्छ । अष्ट्रेलियामा ‘सरी डे’ मनाएजस्तै ।’

यतिकैमा साँझ पर्न सुरु भयो । झाँक्रीको फलाको पनि तालीको गडगडाहटसँगै तुरियो ।

हर्कपुर, धरान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप