बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : मुख्यमन्त्री र अर्थमन्त्रीको गृह जिल्लामा कस्ता योजनालाई कति बजेट ?

शुक्रबार, ०३ असार २०७९, १८ : २९
शुक्रबार, ०३ असार २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेल दुवै धादिङबाट प्रतिनिधित्व गर्दछन् । पाण्डे र जम्कट्टेल प्रदेशसभा निर्वाचनमा धादिङबाटै निर्वाचित भएका हुन् । मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री दुवै धादिङबाटै प्रतिनिधित्व गर्ने भएकाले होला, आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले धादिङलाई विशेष महत्त्व दिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत धादिङका विभिन्न स्थानीय तहलाई दिइने अनुदान र योजनाहरुमा अन्य जिल्लाको तुलनामा बढी बजेट विनियोजन गरेको छ ।

धादिङलाई ९१ करोड ३४ लाख रुपैयाँ अनुदान

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि धादिङलाई विभिन्न अनुदानमा मात्र ९१ करोड ३४ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले धादिङका १३ वटा स्थानीय तहका लागि समानीकरण अनुदानतर्फ १९ करोड १० लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

त्यस्तै, सशर्त अनुदानतर्फ ३३ करोड ८१ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ भने विशेष अनुदानतर्फ ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले धादिङलाई समपूरक अनुदानमा २९ करोड ७७ लाख १२ हजार रुपैयाँ, चालुतर्फ ६१ करोड ६१ लाख २१ हजार, पुँजीगततर्फ २९ करोड ७३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्ता छन् बजेटमा समावेश धादिङका योजनाहरु

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहमा धादिङको रुबी भ्याली गाउँपालिका सहितका कृषि प्रवर्द्धनमार्फत किसानको आयआर्जन वृद्धि गर्न बजेट विनियोजन गरेको छ ।

त्यसैगरी आगामी तीन वर्षभित्र प्रदेशलाई धान, मकै, गहुँ लगायत तरकारी र फलफूलको बिउमा आत्मनिर्भर बनाउन निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा धादिङमा बिउ उत्पादनको पकेट क्षेत्र स्थापना गरी बिज प्रवर्द्धन कार्यक्रम सञ्‍चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ भने धादिङको धार्केमा शीत भण्डार सहितको कृषि बजार स्थापना गर्न बजेट व्यवस्था गरिएको छ ।

धादिङ अस्पताललाई क्रमशः स्तरोन्‍नति गरी विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सक सहितको जनशक्ति, सुविधा सम्पन्‍न प्रयोगशाला सहितको भौतिक पूर्वाधारको व्यवस्था गर्न बजेटमा व्यवस्था गरिएको छ भने महिलाहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि मेमोग्राफी मेसिन मार्फत निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ ।

प्रदेश सरकारले धादिङमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गर्न, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न घुम्ती स्वास्थ्य शिविर, स्याटेलाइट क्लिनिक र टेली मेडिसिन लगायतका माध्यमहरु प्रयोग गर्न बजेट व्यवस्था गरेको छ ।

धादिङको चेपाङ जातिको बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षित क्षेत्र विशेष कार्यक्रम सञ्‍चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ भने सो क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत चेपाङ, वोटे, वनकरिया जातीको एकीकृत वस्ती तथा आवास निर्माण बजेट विनियोजन गरिएको छ ।

धादिङका सुक्खाग्रस्त क्षेत्र लक्षित गरी खानेपानी र सिंचाई सम्बन्धी विशेष आयोजना सञ्‍चालन गर्ने प्रदेश सरकारको योजना छ । प्रदेशभित्र वित्तीय साक्षरता र वित्तीय पहुँच अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्‍चालन गर्न र रुबीभ्याली गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्न आवश्यक बजेट तर्जुमा गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप