बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : एसपीपीबारे आ-आफ्नो पार्टीको बचाऊ

शुक्रबार, ०३ असार २०७९, १८ : ०१
शुक्रबार, ०३ असार २०७९

प्रतिनिधिसभा सांसद अतहर कमाल मुसलमानले अमेरिकाको स्टेट पार्टनरसीप कार्यक्रमलाई सूर्यप्रसादको प्रोप्रोगाण्डा नामकरण गर्न सरकारसँग माग गरेका छन् । उनले सांसदको शुन्य समयमा बोल्दै हस्ताक्षर गरेको पत्रबाहिर आएकाले सांसदमा एसपीपीका विषयमा सत्तापक्षलाई चुनौती दिने सांसदले चुनौती स्वीकार गर्न आग्रह गरे । 
 
सांसद अमृता थापाले प्रमुख प्रतिपक्ष दलका नेताहरुको नैतिकता हराएको बताइन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राममा प्रधानसेनापतिले पत्राचार गरेको र ओली सरकारका रक्षा मन्त्रीले गठबन्धनको नेतालाई चुनौती दिने कुरा नैतिकताले नदिने बताइन्  । सांसद थापाले सांसदमा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने माग राखिन् ।  

सांसद आशाकुमारी विकले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताइन् । उनले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाई दिन माग गरिन् ।  

सांसद उमाशंकर अरगरियाले मधेस आन्दोलनका बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे । उनले मधेश आन्दोलनको ठूलो दल, मधेसमा बलियो संगठन भन्ने दल समेत यो सरकारमा हुँदा समेत सांसदहरुले बारम्बार प्रश्न उठाउँदा सार्वजनिक नभएको बताए । सांसद अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु मधेस र थारुमाथिको ठूलो विभेद भएको बताए ।  

सांसद खगराज अधिकारीले एसपीपीको लागि सेनाले पठाएको पत्र कसको मातहतमा गएको छानविन गर्न आफूहरु तयार रहेको बताए । उनले सत्तापक्षका सांसदहरु मान्न तयार हो भनेर प्रश्न गरे । सांसद अधिकारीले त्यो बेलाका प्रधानमन्त्री सुशील कोइरालाले लेखेको पत्र सार्वजनिक गर्न चुनौती समेत दिए ।   उनले केपीले पठाएको पत्र भए ल्याउन चुनौती दिँदै त्यो पत्र सुशील कोइरालाकै भएको दाबी गरे ।  

सांसद गजेन्द्रबहादुर महतले गत वर्ष जुम्लामा गएको बाढीले जग्गा बगाएको तर अहिलेसम्म त्यहाँका किसानले  राहत नपाएको गुनासो गरे । उनले अहिले त्यहाँका किसान धान रोप्न नपाएर रोहिरहेको गुनासो  गरे । सांसद महतले गत वर्षको बाढीले किसानको घर, जग्गा बगाएको तर सरकारले किसानलाई पेन्सन दिने कुरा गरेको बताए ।  

सांसद गणेश कुमार पहाडीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा करका दर हेरफेर गर्न सुब्बा र सिएभित्र राखिएको विषयमा सांसदको ठूलो दलले उठाएको विषयलाई वास्ता नगरी सांसदको काम कारबाही अगाडि बढाउनु संसदीय इतिहासमा गम्भिर भुल हुने बताए । उनले प्रतिपक्षले उठाएका विषयलाई बेवास्ता गरेर संसदीय व्यवस्थालाई कमजोर नबनाउन सभामुखलाई आग्रह गरे । सांसद पहाडीले अर्थमन्त्रीलाई छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे ।  

सांसद गोपालबहादुर बमले संसदको शून्य समयमा सभामुखले सुन्ने र सांसदहरुले भनिराख्ने काममात्रै भएको बताए । उनले सांसदले संसदमा उठाएका समस्या सरकारले सुनेर कार्यान्वयन गर्ने काम नगरेको गुनासो गरे । विगत चार वर्षदेखि जिल्लाका समस्याका विषयमा कुरा उठाएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनको भनाइ छ । 
 
सांसद जिपछिरिङ लामाले नागरिकता विधेयक तत्काल संशोधन गरेर नागरिकले नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले अहिले रहेको दुई किसिमको निर्वाचित र समानुपातिक निर्वाचन प्रणाली परिर्वतन हुनुपर्ने बताए । सांसद लामाले समानुपातिक सांसदलाई बजेट पास गर्ने कोरम पु¥याउने मात्रै काम भएको बताए । उनले निर्वाचन प्रणाली संशोधन गरेर ८० प्रतिशत सांसद निर्वाचित र २० प्रतिशतमात्रै समानुपातिक प्रणाली लागू गर्न माग गरे ।  
 
सांसद झपटबहादुर रावलले अहिलेको गठबन्धनको सरकार काण्डैकाण्डको सरकार भएको टिप्पणी गरे । उनले सभ्य समाजको विकास गर्नको लागि संस्कृतिको संरक्षण गर्नुपर्ने तर मुलुकका पर्यटन तथा संस्कृति मन्त्रीले सर्वसाधारण र आफू मातहतका कर्मचारीलाई गरेको व्यवहारले नेपालको सभ्यताको बेइज्जत गरेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप