आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयमा राजनीति नगरौं : सभामुख शाही

शुक्रबार, ०३ असार २०७९, १५ : २४
शुक्रबार, ०३ असार २०७९

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले विश्वविद्यालयमा देखिएको राजनीतिलाई न्युनिकरण गर्दै पढ्ने र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्नु पर्ने सुझाव दिएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको १२ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो सुझाव दिएका हुन् ।

सभामुख शाहीले विश्वविद्यालयहरू विशुद्ध अनुसन्धानमूलक र प्राज्ञिक बन्नुपर्ने भन्दै प्राध्यापक, कर्मचारी र विद्यार्थीहरु राजनीतिक गतिविधिमा बढी केन्द्रीत हुने गरेकाले विश्वविद्यालयहरुको विश्वसनीयता गुम्न पुगेको विचार व्यक्त गरे ।
शाहीले भने, ‘विश्वविद्यालय पढाउने, अनुसन्धान गर्ने थलो हो, राजनीति गर्ने र राजनीतिक प्रयोगशाला बन्ने थलोको रुपमा पहिचान बनाउनुहुँदैन । नेपालका विश्वविद्यालयमाथि अविश्वास बढ्दै गएको छ, अब सुधार गरेर गुमेको विश्वास फर्काउनुपर्छ ।’

विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने हब बन्न नहुने धारणा राख्दै उनले नेपाली युवा विद्यार्थीहरु उच्च शिक्षा पढ्न विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य विश्वविद्यालयहरूले नै गर्नुपर्ने सुझाव दिए ।  शाहीको कर्णालीको बेरोजगारी समस्या हटाउन मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने तर्क थियो । 

साथै शाहीले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाई विश्वको आवश्यकता अनुसार समय सापेक्ष परिवर्तन भई काम गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन जरुरी र उत्पादित शैक्षिक जनशक्तिलाई कसरी रोजगारीमा जोड्न सकिन्छ भन्नेतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह पार गर्दै आएपनि पछिल्ला केही वर्षयता राजनीतिक खिचातानी रोकिएको बताए । उपकुलपति सिंहले भने, ‘राम्रो काम गर्नेलाई जुनसुकै आस्था र विचारको भएपनि प्रोत्साहन गर्ने काम भएको छ । विश्वविद्यालयबाट कर्णालीका लागि मात्र नभई विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा गर्ने प्रयत्नमा छौं, विश्वमा बढी बोलिने विभिन्न ६ वटा भाषामा पढ्ने व्यवस्था मिलाएका छौं ।’

यस्तै, सिंहले विश्वविद्यालयले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढेको बताए । सुर्खेतमा केन्द्रीय कार्यालय भई २०६७ साल असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा छ सङ्काय, सात केन्द्रीय र १० आंगिक क्याम्पस छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप