आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का

शुक्रबार, ०३ असार २०७९, १३ : ३०
शुक्रबार, ०३ असार २०७९

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै  परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

उनले भने, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ । प्रधानमन्त्रीले पनि भन्नुभएको छ । अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन ।’  यसअघि प्राकृतिक विपत्ति लगायतका बेला सहयोग गर्ने किसिमले आएको सो कार्यक्रमलाई अहिलेको सन्दर्भमा बुझ्न नहुने पनि मन्त्री खड्काले स्पष्ट पारे ।

मन्त्री खड्काले सन् २०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएको बताउँदै भने, ‘२०१७ पछि विश्वमा नयाँ नयाँ गठबन्धन बनेको र नयाँ रणनीतिहरू आएका छन् । २०१५ मा एउटा छुट्टै अवधारणा रहेको र २०१९ मा अर्कै अवधारणा रहेको र २०१९ पछि एसपीपी ​ कार्यक्रम अघि बढेको छैन । यो कार्यक्रम अब अघि बढ्दैन ।’ मन्त्री खड्काले नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको समेत बताए ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको मिति तय भइनसकेको बताउँदै उनले बेला बेलामा उच्चस्तरीय भ्रमण भइरहनु स्वभाविक भएको समेत बताए । उनले भने, ‘बेला बेला उच्चस्तरीय भ्रमण भइहाल्छ । विगतमा पनि  केपी ओली, शेरबहादुर देउवा, राजा वीरेन्द्र लगायतबाट उच्चस्तरीय भ्रमण भएको थियो । अहिले हुने भनिएको प्रधानमन्त्रीको भ्रमण कहिले हुने र  एजेन्डा के हुने भन्ने तय भइसकेको छैन ।’  

छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप