बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

२० करोड सकियो, सडक अझै अलपत्र

शुक्रबार, ०३ असार २०७९, ११ : ०१
शुक्रबार, ०३ असार २०७९

सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।

जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालमै प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपियाँ छुट्टयाएको थियो । त्यस्तै पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म बिनियोजन गरेका थिए । जिल्ला समन्वय समिति पाल्पाले ट्रयाक खोल्ने बेलाम नै एक करोड छुट्टयाएको थियो ।

चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा, बजेट कम बिनियोजन हुँदा र चुरेमा सडक बनाउने तरिका नमिल्दा पाँच वर्ष बित्न लाग्दा वैकल्पिक सडक नै अलपत्र परेको हो । महाभारत श्रृंखला र चुरे पहाडमा सडक निर्माणका क्रममा सम्भाव्यता अध्ययनबिना राजनीतिक दाउपेचको आधारमा एकाएक सडक निर्माण कार्यको सुरुवात गरिए पनि कमजोर भूबनोटका कारण पाँच वर्षको अवधिमा निर्माण कार्य पूरा हुन नसकेको हो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा यो सडकका लागि सात करोड १६ लाख ५० हजार रकम विनियोजन गरेको छ । यो बजेट कामका हिसावले निकै कम रहेको प्राविधिकहरू बताउँछन् । तर, सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिमयुक्त खण्डको वैकल्पिक मार्गको रुपमा निर्माणाधीन धागो कारखाना–चरङ्गे–झुम्सा सडकमा आवश्यक पर्ने पुल पुलेसा निर्माण तथा अन्य कार्य सम्पन्न गरी यातायात सञ्चालन योग्य बनाउने कुरा प्रदेश सरकारले यसपटक पनि बजेट पुस्तिकामा समेटेको छ । भूगर्भविदको सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य यस वर्षका लागि रोकिएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताए । 

हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २० करोड रुपियाँ खर्च भएको छ । मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुनेछ । 'मुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन भन्न सकिंदैन,' न्यौपानेले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप