शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभरका हलमा ‘चिसो मान्छे’

शुक्रबार, ०३ असार २०७९, १० : ५५
शुक्रबार, ०३ असार २०७९

आज शुक्रबारबाट देशभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शन आएको फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्मले देशभरको मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज अवसर पाएको हो ।

‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका  निर्देशक दीपेन्द्रको यो फिल्म प्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा परेको पिडा देखाएको छ ।

समाजभित्रको कथालाई जीवन्त र सजीव रुपमा प्रस्तुत गर्ने निर्देशक दीपेन्द्रको यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको मुख्य भुमिका छ । उनीहरुलाई अभिनयमा साथ आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायतले दिएका छन् ।

फिल्मको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंले लेखेका हुन् । फिल्म दीर्घ खड्काले सम्पादन गरेका हुन् । विदेशबाट रातो बाकसमा आएको शव लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रामा पर्ने संघर्षमा फिल्म भएको अभिनेत्री  स्वस्तिमा खड्काले बताउदै आएकी छन् । फिल्ममा स्वस्तिमाले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । प्रचार सामाग्रीमा समेटिए अनुसार उनका बाजुराली लवज, लुक्स र गेटअपले दर्शक लोभ्याएका छन् । 

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मलाई मल्टिप्लेक्सले शुक्रबार १५ शो दिएको छ भने शनिवार १० शो दिएको छ । फिल्ममा नयाँ पुस्ताले पुरानो रीतिथिति भत्काउँदै नयाँ संस्कारको सुरुवात गर्न सन्देश दिएको निर्देशक खनालले बताए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप