आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बाराको पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइँने

शुक्रबार, ०३ असार २०७९, ०७ : ३३
शुक्रबार, ०३ असार २०७९

मधेस प्रदेश सरकारले पर्सा राष्ट्रिय निकुञ्ज आरक्षमा जंगल सफारी गराउँने योजना अघि सारेको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले २०७९/८० को विनियोजन विधेयक पेश गर्दै वन्य जन्तु अवलोकनका लागि सो सफारी गराउँने योजना अघि सारेको हो ।

बारा जिल्ला स्थित पर्सा राष्ट्रिय निकुञ्जलाई वन्यजन्तु तथा पंक्षी अवलोकन, जंगल सफारीको रुपमा विकास गर्न र धनुषाधाम संरक्षित बनलाई जैविक पार्क तथा बन्य जन्तु उद्दार केन्द्रको रुपमा विकास गरी पर्यापर्यटनका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेट विनियोजन गरेको मन्त्री साहले प्रस्तुत गरेको बजेटमा भनिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

पर्यटकहरूका लागि खुला गरेपछि अहिले पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य बनेको छ । परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकता पूर्ति गर्ने गरेको छ भने करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्त मात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिँदो अवस्थामा रहेको छ ।

६ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जंगल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा वफर जोन र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर रहेको छ । 

यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घाँसे मैदानलगायत दुई दर्जनभन्दा बढी रमणीय स्थान छन्। यहा संरक्षित गौरीगाई, बाघ, गैंडा, सालकलगायत वन्यजन्तु छन् ।

त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजिङ्गर, सुन गोहोरो छन् । यो निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख वासस्थान मानिने निकुञ्ज जनाएको छ । निकुञ्जभित्र पर्यटकका लागि निश्चित शुल्क लिएर पर्सा राष्ट्रिय निकुन्जभित्र रहेका विभिन्न महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तु र चराचुरुंगीहरू अवलोकन गर्नका लागि खुला गरिएको छ । 

उत्तरमा विश्वको कान्छो पहाड चुरे शृङ्खला, पूर्वमा निजगढ नगरपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणमा पूर्व—पश्चिम राजमार्ग गरी यसको क्षेत्रफल हाल ६२७.३९ वर्ग किमि फैलिएको छ ।

यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहाँ शिवरात्रि र साउन महीनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ ।

पर्सा राष्ट्रिय निकुन्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा ५० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि पाँच सय रुपैयाँमा १३ प्रतिशत भ्याट थप तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँमा भ्याट थप गरी शुल्क निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप