सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एन्फामा जुम्लाबाट केन्द्रीय सदस्यमा बुढ्थापाको उम्मेदवारी

बिहीबार, ०२ असार २०७९, १७ : ३३
बिहीबार, ०२ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनाव यही असार ६ मा हुँदैछ । एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा अध्यक्षमा दोहोरिने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षको प्रतिस्पर्धामा छन् । यसै क्रममा जिल्लामा दश वर्ष फुटबलको नेतृत्व गरेका जुम्ला फुटबल संघका अध्यक्ष भरत बुढ्थापा अहिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

लामो समय जुम्लाको फुटबल नेतृत्वमा बस्दा पनि एन्फाले बेवास्ता गरेका कारण आफू केन्द्रीय नेतृत्वमा आउन लागेको बुढ्थापाको भनाइ छ । ‘जुम्लामा स्थानीय तहले खेलकुदमा धेरै बजेट विनियोजन गर्दैनन् । फुटबलका लागि सामान्य बजेट हुन्छ । एन्फाले पनि कर्णाली फुटबललाई उपेक्षा गरेको छ,’ बुढ्थापाले रातोपाटीसँग भने, ‘यदि म नेतृत्वमा आएँ भने त्यो आवाज सही ठाउँमा पुर्याउनेछु ।’ 

शेर्पा प्यानलबाट बुढ्थापा केन्द्रीय सदस्य उठेका छन् । गणेश थापा नेतृत्वमा हुँदा उनलाई प्राथमिकता दिएनन् । अहिले पनि उनी नेम्वाङ प्यानलबाट उठ्न सक्ने अवस्था थियो । तर, थापाको सहयोगमा रहेको प्यानलबाट उपेक्षा हुने उनलाई डर थियो । जुम्ला जस्तो फुटबल विकास हुने अवस्थामा रहेको जिल्ला केन्द्रीय तहमा आउनुपर्छ भन्ने सकारात्मक सोचेमा आफू पक्कै नेतृत्वमा आउने उनले बताए । 

‘केन्द्रीय तहमा आउने चाहना हुँदा पनि गणेश थापा नेतृत्वमा हुँदा म अटाउन सकिनँ । अहिले शेर्पा समूहले मेरो खाँचो औंल्याएको छ,’ बुढ्थापाले भने । पछिल्लो समय जुम्लामा जिल्ला लिग सञ्चालनदेखि विभिन्न प्रतियोगिताको थालनी भएको छ । यसले खेलाडी पनि उत्पादन भइरहेका छन् । जुम्लामा फुटबलले ठूलो फड्को मारेको र अब केन्द्रीय तहमा आफ्नो उपस्थितिमा थप विकास हुने उनको भनाइ छ । 

पहिले जिल्लामा मात्र सीमित फुटबललाई हाल राष्ट्रिय स्तरसम्म पुगाएर अन्तर्राष्ट्रियकरण गर्ने बुढ्थापाको योजना छ । बुढ्थापासँगै अहिले कर्णालीबाट रोविन चन्द पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनी नेम्वाङ पक्षधर हुन् । 

धावक हरि रोकायाको नाममा अहिले जुम्लामा रंगशाला बन्ने अवस्थामा छ । पहिलोपटक ग्रासरुट फुटबलको विकासका लागि कदम चालेको जुम्लाले केन्द्रीय तहमा आफ्नो आवाज समेट्ने पहल थालेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप