मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चेम्बर एक्स्पो २०२२ सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

बिहीबार, ०२ असार २०७९, १६ : ५८
बिहीबार, ०२ असार २०७९

नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ । पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरे । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको बताए ।

स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवर्द्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरे । ‘निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भवन हुँदैन, उनले भने, ‘निकासी प्रवर्द्धन गर्दै व्यापार घाटालाई वाञ्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रदर्शनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने देउवाको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितिकाबीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड–१९  महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘एक्स्पोलाई चेम्बरले अबदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि निवेदन गर्छु ।’

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिबुटी जन्य बस्तुहरु,  इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप