कहाँ हरायो नैतिक शिक्षा ?
नैतिक शिक्षाले व्यक्ति असल व्यवहार र असल चरित्र भएको व्यक्ति बन्न सफल हुन्छ । परिवारमा, समाजमा मात्र नभएर सिङ्गो राष्ट्र नै सकारात्मक बन्न नैतिक शिक्षाको आवश्यकता पर्दछ । हरेक नागरिकहरूमा आफ्नो दायित्वको बोध हुन र सिङ्गो मुलुकलाई सकारात्मक तरिकाबाट अगाडि बढाउनका निम्ति हरेक राष्ट्रबासीहरूमा नैतिक ज्ञानको बोध हुनु अति नै आवश्यक देखिन्छ । हातमा पीएचडीको प्रमाणपत्र बोकेर हिँडेको छ, नाम अनि दाम कमाएकै छ । तर, आफ्नै आमा बाबासँग कसरी बोल्नुपर्ने हो, कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने कुराको ज्ञान शुन्य छ भने त्यो पीएचडीकोे प्रमाणपत्रको के अर्थ ? हामी आफैँ मनन गरौँ त, धागो विनाको चङ्गाजस्तै हुन्छ मानव, नैतिक शिक्षा बिना अर्थहीन ।
जब व्यक्तिहरूमा नैतिक ज्ञान हुन्छ र जीवनमा लागु गर्दछ, तब मात्र समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्तिमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा, परोपकार, दया, माया, निष्ठाजस्ता सकारात्मक पक्षले स्थान पाउनेछन् ।
वर्तमान अवस्था
आज हाम्रो समाज जसरी विकास हुँदै गइरहेको छ, यदि यही तरिकाले अगाडि बढ्दै गयो भने सायद भविष्यमा हजारौँ बृद्ध बुवाआमाहरू परिवारको मायाको निम्ति भोको हुनु हुनेछ । यो समाजमा आफ्नै दाजुभाइ, दिदीबहिनी पनि आफ्नो हुने छैनन् । एकै परिवारभित्र पनि एक अर्काको निम्ति शत्रु निस्किने छन् । एकले अर्कालाई गिराउने, सताउने जस्ता कार्य हुने निश्चित छ । एकै घरमा एकै परिवार पनि मिलेर सँगै बस्न नसक्ने परिस्थितिको सिर्जना हुने अधिक सम्भावना देखा पर्दछ ।
भन्ने गरिन्छ, नैतिक शिक्षा भनेको त आफै आफ्नै घर परिवार अनि विद्यालयमा यत्तिकै सिक्ने शिक्षा हो । थोरै कुराको ज्ञान त सामाजिक विषयमा पनि राखिएको छ नि । बेकारमा विद्यालयमा यसै त कोर्स सक्याउन धौ धौ हुन्छ । अझ एउटा विषय बढी किन थप्ने, आफू अनि बालबालिकालाई थप बोझ किन बोकाउने ? तर नैतिक शिक्षा अनिवार्य चाहिन्छ ।
यदि कसैको अचानक दुर्घटना भयो भने पनि उद्दार गर्न अघि सर्ने मान्छे थोरै हुन्छन् । मान्छेलाई फजुलमा समयको खर्च गर्न र रमाइलो गर्न समय पर्याप्त छ तर दुःखीलाई सहयोग गर्न र राम्रो कुरा गर्न, सिक्न, सिकाउन र सुन्न मात्र हजारौँमा एक दुई जनालाई मात्र समय मिल्छ ।
आजका आमाबुवा अर्थात् अभिभावकलाई यति हतार छ कि आफ्नो छोरा छोरीले के गर्यो, के गर्छ ? के खायो, के खाएन ? दिनभरि कसरी समय बितायो ? पढाइ कस्तो चलिरहेको छ, लगायत सोध्ने, बुझ्ने र हेर्ने समय नै छैन । हुर्किदै गरेका आफ्ना छोरा छोरीलाई बुझने उनीहरूका कुरा सुन्ने, जिज्ञासा मेटाउने, कतै केही कुरा मनमा राखेर समस्यामा पो परेका छन् कि बुझ्ने अहँ फुर्सद नै छैन ।
बरू इन्टरनेटमा समय बिताउन समय निस्किन्छ तर सन्तानलाई बुझ्ने समय कमै अभिभावकले मात्र निकाल्न भ्याउनु हुन्छ । यसो गर्दा कलिलो उमेरका बालबालिका पनि नैतिक शिक्षाबाट बन्चित भएका हुन्छन् । साथै अन्य धेरै जिज्ञासा पनि बालबालिकाको मनभित्रै गुम्सिएर रहन्छ । व्यस्त दैनिकी र सन्तानको नजिकको साथी बन्न नसक्नु, समय दिन नसक्नु तर उसका अन्य इच्छा, चाहना जे जति मागे पनि पूरा गराउनु त झन ठूलो समस्या बनेको छ । जसले गर्दा छोराछोरीहरु पैसा अनि परिश्रमको मूल्य बुझ्ने ज्ञानबाट बन्चित भएका हुन्छन् ।
एकदिन म र मेरो सानो भाइ मेरो छिमेकीको घरमा गएका थियौँ । जहाँ एक जना दाइले आफ्नो आमालाई ‘सुड्डी’ अनि बाबालाई ‘सुड्डो’ भन्दै सम्बोधन गरेको सुन्यौँ । आमाबुबालाई यस्तो सम्बोधन गर्नु एकदमै दुःखको कुरा हो । त्यस्तो सम्बोधन गरेको सुनेपछि मेरो मनमा साह्रै ठेस लाग्यो । मसँगै रहेको सानो भाइले के सिक्यो होला भनेर दुःख लाग्यो । मेरो दिमागमा यसबारे विभिन्न प्रश्न उब्जिए । मलाई लाग्यो, बुवा आमालाई वृद्ध भएपछि हेला गर्ने, वृद्धाश्रममा लैजाने, सम्पत्ति हडप्ने बेसहारा भएपछि एक्लै छोडिदिने यस्तै सम्बोधन गर्नेहरु नै हुन् ।
अझ एकदिन बाटोमा हिँड्दै गर्दा एकजना दिदीले वृद्धावस्थाको बुवालाई लठ्ठीले बेस्सरी हानेको देखेँ, जुन साँच्चै नै अमानवीय थियो । खै त, हाम्रो कानुनले के गर्न सक्यो ? संविधानको भाग २, धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको कानुन छ, जहाँ स्पष्ट रुपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था छ । तर कता गैरहेछ हाम्रो समाज ?
हाल हाम्रो बुवाआमा आफ्नो बुवाआमाले बोलेको वचन पनि काट्न नसक्ने हुनुहुन्छ भने अर्कोतिर हामी नयाँ पुस्ता छौँ, जसले बुवाआमालाई सम्बोधन समेत गर्न नजान्ने पिढीका छौं । त्यसैले, मैले देखेको र सुनेका विभिन्न किसिमका घटना छन्, जहाँ साँच्चै नै मैले नैतिक ज्ञानको बोध नभएर घटेको महसुस गरेकी छु । हाम्रो विद्यालयमा नैतिक शिक्षा एउटा छुट्टै विषयका रूपमा पढाइ हुन जरूरी देखेकी छु । घर परिवारसँगै नैतिक शिक्षा प्राथमिक तहदेखि माध्यमिक तहसम्म लागु हुन अत्यावश्यक छ ।
पूर्व प्राथमिक तहबाटै नैतिक शिक्षाको माध्यमबाट नै ससाना बालबालिकामा देशभक्ति भाव, राम्रो संस्कार, राम्रो मुल्य मान्यताका कुरालाई व्यवहारिक प्रयोगसहित संस्कारको रूपमा विकसित गराउनुपर्ने हुन्छ । जब हामीले कलिलै उमेरबाट राम्रो कुरा आर्जन गर्छौं र व्यवहारमा लागु गर्छौं, तब मात्र दिगो नैतिक ज्ञान आर्जन गर्न र व्यवहारमा ल्याउन सक्षम हुन्छौं । यसले हामीमा राम्रा सुविचारहरू आत्मसाथ गराउन र भविष्यमा जुन क्षेत्रमा लागे पनि उज्वल बनाउन सक्षम हुनेछौं । त्यसो त कागजी अध्ययनले मात्र पनि अपुग हुने रहेछ । त्यसैले पनि नैतिक शिक्षाको व्यवहारिक प्रयोग हुनु जरूरी छ ।
कस्तो हुनुपर्छ आजको शिक्षा
समयअनुसार हरेक कुरालाई परिमार्जन गर्नु अति आवश्यक हुन्छ । त्यस्तै अबको नैतिक शिक्षामा पनि थोरै परिमार्जित गरेर लैजानु समय अनुसारको आवश्यकता हो । आजको शिक्षा कस्तो हुनुपर्छ त ?
–शिक्षा मानव, पशुपंक्षी एवम् सम्पूर्ण प्राणीका निम्ति कल्याणकारी हुनु पर्दछ ।
–कसैले पनि आफ्नो अधिकारको प्रयोग गर्दा अन्य व्यक्ति वा प्राणीको कुनै पनि अधिकारमा ठेस लाग्नु हुँदैन ।
–सामाजिक कुसंस्कार, कुरिती र अन्धविश्वासलाई जरैदेखि उखेल्नेतिर लाग्ने हुनु पर्दछ ।
–हरेक वर्ग, जात, धर्म, भाषा, पेशा र लिङ्गलाई समान व्यवहार गर्ने हुनु पर्दछ ।
–राम्रो काम गर्नेलाई सम्मान गर्ने र थप हौसला दिने खालको हुनु पर्दछ ।
–व्यक्तिको व्यवहार, विनम्रता, आदर, संस्कार जस्ता आधारभूत आवश्यक मान्यताहरूमा विशेष जोड दिने हुनु पर्दछ ।
–समाज र राष्ट्र विकासका लागि व्यक्तिगत सदाचार र नैतिकताको भूमिका दर्शाउने हुनु पर्दछ ।
–आफू जन्मिएको जन्मभूमि र जननीप्रति सम्मान गर्न र प्रेम गर्न सिकाउने हुनु पर्दछ ।
–आफ्नो भाषा, संस्कृतिको मूल्य मान्यता बुझाउने खालको हुनु पर्दछ ।
–परिश्रम र मिहिनेतले कमाएको नाम, इज्जत र पैसाको मूल्य बुझाउने खालको हुनु पर्दछ ।
नैतिक शिक्षाको चुनौती
नैतिक शिक्षा आफैमा महत्त्वपूर्ण विषय हुँदा हुँदै पनि यसको प्रयोगका लागि केही चुनौती पनि छ, जसलाई स्वीकार्दै अघि बढ्नुपर्ने हुन्छ । नैतिक शिक्षाका चुनौती यस्ता छन्ः
–यो शिक्षा कुनै पनि धर्म, जात, भाषा, लिङ्ग, पेशासँग जोडिएर हेरिनु र व्याख्या गरिनु ।
–आदर्श र काल्पनिक विषयको रूपमा हेरिनु ।
–ज्ञान आर्जन गर्नु र व्यवहारमा फरक गरिनु ।
–समयअनुरूप समाजको सोचाईमा फरक नल्याइनु ।
–ससानो कुरा पनि धेरैलाई सिकाउन जरूरी देखिनु र सम्झाउन कठिन देखिनु ।
समाजमा घटेका विभिन्न यौनजन्य हिंसा, बालविवाह, बलात्कार, चोरी, हत्या जस्ता विभिन्न घटनाको एक कारण नैतिक शिक्षाको बोध नहुनु पनि हो । त्यसैले हामीले हाम्रो घरपरिवार, विद्यालय, समुदाय गर्दै सिङ्गो राज्यलाई नैतिक ज्ञानको धनी बनाउनका निम्ति नैतिक शिक्षालाई महत्त्व दिनु पर्छ । र, हाम्रा नैतिक मूल्य मान्यतालाई समय सापेक्ष प्रयोगमा ल्याउनु पर्छ । नैतिक शिक्षालाई सबै वर्ग, तह तथा क्षेत्रबाट एउटा अभियानको रूपमा अगाडि बढाउन सकेमा मात्र हामी र हाम्रा सन्ततिको भविष्य राम्रो बन्ने छ । साथै असल सन्तान बन्न सक्षम हुने छन् । राष्ट्रले असल राष्ट्रप्रेमी सेवक पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो