सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

देवता रिझाउन भूमि पूजा

बिहीबार, ०२ असार २०७९, १२ : ००
बिहीबार, ०२ असार २०७९

भूम्या पर्व अर्थात भूमे पूजा अठार मगरात क्षेत्रका बसोबासी खाम अर्थात् मगर भाषा बोल्ने समुदायले परापूर्वकालदेखि नै मनाउँदै आइरहेका छन् । भूम्या पर्वमा भूमि अर्थात् जमिनलाई देवताका रुपमा पूजाआजा गर्दै बालीनाली सप्रियोस्, खेतीपातीका लागि पानी परोस्, बाढी पहिरोले कसैको अकालमा ज्यान नजाओस् भनि प्रार्थना गर्ने गर्दछन् ।

असार १ भूम्या अर्थात् भूमि पुजाको अति उत्तम साइत मानिन्छ । असार १ को पहिलो दिन गाउँले जम्मा भई पूजाका लागि टाढाटाढा लेकमा गइ बुकी फूल टिपेर ल्याउने गरिन्छ । ब्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ । अठार मगरात क्षेत्रमा बसोबास गर्ने खाम भाषीका मगर समुदाय यो पर्व निकै हर्षोल्लासका साथ मनाउने गर्दछन् । भूमे नाच जेठदेखि नाच्ने गरे पनि असार १ देखि ३ गतेसम्म पूजाआजासहित गाउँले एकै ठाउँ जम्मा भएर मनाउने गर्दछन् ।

भूमिको पूजाआजा मात्रै नभई अठार मगरात क्षेत्रका बसोबासी मगर समुदायले भूम्या पर्वलाई नयाँ वर्षका रुपमा पनि मनाउने गर्दछन् । भूम्या पूजा गरी वस्तुभाउको चरिचरण क्षेत्र खुल्ला र बन्द गर्ने, गाउँको मुखिया, पुजारी, कटुवाले चुन्ने काम, आफ्नो गाउँको नयाँ विकास योजना गाउँलेहरुको सहभागितमा निर्माण गर्ने काम पनि भूम्या वर्षकै बेला गर्ने चलन छ ।

नेपाल मगर संघ दाङका अध्यक्ष खल्लु पुनले भने, ‘भूम्या पर्वमा वर्ष दिनका लागि गाउँको योजना बनाउने चलन छ, जसको धार्मिक चालचलन छँदैछ । त्योसँगै सामाजिक चालचलनलाई प्राथमिकता दिने गरिन्छ ।’

मगर जाती प्रकृतिमै अर्थात् वनजंगल, जल, जमिनमै आश्रित जाती हो । भौगोलिक रुपमा विकट दुर्गम क्षेत्र, खोलानाला वरिपरि बसोबास गर्ने, खेतीकिसानी र बस्तुभाउले जीवन निर्वाह गर्ने जाति भएकाले जल, जमिन र जंगललाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा रहेको उनले सुनाए ।

भूमि देवता रिसाए बालीनाली नोक्सान हुन्छ, बाढी पहिरो आउँछ वा खेतिपातीका लागि पानी नै पर्दैन कि भन्ने मूल्य मान्यताका साथ देउता रिझाउन पूजाआजा गर्ने चलन परापूर्वकालदेखि नै चल्दै आइरहेको किम्बदन्ती छ ।

हराउँदै मौलिकता

भूम्या (भुमे) वर्ष पूजाआजापछि सबै गाउँले लामबद्ध भई दमाहा, झ्याली, सनहीको तालमा मगर भेषभुषामा नाच्ने गर्दछन् । बाजाको स्वरमा फन्को मार्दै एउटै तालमा छमछम नाचेको दृश्य निकै रहर लाग्दो देखिन्छ । भूमे नाचले नै भूम्या अर्थात भूमे पर्वलाई रमाइलो बनाउने गर्दछ । 

पछिल्लो समय भूमे नाच पुस्तान्तरणको सकसमा परेको मगर अगुवा शितलाल पुनले बताए । उनले भने, ‘भूमे पर्व र भूमे नाच मगरको मौलिक पर्व र संस्कृति हो तर पुस्तान्तरणको अभावमा मौलिकता हराउँदै गइरहेको छ ।’

रुकुम, रोल्पामा भव्यताका साथ यो पर्व मनाउने चलन रहे पनि पछिल्लो समय बसाईसराईको तीव्र बृद्धिका कारण दाङमा पनि अठार मगरात क्षेत्रका मगरहरुको बसोबास बाक्लो बन्दै जाँदा यो पर्व मनाउन थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप