पाकिस्तानमा २३३ रुपैयाँ भयो पेट्रोल, डिजेल पनि प्रति लिटर ५९ रुपैयाँ महँगियो
पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार सरकार पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा अनुदान दिन सक्ने स्थितिमा नभएको स्पष्ट पारेका छन् । अनुदान दिन नसकेको स्थितिमा पेट्रोलको मूल्य बढाउनुबाहेक सरकारसँग कुनै विकल्प नभएको पनि बताएका छन् ।
त्यसैले पाकिस्तानमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ । यसपटक पेट्रोलको मूल्य प्रति लिटर २४.०३ पाकिस्तानी रुपैयाँ बढाइएको छ । यसका साथै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्यले रेकर्ड कायम गरेको छ । पेट्रोलको नयाँ मूल्य २३३.८९ प्रति लिटर भएको छ ।
यो मूल्य बिहिबारदेखि नै लागू हुनेछ ।
पेट्रोल बाहेक डिजेलको मूल्य ५९ रुपैयाँ १६ पैसाले बढेको छ । डिजेलको नयाँ मूल्य २६३.३१ रुपैयाँ पुगेको छ । मट्टितेल प्रतिलिटर २११.४३ रुपैयाँमा उपलब्ध हुनेछ जुन पुरानो मूल्यभन्दा ३३.१२ रुपैयाँ बढी हो । योसँगै लाइट डिजेलको मूल्य पनि बढेको छ । नयाँ मूल्य प्रतिलिटर २५.५३ रुपैयाँले बढेर २०७.४७ रुपैयाँ पुगेको छ ।
तेलको मूल्य वृद्धिको घोषणा गर्नुअघि मिफ्ताहले वर्तमान अवस्थाका लागि अघिल्लो इमरान खान सरकार र उनको नीतिलाई दोष दिएका छन् । उनले अघिल्लो सरकारको नीतिका कारण देशको अर्थतन्त्र धरासायी भएको बताए ।
उनले भने, ‘इमरान खानले जानाजानी राजनीतिक लाभका लागि पेट्रोलमा सब्सिडी जारी राखे र मूल्य बढाएनन् ।’
इमरान खान सरकारलाई आरोप लगाउँदै उनले अघिल्लो सरकारको गल्तीका सजाय वर्तमान सरकारले भोग्नुपरेको बताए ।
अहिले पाकिस्तानलाई पेट्रोलमा प्रतिलिटर २४.०३ रुपैयाँ, डिजेलमा ५९.१६ रुपैयाँ, मट्टितेलमा ३९.४९ रुपैयाँ घाटा भइरहेको उनले बताए ।
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आरोप अस्वीकार गरेको छ
पेट्रोलको मूल्य बढेपछि पीटीआई नेता फवाद चौधरीले ट्वीट गरेका छन् । उनले पेट्रोल र डिजेलको मूल्यवृद्धि आफ्नो पार्टीले स्वीकार नगर्ने बताए ।
پوری شدت سے اس آدھی رات کی ڈکیتی کو مسترد کرتے ہیں پٹرول کی قیمت میں اس قدر اضافہ نے مڈل کلاس کو تباہ کر دیا ہے اس منحوس اور نا اھل ٹیم کیخلاف عوام احتجاج میں ساتھ دیں #امپورٹڈ_حکومت_نامنظور
— Ch Fawad Hussain (@fawadchaudhry) June 15, 2022
उनले लेखेका छन्, ‘हामी यो लुटलाई अस्वीकार गर्छौँ । ’
उनले यस्तो लेखेका छन्,‘पेट्रोलको मूल्य वृद्धिले मध्यम वर्गको ढाड सेकिएको छ । यो असक्षम सरकारको विरोधमा जनता सहभागी हुनुपर्छ ।’