बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बाइडेन सरकारद्वारा थप नयाँ गठबन्धनको प्रस्तावः युएई, इजरायल, अमेरिका र भारतबीच ‘आईटुयुटु’ गठबन्धन बन्ने

बुधबार, ०१ असार २०७९, २१ : ५६
बुधबार, ०१ असार २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेन अर्को महिना जुलाई १२ देखि १६ बीच पश्चिम एसियाको भ्रमण गर्दैछन् । भ्रमणमा बाइडेनले भारत, अमेरिका, युएई र इजरायलका नेता सम्मिलित भर्चुअल सम्मेलन आयोजना गरिने कार्यक्रम पनि छ । 
यसबारे थप जानकारी दिँदै बाइडेन सरकारका एक वरिष्ठ अधिकारीले सम्मेलनले चार देश सम्मिलित नयाँ गठबन्धन ‘आईटुयुटु’ लाई मूर्तरुप दिने बताए ।  ‘आईटुयुटु’ मा रहेको ‘आईटु’ले अंग्रेजी वर्णमालाको आईबाट नाम सुरु हुने देश इण्डिया(भारत) र इजरायललाई जनाउँछ भने युटुले युएसए(अमेरिका) र युएई को लागि जनाउँछ । 

यी चार देशका विदेशमन्त्रीको बैठक यसअघि अक्टोबर २०२१ मा भएको थियो । उक्त बैठकमा सहभागी हुन भारतका विदेश मन्त्री एस. जयशंकर इजरायल गएका थिए । त्यतिबेला चार देशको यो समूहको नाम ‘इन्टरनेसनल फोरम फर इकोनोमिक कोअपरेशन’ राखिएको थियो । 

बाइडेनले जुलाई १३ मा इजरायलको भ्रमण सुरु गर्नेछन् । इजरायलपछि उनी प्यालेस्टिनी अधिकारीहरूसँग वार्ता गर्न वेस्ट बैंक जानेछन् ।
वेस्ट बैंकबाट राष्ट्रपति बाइडेन साउदी राजा सलमानको निमन्त्रणामा जेद्दा पुग्नेछन् । त्यहाँ बाइडेनले खाडी सहयोग परिषद्को सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा इजिप्ट, इराक र जोर्डनलगायत नौ देशका शीर्ष नेता सहभागी हुनेछन् ।

आईटुयुटु : पश्चिमी एशियाको क्वाड
अक्टोबर २०२१ मा पहिलो पटक भारत, इजरायल , युएस र यूएईका विदेश मन्त्रीहरुबीच समुद्री सुरक्षा, पूर्वाधार, डिजिटल पूर्वाधार र यातायात सम्बन्धी महत्वपूर्ण मुद्दाहरू छलफल भएको थियो।
त्यसबेला बैठकको प्रमुख मुद्दामा इजरायल र युएईबीचको सम्बन्धलाई सामान्य बनाउने विषय पनि परेको थियो । भारतका लागि युएईका राजदूतले त्यसबेला यस गुटलाई ‘पश्चिम एसियाको क्वाड’ को संज्ञा दिएका थिए ।
सन २०२१ जनवरीमा सत्ता सम्हालेदेखि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक पछि अर्को बहुपक्षीय समूह निर्माण गरिरहेका छन् । यसमा अष्ट्रेलिया, बेलायत र अमेरिका सम्मिलित ओकस एउटा समूह पर्छ । 

त्यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले गत महिना जापान भ्रमणका क्रममा १३ देश सम्मिलित इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ) घोषणा गरे । आईपीईएफमा अमेरिका, अष्ट्रेलिया, ब्रुनाई, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम गरी १३ देशहरु रहेका छन् ।

बाइडेनले अक्टोबर २०२१ मा पहिलो पटक आईपीईएफको उल्लेख गर्दै भनेका थिए ,‘ अमेरिकाले आफ्ना सहयोगीहरूसँग मिलेर इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क विकास गर्नेछ । यसमार्फत हामी व्यापारमा सहजता, डिजिटल र प्रविधिमा मानकीकरण, आपूर्ति श्रृंखलामा सबल, कार्बन उत्सर्जन कटौती लगायत क्षेत्रमा आफ्नो साझा लक्ष हासिल गर्ने कोसिस गर्नेछ । यसमा पूर्वाधार, श्रम र कानून जस्ता मुद्दाहरू पनि समावेश हुनेछन् ।’
भारत र अमेरिका क्वाड समूहका पनि सदस्य हुन्। क्वाड्रिलेटरल सेकुरिटी डायलगको छाटो रुपमा क्वाडमा अमेरिका, भारत, जापान र अष्ट्रेलिया सम्मिलित छन् । 
क्वाडको प्रस्ताव पहिलो पटक सन् २००७ मा जापानी प्रधानमन्त्री शिन्जो आबेले गरेका थिए, जसलाई भारत, अमेरिका र अष्ट्रेलियाले समर्थन गरे । 

यस समूहको मुख्य उद्देश्य चीनको आक्रमकतालाई प्रतिकार गर्दै इन्डो–प्यासिफिक क्षेत्रमा स्वतन्त्र व्यापारलाई बढावा दिनु रहेको छ । भारतले युएईसँग पनि स्वतन्त्र व्यापार सम्झौता गर्न लागेको छ । अर्को महिना प्रधानमन्त्री मोदी युएईको भ्रमणमा पनि जान सक्ने बताइएको छ ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप