शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता : रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

बुधबार, ०१ असार २०७९, २१ : ४२
बुधबार, ०१ असार २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

भ्रमणको दोस्रो दिन मन्त्री अथकसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशिय हितको विषयमा छलफल भएको थियो । छलफल पश्चात नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरूको आदान(प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषय समेटिएको “रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताएका थिए । साथै नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

मन्त्री अथकले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरेका छन् । उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए । साथै मन्त्री अथकले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप