१४ प्रतिशतले बढ्यो प्रादेशिक बजेट
तुलनात्मक रूपमा चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि प्रादेशिक बजेट ४३ अर्ब ६१ करोड रुपैयाँमाथिले बढेको छ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७ वटा प्रदेशहरूबाट गरी कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५७ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो । जुन चालु आर्थिक वर्षको तुलनामा १४.२८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि ७ वटा प्रदेशहरूले एकमुस्ट २ खर्ब ६१ अर्ब ८४ करोड ६७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।
तर, यता सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेटसँग तुलना गर्ने हो भने आगामी आर्थिक वर्षका लागि प्रदेशहरूले सङ्घीय बजेटको १७ प्रतिशत बजेट ल्याएका छन् । प्रदेशअनुसार हेर्ने हो भने छ वटा प्रदेशले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम २७ प्रतिशतमाथिले बजेट बढाइराख्दा एउटा कर्णाली प्रदेशले भने चालु आर्थिक वर्षको भन्दा पनि १२ प्रतिशतले बजेट घटाएको छ ।
यस्तो छ प्रदेश स्तरीय बजेट शृङ्खला
बागमती प्रदेश
आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बागमती प्रदेशले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा १८.६३ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि बागमती प्रदेशले कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
मधेस प्रदेश
ठुलो बजेट ल्याउनेमा दोस्रोमा मधेस प्रदेश भए पनि बजेट वृद्धिको प्रतिशतमा यसपटक मधेस प्रदेश पहिलो बनेको छ । मधेस प्रदेशले चालु आर्थिक वर्षको भन्दा १३ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीले बजेट वृद्धि गर्दै आगामी आर्थिक वर्षका लागि कुल ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा २७.९२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि प्रदेशले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा ३.९८ प्रतिशतले बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ४० अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बजेट ल्याएकोमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो ।
प्रदेश नं. १
प्रदेश नम्बर १ ले आगामी आर्थिक वर्षका लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा १८.२९ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि प्रदेशले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट ल्याएको थियो ।
सुदूरपश्चिम प्रदेश
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेशले १७.४४ प्रतिशत बढी बजेट ल्याएको छ । चालु आर्थिक वर्षाका लागि कुल ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ बजेट ल्याएको सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बजेट ल्याएको हो ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ३० अबै ३ करोड ९४ लाख २७ हजार रुपैयाँ बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १६.३५ प्रतिशतले बढी बजेट ल्याएको हो ।
किन घट्यो कर्णालीको बजेट ?
आगामी आर्थिक वर्षका लागि अन्य ६ वटा प्रदेशको बजेट बढिराख्दा यता कर्णाली प्रदेशको भने घट्न पुगेको छ । प्रदेश सरकारले बुधबार सार्वजनिक गरेको बजेट अनुसार प्रदेशले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा पनि ३ अर्ब ९३ करोड ४ लाख ७३ हजार रुपैयाँले कम बजेट ल्याएको हो । जुन चालु आर्थिक वर्षको भन्दा पनि १२.०५ प्रतिशतले कमी हो । आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
समग्रमा सातै प्रदेशको बजेट चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको ४३ अर्ब ६१ करोड ८९ लाख ९९ हजार रुपैयाँले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश संसद्मा ३ विधेयक दर्ता
-
प्रहरी र सशस्त्रमा एआईजीको पदावधि ३ वर्ष राख्न प्रस्ताव
-
श्रममन्त्रीसँग कोरियाका विदेशमन्त्रीका विशेष दूतको भेटवार्ता
-
‘फास्ट ट्र्याक’ मार्फत विधेयक अघि बढाउने तयारी
-
कोशी प्रदेशभित्रका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सञ्चालन हुने
-
फिल्म ‘ममी’को ट्रेलर सार्वजनिक