आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोशी सम्झौताबारे ध्यानाकर्षण गराउन प्रदेश सांसद पुगे भारत

बुधबार, ०१ असार २०७९, २० : ३७
बुधबार, ०१ असार २०७९

मधेश प्रदेशका प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव ‘विक्की’ले कोशी सम्झौता कार्यान्वयनका लागि भारत विहार सरकारका उपमुख्यमन्त्री रेणु देवीलाई ध्यानाकर्षण गराएका छन् । भारत विहारको पटना पुगेर उपमुख्यमन्त्री रेणु देवीलाई उनले ध्यानाकर्षण गराएका हुन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश सांसद विक्कीले सप्तकोशी नदीबाट निस्केको पश्चिम नहरको किनार हुँदै बनेको सडक मर्मतका लागि ध्यानाकर्षण गराएको बताए । सप्तकोशी नदीबाट नहर निर्माण हुँदा नेपाल–भारतबीच भएको सम्झौता अनुसार सडक बिग्रिए वा भत्किएमा त्यसको मर्मत सम्भार भारत सरकारले गर्नुपर्ने हुन्छ । विगत ४० वर्षदेखि त्यो सडकको अवस्था बेहाल छ तर भारत सरकारले त्यसलाई मर्मत गर्न चासो नदेखाएपछि प्रदेश सांसद विक्कीले भारतको पटना गएर नै सो ध्यानाकर्षण गराएका हुन् ।

पश्चिमी नहरको लम्बाइ ३२ किलोमिटर रहेको छ । त्यो नहरबाट सिँचाई हुनुको साथै किनार हुँदै सडकको पनि सुविधा छ । नहर निर्माण भएकै बेला त्यो सडक निर्माण गरेको थियो । सो सडकबाट दैनिक हजारौं व्यक्तिको आवत जावत हुन्छ । तर सडक बिग्रेको कारण त्यहाँका स्थानीय सास्ती व्यहोरेको उनले बताए । ‘नेपाल–भारतबीच सम्पन्न कोशी सम्झौता अनुरुप नहरको मर्मत सम्भार भारत सरकारले गर्नेछ । यसको विषयमा नेपालबाट पटक पटक ध्यानाकर्षण गराइएको छ तर कुनै प्रतिकृया नदेखाएको कारण हामी तपाई समक्ष आइपुगेको हुँ, उनले ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन्, ‘नहर क्षेत्रमा बसोवास गर्ने जनताले आन्दोलन पनि गरेका छन्, त्यो आन्दोलन मैले नै स्थगित गराएको छु ।’

दुई देशबीचको धार्मिक, साँस्कृतिक र बेटीरोटीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले यो सम्बन्धलाई पनि ध्यान दिँदै कोशी पश्चिमी नहर सडकको मर्मत सम्भारका लागि आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझदै उपमुख्यमन्त्री रेणु देवीले मर्मतका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाइन् । प्रदेश सांसद विक्कीले भारत सरकारको जलसनसाधन संसदीय समितिका अध्यक्ष एवं भारतीय जनता पार्टी विहार राज्यको अध्यक्ष संजय जैसवाललाई पनि सो ध्यानाकर्षण पत्र बुझाएका छन् । उनले पनि सडक मर्मतका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप