शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीलाई सांसदको प्रश्न : डाँडाघरे साइँलाको  घरबाट गैराघरे काइँलाको घरसम्म पुग्ने बाटो कसरी सहायक राजमार्ग ?

बुधबार, ०१ असार २०७९, १८ : ०१
बुधबार, ०१ असार २०७९

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई सांसदहरुले बजेट बनाउँदा हेलचेक्रयाइँ गरेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत बिनियोजन बजेटमाथिको छलफलका क्रममा अधिकांश सांसदले आफ्नो क्षेत्रको बजेट काटिएको भन्दै आक्रोश पोखेका छन् । 

एमाले सांसद गणेश पहाडीले वैकल्पिक राजमार्ग भनेर ८ सय २ वटा राजमार्गलाई लिइएको र त्यस्ता आयोजना छनौटका आधार के हुन् ? भन्दै प्रश्न गरे । उनले भने– ‘वैकल्पिक सहायक राजमार्ग भनिएको छ, तर टोले सडकहरूलाई राखिएको छ । यो कुनै मापदण्डमा छैन । २ सयभन्दा बढी योजनाहरु कर्मचारीबाट छनोट भएको भनिएको छ, यो कस्तो बेथिति हो ? सरकार के गरेर बसेको छ ?’

उनले को कर्मचारीले ति योजना छनौट गरेका हुन र सरकार के हेरेर बसेको भन्दै प्रश्न गरे । काँग्रेस सांसद पुष्पा भुसालले अर्घाखाँची जोड्ने सडकका लागि ७ करोड छुट्याईएकोमा सो रकम कम भएको भन्दै बजेट बढाउन माग गरिन् । सांसद डिला संग्रौलाले बजेट बनाउँदा मोरङ जिल्लालाई किन नदेखेको भन्दै प्रश्न गरिन् । 

एमाले सांसद यज्ञराज सुनुवारले यो वर्ष बजेट बनाउँदा लाज पनि लजाएको र मन्त्रीको जवाफ पनि गैरजिम्मेवार रहेको बताए । उनले मन्त्रालयमा २ सय ५० योजना बनाउने शक्तिशाली कर्मचारी को हुन भन्दै प्रश्न गरे । २ वटा जिल्लालाई जोड्ने योजनाहरुलाई हटाएर डाँडाघर साइँलाको घरबाट गैराघरे  काइँलाको घरसम्म पुग्ने बाटोलाई किन सहायक राजमार्ग भयो भन्दै प्रश्न गरे । ओखलढुङ्गाको सडकमा कालोपत्रे जिम्मा पाएको ठेकेदारले काम नगर्दा उसलाई किन कारवाही भएन भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप