बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कैलाली–सुर्खेत ३३ केभी प्रसारणलाइन विस्तार हुँदै

बुधबार, ०१ असार २०७९, १५ : १०
बुधबार, ०१ असार २०७९

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रसारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको हो । 

कम क्षमताको प्रसारणलाइनका कारण कर्णालीमा पटक–पटक विद्युत अवरुद्ध हुने समस्याका कारण उपभोक्ता मर्कामा छन् । प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु यादवले कोहलपुर–सुर्खेत प्रसारणलाइन अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जमा रुख कटानसम्बन्धी प्रक्रियामा ढिलाइ हुँदा वैकल्पिक प्रशारण लाइनको प्रक्रिया अघि बढाइएको बताए । “कैलाली–सुर्खेत ३३ केभी प्रसारणलाइन विस्तारका लागि ठेक्का आव्हान भइसकेको छ, ठेकेदारलाई सम्झौताका लागि बोलाइएको छ,” उनले भने, “यही असार १५ गतेसम्म सम्झौता गरी ठेकेदार कम्पनीलाई परिचालन गर्नेछौं ।” 

कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौर सब–स्टेशन तथा त्यहाँबाट बड्डीचौर–बांगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा उक्त विद्युत जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभीलाइन यसअघि विस्तार भइसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किमी पोल र तार विस्तार गर्न थालिएको हो । बाबियाचौरमा सब–स्टेशन तीन वर्ष अघि नै निर्माण भइसकेको थियो । प्राधिकरणले सोल्टा–बाबियाचौर विद्युत विस्तारका लागि ६ करोड बजेट छुट्याएको छ ।

प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयले पश्चिम सुर्खेतमा ठूलो जनसंख्या विद्युत सेवाबाट बञ्चित रहेको, सुर्खेत लगायत कर्णालीका जिल्लामा ‘लो भोल्टेज’ का कारण पटक–पटक विद्युत अवरुद्ध हुने समस्या हुनु, पश्चिम सुर्खेतमा बेतन कर्णाली जलविद्युत आयोजना र सूर्यतारा सिमेन्ट उद्योग निर्माणका लागि ३३ केभी प्रसारणलाइन आवश्यक रहेको जनाएको छ । कर्णालीमा तीन दशक अघि निर्माण गरिएका जीर्ण र कम क्षमताका संरचनाका कारण विद्युत सेवा अनियमित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप