कानुन मन्त्रीलाई प्रश्न : व्याख्यात्मक घोषणामा सहयोगपछि मन्त्री बन्नुभयो, किन बुझ पचाएको ?
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसद प्रेम सुवालले सोधेको प्रश्नमा जवाफ दिने क्रममा उनले एमसीसीमा कुनै राष्ट्रघात नरहेको जिकिर गरेका हुन् । उनले एसपीपी कार्यक्रममा अमेरिकाबाट कुनै प्रस्ताव नआएको पनि जिकिर गरे। ‘एसपीपी कार्यक्रमका लागि प्रस्ताव अमेरिकाले राखेको नै छैन । सरकारलाई बदनाम गराउने खेल मात्रै हो । वनको बाघले होइन मनको बाघले नखाओस्’, उनले स्पष्टीकरण दिए ।
सुवालले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा तयारीमा शर्माको नाम जोडियो र मन्त्रीमा नियुक्ति भएको उल्लेख गर्दै एमसीसीमा देश घात यथावत रहेको जिकिर गरेका थिए । ‘एसपीपीमा अमेरिकी सेनाले ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने तथा गाडीसँगै हवाई जहाज पनि ल्याउने उल्लेख छ’, सुवालको भनाइ थियो, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लैजाने होइन । सरकारमा गएका पार्टी र मन्त्रीहरुलाई हातमा लिएर शासन गर्ने हो ।’
सुवालले सत्ता लोलुप भएकै कारण रुस १५ टुक्रा भएको किन बुझ पचाएको ? भन्दै प्रश्न गरेका थिए । जवाफमा शर्माले एमसीसी सदनले पास गरेको भन्दै कुनै कन्फ्युजन हुन जरुरी नरहेको बताए । ‘अमेरिका सेना नेपालको इजाजत बेगर कहिल्यै पनि आउन सक्दैन । यो सरकारलाई बदनाम गराउने खेल मात्रै हो’, उनले भने ।