हिमालयन जाभाः दुई दशकको यात्राले बदल्यो नेपालको ‘कफी कल्चर’
तपाईं एक दिनमा कति पटक कफी पिउनु हुन्छ ? अनि साता वा महिनामा कति पटक कफी पिउनु हुन्छ ? आजका दिनमा यो प्रश्नको सजिलो उत्तर हुन सक्छ– जति पटक मन लाग्यो, त्यति पटक र जहाँ मन लाग्यो त्यहाँ । किनकि, आज प्रत्येक चोक–चोकमा कफी सप पाइन्छ ।
हरेक पाइलामा एउटा नयाँ ब्राण्ड र स्वादसहितको कफी सप भेट्टाउन अहिले समस्या छैन । त्यसैले मन लागेको समयमा, मन परेको मान्छेसँग आफ्नो रोजाइको स्वादमा कफी पिउन आजको दिनमा खासै समस्या छैन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार काठमाडौं उपत्यकामा मात्रै ५ हजारभन्दा बढी कफी सप छन् । यस्तै, दैनिक सरदर ३ वटा कफी सप खुल्ने क्रम जारी छ ।
तर, सहजै कफी पिउन पाउने अहिलेको जस्तो सहज स्थिति आउन भने नेपालले लामै संघर्ष गर्नुपर्यो । झण्डै २ दशक अघिसम्म मन लागेको समयमा कफी पिउन पाउनु अहोभाग्य जस्तै हुन्थ्यो । किनकि, त्यतिबेला नेपालमा एउटा पनि कफी सप थिएन ।
खास गरी, सन् १९९९ मा काठमाडौंको कमलादीमा ‘हिमालयन जाभा’ खुल्नुअघि नेपालमा कफी सप नै थिएन भन्दा फरक नपर्ला । इतिहास पल्टाएर हेर्दा आधिकारिक रूपमा नेपालमा सञ्चालनमा आएको पहिलो कफी सप नै ‘हिमालयन जाभा’ थियो ।
सन् १९९९ अघि कफी खान परेमा पाँचतारे होटलमा मात्रै सम्भव हुन्थ्यो । अन्यत्र कतै कफी खान पाइए पनि ‘बिन्स’ पेलेरै बनाइने कफी खान पाइने ठाउँ नै थिएन । तर, हिमालयन जाभा खुलेपछि भने नेपालीहरूले विदेशका ‘एलिट’ वर्गले खाने गरेको कफी खान पाए । यद्यपि, त्यसयता पनि नेपालमा सहज रूपमा कफी खान पाउन भने समय नै लाग्यो ।
हिमालयन जाभा सञ्चालनमा आएको करिब २३ वर्षपछि नेपालमा वार्षिक ३ सय मेट्रिक टन हाराहारी कफी उत्पादन हुँदै आएको छ । बोर्डका अनुसार सन् २०२०/२१ मा देशका ४४ वटा जिल्लामा कफी खेती विस्तार भएको छ । र, यी जिल्लाको ३१ हजार ३४० किसान खेतीमा सामेल छन् । यसरी, कफी खेतीको विस्तार र उत्पादन वृद्धि हुँदै जानुमा स्वदेशमा कफीको माग बढ्दै जानु हो । र, यसमा मूख्य भूमिका ‘हिमालयन जाभा’को नै छ, जसले नेपालमा ‘कफी कल्चर’ अर्थात् कफी खाने ट्रेण्ड नै सेट गर्यो ।
जाभाको सुरूवात
गगन प्रधान जो नेपालमा आधारभूत शिक्षा लिएर उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका थिए । तर, प्रधान अष्ट्रेलियामा भएपनि उनको मन नेपालमै थियो । र, विदेशमा उच्च शिक्षा हासिल गरेर आफ्नै देशमा केही गर्ने र धेरै युवाहरूको प्रेरणाको स्रोत बन्ने चाहना उनमा थियो । यही चाहना बोकेर अष्ट्रेलियाको पढाइ सकेर नेपाल फर्केका प्रधान सुरूमा देशमै अल्झिराख्ने उपायको खोजीमा लागे । अष्ट्रेलियामा म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेका उनी नेपाल फर्केलगत्तै तारे होटलमा जागिरेको रूपमा आबद्ध भए । तर, देशमा केही गर्ने उनको सोचको मूलरूप तारे होटलमा जागिरे जीवन बिताउनु छँदै थिएन । त्यसैले जागिर सुरू गरेको एक सातामै राजीनामा दिएर आफै केही गर्ने योजनाको खोजीमा लागे ।
केही महिना उपत्यकाका कुना–कुना चहारेपछि हस्पिटालिटीको क्षेत्रमा कफी सपको अभाव देखे । अष्ट्रेलियामा कफी खाँदै उच्च शिक्षा हासिल गरेका प्रधानले नेपालमा सो अनुरूपको कफी खाने गन्तव्य नै देखेनन् । त्यसपछि सुरू भयो ‘हिमालयन जाभा’को परिकल्पना । त्यसपछि, करिब ६ साताजति कफीसम्बन्धि बजार अध्ययन गरे । अध्ययनपछि नेपालमै कफी सप सञ्चालन गर्ने अठोटसहित आवश्यक तालिम र जानकारीका लागि अमेरिका हानिए प्रधान ।
अमेरिकामा कफी बनाउने तालिमसँगै यसको मेनु लिस्ट र कफी कल्चरका विषयमा राम्रो ज्ञान प्रधानले पाए । यस्तै, कफी बनाउन चाहिने मेसिन, मेसिन पाइने ठाउँ, कफी बनाउन चाहिने जनशक्ति र आवश्यक अन्य धेरै विषय अमेरिकामा जानकारी हासिल गरे । यी सबै अध्ययन सकेर नेपाल फर्केपछि प्रधान कफी सपका लागि उपयुक्त स्थानको खोजीमा होमिए । ‘सुरूमा ठमेलमा कफी सप खोल्ने योजना बनेको थियो,’ प्रधान सुनाउँछन्, ‘तर, अलि फरक खालको लोकेसन खोज्ने क्रममा कमलादीको हेरिटेज प्लाजा भेटियो ।’ त्यसपछि, सन् १९९९ नोभेम्बरमा कमलादीमा खुल्यो नेपालकै पहिलो कफी सप ।
कफी सपदेखि कफी ब्राण्डसम्म
प्रधानले कमलादीको हेरिटेज प्लाजामा पहिलो कफी सप सञ्चालनमा ल्याउँदा नेपालमा रेष्टुरेन्ट संस्कार नै बसिसकेको थिएन । नेपाल गृहयुद्धको चपेटामा पर्ने तरखरमा थियो । रेष्टुरेन्ट संस्कार नभएपछि आफ्नै घरमा बनाएर चिया खाने नेपाली कहिलेकाहीँ बाहिर गएर चिया नै खान्थे । सरदर १० रुपैयाँको चिया खान बानी थियो काठमाडौंवासीलाई । यस्तोमा हिमालयन जाभामा गएर उसबेला ६०/७० रुपैयाँ तिरेर कफी खान खासै तयार थिएनन् ।
‘भर्खर कफी सप सञ्चालनमा ल्याउँदा दैनिक १०/१५ जना मात्रै ग्राहक हुन्थे,’ प्रधान सम्झन्छन्, ‘बजार अध्ययनका क्रममा कफी मन पर्छ र दैनिक कम्तिमा एक पटक खान्छु भन्नेहरू समेत आएका थिएनन् ।’ यस्तै, कफी सप सञ्चालनमा आएपछि कफी खान पस्नेभन्दा फर्निचरका बारेमा सोधपुछ गर्न पस्नेहरू धेरै हुन्थे । ‘त्यतिबेला सञ्चालनमा रहेका रेष्टुरेन्टमा गरिने फर्निचर सेटिङभन्दा हिमालयन जाभाको सेटिङ फरक थियो,’ प्रधान सुनाउँछन्, ‘यस्तै, बजारमा तत्कालीन क्याफेहरूको भन्दा विल्कुलै फरक र युनिक नाम थियो ।’ जसकारण, कफी खान चाहनेहरूभन्दा फर्निचरको बारेमा सोधीखोजी गर्ने धेरै हुने गरेका थिए ।
दुई दशकभन्दा बढीको समय रेखाले आज देशका विभिन्न स्थानमा ‘हिमालयन जाभा’का ४० भन्दा धेरै फ्रेन्चाइज र आउटलेट सञ्चालनमा छन्, जहाँ ‘कफी लभर’ आफूलाई मन पर्ने कफीको स्वाद चाख्न पाउँछन् । यस्तै, हिमालयन जाभाले अहिले इलामको फिक्कलमा १ हजार ५ सय रोपनी जग्गामा आफ्नै बगानसमेत सुरू गरेको छ ।
कफी सपमा लगानी गरेपछि धेरै नराम्रा समयबाट समेत गुज्रनुपर्यो प्रधानलाई । तर, विदेशमा लिइएको उच्च शिक्षाले नेपालमा मेहनत र संघर्ष गर्न उनलाई हौस्याइरह्यो । हस्पिटालिटी क्षेत्रमा गरेको लगानीबाट प्रतिफल पाउन कम्तिमा ५ वर्ष लाग्छ भन्ने उनलाई जानकारी थियो । । त्यति जानकारी नहुँदो हो र धैर्यताका साथ निरन्तर मेहनत गर्दैन थिए भने आज उनी पनि अन्य कुनै देशमै हुन्थे होलान् । किनकि अस्ट्रेलियाबाट नेपालमै केही गर्न भनेर फर्केका उनका साथी ४/५ महिनामा उतै फर्किसकेका थिए । तर, प्रधानलाई भगौडा बन्नु थिएन । त्यसैले नेपालमै केही गर्ने अठोटसहित आफ्नो सम्पूर्ण ऊर्जा हिमालयन जाभामा खर्चिएर अघि बढेको सुनाउँछन् ।
क्रपदेखि कपसम्म
विगत २३ वर्षदेखि आफ्ना सेवाग्राहीलाई कफीको स्वाद चखाउँदै आएको हिमालयन जाभाले यो वर्षदेखि आफ्नै बगानमा फलेको कफी चखाउने तम्तयारीमा छ । जाभाले इलामको फिक्कलमा लगाएको कफी खेती यस वर्षबाट उत्पादन हुने प्रधान बताउँछन् । ‘यस वर्षदेखि आफ्नै बगानको कफी बजारमा आउँछ,’ प्रधानले भने, ‘त्यसपछि हिमालयन जाभाले आफ्नै बगानमा फलेको कफी मात्रै बेच्नेछ ।’
नेपालमा खपत अनुसारको कफी उत्पादन हुँदैन । सरकारले कफी खेतीमा ध्यान नदिँदा र लामो समयसम्म प्रतिफल नपाइने भएकाले पर्याप्त मात्रामा कफी खेती हुने गरेको छैन । ६ वर्ष अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका प्रधानले नेपालको कम उत्पादन देखेर नै आफै खेतीमा लाग्ने निधो गरेका हुन् । अहिले १ हजार ५ सय रोपनीमा खेती सुरू गरेका प्रधान आगामी दिनमा थप जमिनमा खेती हुन सक्ने बताउँछन् ।
‘कफीको विरुवा रोपेको ६ वर्षपछि बल्ल प्रतिफल पाइन्छ,’ प्रधान भन्छन्, ‘यति लामो समयसम्म प्रतिफल नपाइने भएपछि किसान टिक्नै सक्दैनन् । जसले गर्दा उत्पादन बढ्न सकेको छैन ।’ नेपालले कफी बाहिर निर्यात गर्नुभन्दा पनि स्वदेशमा खपत हुने परिमाण अनुसारको उत्पादनतर्फ ध्यान दिनुपर्ने अवस्था देख्छन् प्रधान ।
कफी सप हुँदै कफी स्कुलसम्मको यात्रा
नेपालमा हिमालयन जाभा सुरू गरेपछि सन् २००८ तिर अष्ट्रेलिया पुगेका थिए प्रधान । त्यस क्रममा नेपालबाट गएका धेरै विद्यार्थीले पार्टटाइम जागिर नपाएर तड्पिएको देखेपछि उनीहरूलाई सहयोग गर्ने मन बनेको सुनाउँछन् प्रधान । ‘आफ्नो पालामा एउटा सपबाट जब छाड्नसाथ अर्कोमा बोलाउँथे,’ उनले सम्झिए, ‘तर म पछि अष्ट्रेलिया पुग्दा त्यस्तो स्थिति थिएन । नेपाली विद्यार्थीहरू काम नपाएर भांैतिरिई रहेको पाएँ ।’ यस्तो स्थिति देखेपछि विदेश जाने विद्यार्थीलाई आफ्नो स्थानबाट सहयोग गर्ने योजना बन्यो ।
त्यसपछि, नेपाल फर्केर कफी सिकाउन ‘बरिस्टा स्कुल’ सुरू भयो । स्कुलमा कफी बनाउन, सर्भ गर्न र कफी सम्बन्धित सबै प्रकारका जानकारी दिन थालियो । जहाँ अष्ट्रेलियालगायत अन्य मुलुकमा पुगेर अध्ययनसँगै रोजगारी गर्ने नेपाली विद्यार्थी कफी बनाउन सिक्न आउँछन् । कफी बनाउन सिकेर विदेश जाने विद्यार्थीहरूले विदेशमा जागिर पाउन मुस्किल नभएको प्रधान सुनाउँछन् । ‘बरिस्टा सम्बन्धि जागिर पाउन मुस्किल छैन । यदि नेपालमा राम्रोसँग सिकेर विदेश गएको छ भने सजिलै जागिर पाउँछन्,’ प्रधानले सुनाए ।
हाल देशका विभिन्न स्थानमा ७ वटा बरिस्टा स्कुल सञ्चालनमा छन् । त्यहाँ सयौं विद्यार्थी कफी बनाउने तालिम लिइरहेका छन् । ती स्कुलमा कफी बनाउन सिकेर उत्कृष्टहरूलाई हिमालयन जाभामै रोजगारीमा राखिन्छ । तर, धेरैजसो विद्यार्थी विदेश जाने सोचसहित कफी बनाउने तौरतरिका सिक्न पुग्छन् ।
अहिले सानो स्केलमा छरिएर रहेका बरिस्टा स्कुललाई भविष्यमा ठूलो विद्यालय नै बनाउने सोच प्रधानले बनाइरहेका छन् । यस्तै, कफी कल्चर बसाउन महत्वपूर्ण भूमिका खेलेका प्रधानले खेतीलाई पनि जोड दिँदै छन् । उनी पछिल्लो समय कफी बेच्न, उत्पादन गर्न र कफीसम्बन्धि दक्ष जनशक्ति निर्माणमा आफै जुटेका छन् । जसले नेपालको कफी कल्चरलाई नै उचाइँमा पुर्याइदिएको छ । यस्तै, कुरिनटारमा नयाँ शाखा खुल्न लागेको छ । जहाँ रिसोर्टसहितको कफी स्टेसन बनाउने योजना प्रधानसहित टिमको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा