बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरावस्थामा पाठेघर र डिम्बाशयको ट्युमर

क्यान्सरजन्य ट्युमर कस्तो हुन्छ ?
बुधबार, ०१ असार २०७९, ११ : ५८
बुधबार, ०१ असार २०७९

तनहुँकी १८ वर्षीय एक किशोरीको पाठेघरमा सानाठूला गरी सयभन्दा बढी ट्युमर फेला प¥यो । उनको पाठेघरमा पलाएको ट्युमर शल्यक्रिया गरी फालिएको छ ।

दुर्लभ अवस्थामा मात्रै किशोरावस्थामा पाठेघरमा ट्युमर आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सपना अमात्य वैद्य बताउँछिन् । उनी भन्छिन्, ‘किशोरीहरुमा ट्युमर हुँदै नहुने होइन, किशोरावस्थामा पाठेघरमा ट्युमर औँलामा गन्न मिल्नेहरुमा मात्रै देखापर्छ ।’

पाठेघरमा ट्युमर भन्नासाथ हामी आत्तिने गर्छौँ तर पाठेघरमा पलाउने ट्युमर क्यान्सर र नन् क्यान्सर गरी दुईथरी हुने डा. वैद्य बताउँछिन् । उनका अनुसार पाठेघरमा आवश्यकताभन्दा बढी कोषिकाहरु उत्पादन भएर ट्युमर बन्ने गर्छ । ‘पाठेघरमा देखिएका सबै ट्युमर क्यान्सर नै हुन्छ भन्ने छैन,’ उनले भनिन्, ‘पाठेघरमा मात्रै नभएर डिम्बाशयमा पनि ट्युमर आउन सक्छ ।’

डा. वैद्यका अनुसार डिम्बाशयमा क्यान्सर मुख्य तीन प्रकारका हुन्छन् । जर्म सेल ट्युमर अर्थात् किटाणु कोषिका ट्युमर डिम्बाशयमा रहेका अण्डा÷अण्डाको कोषिकामा उत्पन्न हुन्छ । यो खालको ट्युमर वयस्क महिलामा बढी देखिने गर्छ । केही किशोरीमा पनि यस्तो समस्या देखिने उनको भनाइ छ ।

यस्तै, डिम्बाशयकै एपथिलियल सेल क्यान्सर डिम्बाशयको बाहिरी भागबाट बाहिरी सतहमै आउने गर्छ । यो सबैभन्दा बढी पाइने प्रकारको क्यान्सर हो ।

स्ट्रनल ट्युमर भने डिम्बाशय वरपरको तन्तु र कोषिकाबाट उत्पन्न हुन्छ । विभिन्न प्रकारको ओभरी क्यान्सरको उपचार विधि पनि फरकफरक हुने उनी बताउँछिन् ।  

उनी भन्छिन्, ‘पाठेघरमा क्यान्सर ट्युमरका कारण नै हुन्छ । पाठेघरमा ट्युमर उमेरसँगै व्यक्ति अनुसार पलाउँछ । जस्तै किशोरावस्थामा, चालिस वर्ष कटेपछि वा महिनावारी सुकेपछि, महिनावारी सुक्ने बेलामा पनि ट्युमर पलाउन सक्छ ।’

उनकाअनुसार डिम्बाशयमा मासु पलाएको लामो समयपछि मात्रै थाहा हुन्छ । डिम्बाशयमा ट्युमर पलाउने समस्या युवादेखि वृद्धा उमेर समूहका महिलामा पनि देखिने उनले बताइन् । डिम्बाशयमा ट्युमर पलाउँदैमा सिधै क्यान्सर नहुने उनको भनाइ छ । उनले भनिन्, ‘एकथरी ट्युमर क्यान्सर नै हुन्छ भने अर्कोथरी ट्युमर क्यान्सर नहुन पनि सक्छ । यस्ता खालका ट्यिुमर वंशाणुगत पनि हुन सक्छ ।’

नन् क्यान्सर वाला ट्युमरमा कपालहरु पलाउने, पहेलो पानी जमेर बस्ने, फोहोरहरु जमेर पनि ट्युमर बनेको हुन सक्ने उनले बताइन् ।

के तपाई यस्तो भएको छ ?

किशोरी तथा महिलाहरुमा समयमै महिनावारी नहुँदा, महिनावारी हुँदा धेरै रगत बग्दा, महिनावारी हुने समयमा रगत देखा परिरहेमा, श्रीमान÷श्रीमतीबीच यौन सम्बन्धपछि योनी तथा पेट दुख्ने, बच्चा पेटमा नबस्ने समस्या भएमा आवश्यक परीक्षण गर्नुपर्ने उनी बताउँछिन् ।

यी समस्या देखिएर ट्युमर पलाएको पाइएमा क्यान्सरवाला ट्युमर हो वा नन् क्यान्सरवाला ट्युमर हो भन्ने पत्ता लगाएर आवश्यक उपचार गर्न उनको सुझाव छ । ‘पाठेघरमा ट्युमर देखिँदैमा जटिल खालको शल्यक्रिया गर्नु पर्छ भन्ने हुँदैन,’ उनले भनिन्, ‘ट्युमरको आकारसँगै लक्षणका आधारमा आवश्यकता अनुसार शल्यक्रिया गर्नुपर्छ ।’

डिम्बाशयमा आउने ट्युमर व्यक्ति अनुसार फरकफरक हुने भएकाले सोहीअनुसार उपचार गर्नुपर्ने उनले बताइन् । ‘साना टयुमर औषधि मार्फत पनि निको हुन सक्ने उनको भनाइ छ । यसरी निको नभएमा भने त्यसलाई निकाल्नुपर्ने उनले बताइन् ।

शल्य चिकित्सकहरुका अनुसार ७ सेन्टीमिटरसम्मको ट्युमरलाई औषधि सेवनबाट उपचार गर्न सकिन्छ । एडिनोमायोसिस नामक ट्युमर भएको खण्डमा औषधिमार्फत निको पार्न सकिने डा. वैद्यको भनाइ छ । यस्तै, फाइब्रोसिस ट्युमर भएमा शल्यक्रियमार्फत उपचार गर्न सकिने उनले बताइन् ।

क्यान्सरजन्य ट्युमर कस्तो हुन्छ ?

पाठेघर तथा डिम्बाशयमा पलाएका ट्युमरलाई सामान्य मान्दा क्यान्सरजन्य ट्युमर हुन सक्ने भएकाले चनाखो हुनुपर्ने डा. वैद्यको सुझाव छ । उनका अनुसार पाठेघर तथा डिम्बाशयमा ट्युमर यही कारणले नै आउँछ भन्ने आधार छैनन् । यद्यपि केही तत्वहरु छन् जसले गर्दा ट्युमर आउन सक्छ भन्ने मान्यता छ । जस्तै, वंशाणुगत कारण अनि शरीरमा इस्ट्रोजन हर्मोन बढी उत्पादन भएमा, हर्मोन रिप्लेसमेन्ट थेरापी लगायतबाट क्यान्सर हुने सम्भावना बढेर जान्छ । खानपान, मद्यपान तथा धुम्रपानका कारण पनि यस्तो समस्या आउन सक्ने उनको भनाइ छ ।

यस्तै, डिम्बाशयको क्यान्सरले पहिलो स्टेज अथवा चाँडैको अवस्थामा कुनै लक्षण नदेखाउन सक्ने उनको भनाइ छ । ‘डिम्बाशयको क्यान्सर हुँदा निश्चित लक्षणहरु देखिँदैन जसले गर्दा किशोरी तथा महिलाहरुले खासै ध्यान नदिँदा समस्या उत्पन्न हुने गरेको पाइन्छ,’ डा. वैद्यले भनिन् ।

ट्युमर भइ क्यान्सर हुँदा सामान्यतया तल्लो पेट दुख्ने, पेट बिना कारण बढ्ने, पेट फुलेको जस्तो हुने, अपच हुने, वाकवाक लाग्ने, चाँडै थाक्ने, श्वासप्रश्वासमा समस्या हुने, कहिलेकाहीँ पातलोले दिसा अनि कहिलेकाहीँ कब्जियत हुने जस्ता लक्षण देखिन सक्ने उनको भनाइ छ । कतिपयले यस्ता लक्षण देखा पर्दा ग्यास्ट्रिक भएको अनुमानका आधारमा औषधि सेवन गरेर बस्दा समयमै रोग पत्ता लाग्न नसक्ने र पछि त्यसले गम्भीर रुप लिने उनले सुनाइन् ।

यस्ता लक्षण देखिएमा वा आफूलाई केही शंका लागेमा तुरुन्त विशेषज्ञसँग परामर्श लिनुका साथै स्वास्थ्य परीक्षण गरी रोगबारे जानकारी लिन उनको आग्रह छ ।

उनी भन्छिन्, ‘क्यान्सरको उपचार स्टेजमा भर पर्छ । बिरामीको शारीरिक अवस्थामा पनि भर पर्ने भएकाले शंका लाग्नासाथ जाँच गराउनुपर्छ ।’ जति ढिला हुन्छ, त्यति नै उपचारमा चुनौती बढ्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप