शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरो परिपक्वता ‘चिसो मान्छे’ मा झन् बढी देखिन्छ’

कबड्डी ४’ झैं साथ र माया ‘चिसो मान्छे’ले पाउने दीपेन्द्रको आशा
बुधबार, ०१ असार २०७९, ०६ : ३४
बुधबार, ०१ असार २०७९

आफ्नो नामबाट दर्शकलाई हलसम्म डोर्याउने तागत राख्छन् निर्देशक दीपेन्द्र के खनाल । दर्शकको मनछुने फिल्म बनाउँदै आएका उनका अधिकांश फिल्म दर्शक र समीक्षक दुबैले रुचाएका छन् । प्रयोगवादी निर्देशकका रुपमा समेत चिनिने  खनालले ‘दी युगदेखि युगसम्म’ बाट फिल्म डेब्यु गरेका थिए ।

दर्जन बढी फिल्म निर्देशक गरिसकेका उनी ‘चपली हाइट’, ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता फिल्मबाट दर्शकका मनमा गहिरो छाप छोड्न सफल छन् । नेपाली फिल्मबाट प्राण हराउँदै गएको आरोप लाग्दै आएको छ । उनी भने आफूले हरेक फिल्ममा प्राण खोज्ने प्रयास गरेको सुनाउँछन् । सामान्य बिषयबस्तुमा पनि उत्कृष्ट फिल्म पस्किन माहिर खनाल निर्देशित पछिल्लो फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । प्रस्तुत छ, निर्देशक दीपेन्द्र के खनालसँग फिल्म ‘चिसो मान्छे’ र समग्र नेपाली फिल्मको बिषयमा केन्द्रीत रही गरिएको कुराकानीः

शुक्रबार रिलिज हुँदै गरेको ‘चिसो मान्छे’को तयारी कस्तो हुँदैछ ?

– मेरो तर्फबाट फिल्म रिलिज अगाडि गर्नुपर्ने तयारी सकिएको छ । फिल्म सेन्सर गरेर हलमा पठाउन इनकोड समेत भ्याएका छौ । प्रचारप्रचारमा पनि तीव्र गतिमा लागेका छौ ।

तर तपाईंको यस अघि बनेको अन्य फिल्मको तुलनामा ‘चिसो मान्छे’ को प्रचारमा केही कमी देखियो नि ?

– प्रचारमा केही कमी भएजस्तो मलाई लाग्दैन । जहाँ जहाँ जसरी प्रचार गरिनुपर्ने थियो,  त्यो गरिएको छ । हाम्रो कन्टेन्ट बेसको फिल्म हो । विभिन्न फन्डा र नेगेटिभ प्रचार गरेर फिल्म चलाउनुपर्छ भन्ने मेरो दिमागमा कहिल्यै बसेन । फिल्मको ट्रेलर, गीत लगायतका कन्टेन्टबाटै हो हामीले फिल्मको प्रचार गर्ने, त्यो गरेका छौं । हाम्रो प्रचारले सामग्रीले दर्शकमा फिल्मप्रति सकारात्मक सोच पैदा गरेको छ । त्यो हाम्रो लागि खुसीको कुरो हो ।

प्रायः सफल फिल्म दिएको हिसाबले ‘चिसो मान्छे’ का लागि कतिको ‘प्रेसर फिल’ गर्नु भएको छ ?

– मेरो कामको पाटो भनेको फिल्म निर्माण हो । त्यो इमान्दारीपूर्वक गरेको छु । जति गर्न सक्छु, त्यो गरेको छु जस्तो लाग्छ । त्यसैले खासै प्रेसर महसुस गरेको छैन । तैपनि फिल्मको रिजल्ट के हुन्छ भन्ने हुँदोरहेछ । फिल्म रिलिज भएपछि कस्तो प्रतिक्रिया आउँछ भन्ने कौतुहुलता छ । 

हरेक नयाँ फिल्म निर्देशकले राम्रो दाबी गर्छन् । तपाईंको दाबी पनि त्यही त होला नि ?

– हरेक नयाँ काम सबैले राम्रो भन्नु स्वभाविक हो । दर्शकले मलाई कसरी हेर्नु भएको छ भन्ने कुराले फरक पार्ने हो । हरेक फिल्म थपिदै जाँदा निर्देशकमा एउटा परिपक्वता देखिनुपर्छ । त्यो ममा देखिएको छ भन्ने लाग्छ । मैले फिल्म गर्दा दर्शकलाई ध्यानमा राखेर इमान्दार भएर काम गर्छु । मेरो परिपक्वता अन्य फिल्ममा भन्दा ‘चिसो मान्छे’ मा झन् बढी देखिन्छ । हामीले हरेक कामबाट सिक्दै जाने हो । सतप्रतिसत पूर्ण कोही हुँदैन ।

फिल्मको क्रेज बौद्धिक वर्गमा राम्रो देखियो, दर्शकको कस्तो रेस्पोन्स पाउला भन्ने लाग्छ ?

– ‘चिसो मान्छे’ सबै किसिमका दर्शकलाई ध्यानमा राखेर निर्माण भएको फिल्म हो । यो फिल्म सबैलाई राम्रो लाग्नेछ । यसमा आफ्नो माटोको कथा र सुगन्ध छ । यसलाई हाम्रो फिल्म भनेर गर्व गर्न सकिन्छ । म हरेक फिल्मबाट नयाँ किसिमका दर्शक हलसम्म डोर्याउँदै आएको ब्यक्ति हो । ‘आमा’ ले कहिल्यै हलमा उपस्थित नभएका दर्शक डोर्याएको थियो । फिल्मको प्रचार सामग्री सार्वजनिक पछिको प्रतिक्रिया हेर्दा यो फिल्मले पनि अहिलेसम्म हलमा कम पुग्ने गरेका दर्शकसमेत डोर्याउने छ भन्ने आशा छ । नयाँ दर्शक हलमा थपिनु मेरो लागि मात्र होइन, हरेक फिल्मका लागि सुखद हो ।

कस्तो फिल्म हो, ‘चिसो मान्छे’ ?

– ‘चिसो मान्छे’ एउटा पूर्ण नेपाली फिल्म हो । दर्शकले फिल्ममा आफ्नोपन, भाषा र कथा पाउनु हुनेछ । अहिलेसम्म आएका फिल्मभन्दा यो धेरै फरक छ । फिल्ममा दर्शकको मन छुनेदेखि, सिकाउने, बुझाउनेलगायत धेरै कुरा समेटिएका छन्, जसले हरेक मानिसलाई छुन्छ । फिल्मले दर्शकको मनजित्छ र फेरि मेरो प्रयास सफल हुनेछ भन्नेमा म आशावादी छु । 

बाजुराको लवज, भाषा समेट्न कतिको सहज भयो ?

– फिल्ममा बाजुराको लवज, वेशभुषालगायत धेरै चिज समेटिएको छ । भाषा संस्कृति भनेको पुरातत्व हो । त्यसमा हामीले ‘मिस्टेक’ गर्नु हुँदैन भन्ने कुरोमा म पहिले देखि नै सजग थिएँ । त्यसैले हामीले यो फिल्ममा जहाँको भाषा संस्कृति समेटेका छौं, त्यहाँको भाषा संस्कृतिमा दख्खल राख्ने ब्यक्तिहरुलाई सुरुदेखि नै टिममा राखेर काम गरेका छौ । 

सबै चिज रियालटी देखिनु पर्छ भनेर हामीले सुटिङ अगाडि त्यही ठाउँ पुगेर वर्कसप गर्यौ, पहिरन बनायांै । त्यसको अलावा छायांकनको दौरानमा नबिग्रियोस् भनेर पुरै अवधि विज्ञ ब्यक्ति त्यहीको स्पोर्टमा समेत राखेर काम गर्यौं । अहिले दर्शकले फिल्मको प्रचार सामग्रीमा प्रस्तुत भाषाबाट जसरी मज्जा लिइरहनु भएको छ, त्यसको पछाडिको कारण हाम्रो मिहिनेत लुकेको छ ।  

के ‘कबड्डी ४’ ले पाएजस्तो दर्शक यसले पनि पाउला ? 

– निश्चिय नै पाउने छ । ‘कबड्डी ४’ मा देखिएका दर्शक नेपाली फिल्मलाई माया गर्ने र राम्रा फिल्म मेकरलाई प्रोत्साहन गर्ने दर्शक हुन् । राम्रो नेपाली फिल्म अर्काे आउँछ भने ती दर्शक फेरि हलमा देखिनु नौलो कुरो होइन ।

जेठ र असार फिल्म व्यवसायको लागि राम्रो मानिदैन, तपाईंले किन बर्खे झरीको सिजन रोज्नुभयो ? 

– हामीले फिल्म रिलिजका लागि असार रोजेको होइन । कोरोना, स्थानीय निर्वाचन लगायतले सर्दै सर्दै असारमा आएको हो । राम्रो फिल्मका लागि असारले केही असर गर्दैन । जेठ, असारमा रिलिज भएका फिल्मले दर्शक पाउँदैनन् भन्ने होइन । त्यो हो भने जेठमा रिलिज भएको ‘कबड्डी ४’ ले किन दर्शक पायो त ? त्यसैले असारमा पनि फिल्मले दर्शक पाउँछ ।

वैदेशिक रोजगारीकोे बिषय नेपाली फिल्मका लागि नौलो होइन, त्यसमा ‘चिसो मान्छे’ ले कुन पाटो उठाएको छ ?

– ट्रेलर हेर्दा फिल्म वैदेशिक रोजगारीको कथामा भएको अनुमान गर्न सकिन्छ, त्यो स्वभाविक हो । फिल्मले उठाएको कथा र यसले देखाउन खोजेको कुरो अहिलेसम्म बाहिर नआएको बिषय हो । फिल्ममा दर्शकले कथाको नयाँ अनुभव गर्न पाउनुहुन्छ । मैले सधैँ दर्शकलाई नर्मल कथा भन्दा अलि पर रहेर फिल्म पस्किने गरेको छु । फिल्म आम दर्शकले अनुमान गरेको भन्दा भिन्न रहेको ठोकुवा गर्दछु ।

नेपाली फिल्म प्राणविहीन नभएको आरोप लाग्दै आएको छ । तपाईंको फिल्ममा त्यो प्राण भेटिन्छ त ?

– केहीलाई प्रतिनिधि घटना बनाएर समग्र फिल्मलाई त्यसो भन्नु उचित हुँदैन । फिल्म क्षेत्रमा सिरियस फिल्म मेकर पनि छन् । मेरो कुरो गर्ने हो भने जहिले पनि फिल्ममा प्राण खोज्ने काम गरेको छु । दर्शकलाई यो महसुस समेत भएको बिषय हो । नेपाली फिल्ममा प्राण हुँदैन भन्नेका लागि ‘चिसो मान्छे’ हेर्न आग्रह गर्छु । 

दर्शक बुझेको फिल्म मेकर भनेर तपाईंलाई भन्ने गरिन्छ, दर्शकको चाहनाको फिल्म कस्तो हो ?

– दर्शक सबै प्रकारका फिल्म चाहन्छन् । दर्शकको चाहना समयअनुसार फरक हुन्छ । दर्शकले यस्तो रुचाउँछन् भनेर भन्दा मेरो यो कथा भन्न जरुरी छ । समाजमा यस्ता कथा ल्याउनु आवश्यक छ भनेर काम गर्नु महत्वपूर्ण हो जस्तो म ठान्छु । किनभने दर्शकलाई यस्तो पनि छ भनेर बाटो देखाउने काम पनि हामीले गर्नुपर्छ ।

अन्तमा, दर्शकलाई के भन्न चाहनु हुन्छ ?

– लकडाउनपछि नेपालमा एकदमै धेरै विदेशी फिल्म भित्रियो र  हेरियो । अब नेपाली फिल्मको पालो हो । नेपाली फिल्म प्रतिको दर्शकको माया ‘कबड्डी ४’ बाट सुरु भएको छ । त्यस्तै साथ र मायाको अपेक्षा मैले ‘चिसो मान्छे’ बाट पनि गरेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप