बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बिमलाको अर्को विवाद, जसपादेखि संसद्‍सम्म लफडा !

मङ्गलबार, ३१ जेठ २०७९, २० : २०
मङ्गलबार, ३१ जेठ २०७९

आज २०७९ जेठ ३१ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा अर्थमन्त्रीलाई लिएर संसद्‍मा लफडा, संसद्‍मा मन्त्रीहरुको जवाफ, एकीकृत समाजवादी केन्द्रको समीक्षा बैठक, जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद, मन्त्री विमला वलीको तान्डव, अमेरिकासँग हुन लागेको सम्झौताबारे बहस लगायत छन् ।

संसद्‍मा फेरि लफडा

एमालेको अवरोध पछि संसद बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । विनियोजन विधेयकमाथिको छलफलका बाँकी प्रक्रिया बुधबारको बैठकमा जारी रहने सभामुख सापकोटाले जानकारी दिए । मंगलबारको बैठकमा नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग थियो । मालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

लफडामा माननीय विमला

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली फेरी अर्को लफडामा परेकी छन् ।  सांसद् हुँदादेखि पटक पटक लफडाको चर्चा आएकी विमला आज बिहान आफ्नो पीएसओसहित तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

समाजवादीको समीक्षा

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा स्थानीय चुनावबारे समीक्षा भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको प्रतिवेदनमा आधारित भएर छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘स्थानीय निर्वाचनको समिक्षा गर्न स्थायी कमिटी बैठक डाकिएको हो । बैठकमा पेश भएको प्रतिवेदनमाथि मंगलबार छलफल सुरु भएको छ’, नेता खनालले भने, ‘बैठक केही दिन चल्छ ।’ मंगलबारको बैठकमा तल्ला कमिटीबाट आएको चुनावी रिपोर्ट र नतिजाका आधारमा पार्टीलाई भएको फाइदा र बेफाइदाका बारेमा नेताहरुले धारणा राखेका छन् ।

‘समाजवादी केन्द्र’ बनाउने बहस

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच ‘समाजवादी केन्द्र’ बनाउने अभियानमा पार्टीका नेताहरू तीव्र रूपमा लागेका छन् । यो अभियानमा गोप्य रूपमा लागेका नेताहरूले ‘समाजवादी केन्द्र’ बनाएर आगामी निर्वाचनमा एमाले र काँग्रेसलाई टक्कर दिने प्रयास गरेका हुन् ।  त्यसका लागि पछिल्लो पटक तीनै दलका शीर्ष र दोस्रो तहका नेताहरूबीच घनीभूत ढङ्गले पटक पटक भेटवार्ता र संवाद भएका छन् । तर नेताहरूले यो विषयलाई गोप्य नै राख्न चाहेका छन् ।

जसपामा विवाद

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडादौड छ । त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि रहेका छन् । सोमबार जसपाका केही नेतालाई साथमा लिएर भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । उनका साथमा थिए, जसपाकै सांसद् एवं कार्यकारिणी सदस्यहरु राजकिशोर यादव र इस्तियाक राई । बाबुरामको साथमा महिन्द्र राय यादव पनि बालुवाटार जाने कुरा तय थियो । तर संसदमा उनले जवाफ दिनुपर्ने भएकाले उनी बालुवाटार गएनन् । बालुवाटार स्रोतका अनुसार भेटमा भट्टराईले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको विवादको विषयबारे जानकारी गराएका थिए । ‘हाम्रो पार्टीमा अहिले विवाद चलिरहेको छ, त्यो कुरा तपाईंलाई थाहै होला । पार्टीबाट केही कुरा तपाईं समक्ष आए सबैको सहमतिमा आएको छ कि छैन, त्यो हेरेर मात्र निर्णय गर्नुहोला,’ प्रधानमन्त्री देउवा समक्ष भट्टराईले राखेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।

क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ हट्यो

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।

बालेनको रिस

काठमाडौंँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको दुई दिने स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम बीचमै छाडेर हिँडेका छन् । उनीसँगै उपमेयर सुनिता डंगोल पनि बीचमै कार्यक्रम छाडेर काठमाडौं फर्किएकी छिन् । उक्त कार्यक्रममा सहभागीहरूबाट काठमाडौं महानगरपालिकाको आलोचना भएपछि उनीहरु काठमाडौं फर्किएका हुन् । कार्यक्रम मंगलबारसम्म चल्ने तय भएपनि उनीहरु सोमबार नै काठमाडौं फर्किसकेका छन् ।

अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग

 

प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए । 

 

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

 

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन पाउने व्यवस्था बन्द भएको हो ।

 

एकै दिन ३६ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन ३६ अंकको गिरावट आएको छ । आज कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ३६ अंकले घटेर १९ सय अंकको बिन्दुमा आइपुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप