बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विपद्मा उद्धारका लागि नेपाली सेनाद्वारा अभ्यास प्रदर्शन

मङ्गलबार, ३१ जेठ २०७९, १९ : २३
मङ्गलबार, ३१ जेठ २०७९

प्राकृतिक प्रकोपका घटनालाई मध्यनजर गर्दै पूर्वतयारी स्वरुप बैतडीमा नेपाली सेनाको हनुमानध्जव गुल्मले ‘मनसुन अभ्यास–२’को अभ्यास गरेको छ । विपद्को समयमा खोज तथा उद्धार कसरी गर्ने भन्नेबारे सन्देश दिन दशरथचन्द नगरपालिका–४ स्थित टुँडिखेलमा उक्त अभ्यास प्रदर्शन गरिएको हो । 

नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धार, आगलागीमा कसरी जोगाउने भन्नेबारे अभ्यास गरेको हो । सेनासँगै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र रेडक्रसकर्मीले अभ्यास गरेका थिए । बाढीपहिरोमा फसेकाको खोज तथा उद्धार, उपचार र राहतबारे अभ्यास गरिएको हो । मनसुन पूर्वतयारी र जिल्ला विपद् प्रतिकार्यसम्बन्धी बनेका योजनाको कार्यान्वयन गराउने उद्देश्यले कार्यक्रम गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खीलबहादुर रानाले जानकारी दिए । पहिरो र आगलागीका बेला नेपाली सेना उद्धार तथा प्रतिकार्यमा कसरी खटिन्छ भन्ने नमूना देखाइएको थियो । यसका साथै विपद्का बेला कसरी सुरक्षित हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा समेत नमूना प्रदर्शन गरिएको हो । 

धनजनको क्षतिलाई न्यूनीकरण गर्न अभ्यास गरिएको सेनानी रानाले बताए । वर्षायाममा बाढी डुबान एवं पहिरोजस्ता प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितलाई तत्काल उद्धार र राहतका लागि अभ्यासबाट मद्दत पुग्नेछ । उनले भने, “विपद् जुनसुकै अवस्थामा आउनसक्ने भएकाले सेना तयारी अवस्थामा रहेको र नागरिक–सेना सम्बन्ध नजिकको बनाउन यो कार्यले सहयोग पुग्नेछ ।’’

अभ्यासमा राष्ट्रिय सेवा दल (एनसीसी)का तालिम प्राप्त विद्यार्थी पनि सहभागी थिए । उनीहरुलाई सिकेको सीपको आधारमा  प्रकोपका घटना हुँदा खोज तथा उद्धार कार्यमा सहभागी गराउन सकिने छ । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रसिंह भारतीले सेनाले गरेको उक्त अभ्यासले विपद्को बेला उद्धार तथा प्रतिकार्यका लागि सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप