शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ पुग्यो बाबुराम भट्टराईको हस्ताक्षर अभियान ?

मङ्गलबार, ३१ जेठ २०७९, १९ : २४
मङ्गलबार, ३१ जेठ २०७९

जनता समाजवादी पार्टी नेपालमा आफ्नो बहुमत सिद्ध गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियानलाई फेरि ब्युँताएका छन् । स्थानीय तहको चुनावअघि पनि उनले पार्टीभित्र हस्ताक्षर अभियान चलाएका थिए । त्यतिबेला उनले पार्टीको बैठक बोलाउनका लागि दबाबस्वरुप हस्ताक्षर सङ्कलन गरेको प्रतिक्रिया दिएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक नबोलाएका कारण आफूहरूले हस्ताक्षर अभियानमार्फत बैठक बोलाउन दबाब दिन लागेको उनको भनाइ थियो । पार्टीमा देखिएको विवाद चुनावसम्म थाँती राख्ने सहमति भएसँगै त्यतिबेला उनको हस्ताक्षर अभियान सेलाएको थियो ।

चुनावमा पार्टीलाई सफल बनाउन हेडक्वाटर बनाएर अगाडि बढ्ने आन्तरिक सहमति भएको थियो । सो सहमति अनुसार काम नभएको भन्दै अध्यक्ष भट्टराईले पार्टीमा आफ्नो शक्ति देखाउनका लागि फेरि हस्ताक्षर सङ्कलन थालेको स्रोत बताउँछ ।

उनी निकट सांसद तथा नेताहरूले पार्टीको बैठक बोलाउन दबाब दिनका लागि हस्ताक्षर सङ्कलन भइरहेको बताएका छन् । जसपाकी सांसद अमृता अग्रहरीले भनिन्, ‘हस्ताक्षर सङ्कलन भइरहेको छ तर के प्रयोजनका लागि भन्नेबारे मलाई जानकारी छैन ।’

सांसद अग्रहरी अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट भएर पछिल्लो समय बाबुराम पक्षमा लागेकी छन् । अर्का सांसद रुही नाजले हस्ताक्षर सङ्कलन भइरहेको आफूले पनि सुनेको तर हालसम्म आफूसमक्ष त्यस्तो प्रस्ताव नआएको बताइन् । संसदीय दल स्रोत अनुसार हालसम्म ८ जना सांसदले बाबुराम भट्टराईको पक्षमा हस्ताक्षर गरिसकेका छन् । अन्य कतिपय सांसदले आवश्यक परेको अवस्थामा हस्ताक्षर गर्ने भनेर आश्वासन दिएको स्रोत बताउँछ ।

मन्त्री हेरफेरको चर्चा चलिरहेकाले कतिपय सांसद अहिले मन्त्री बन्ने लोभमा हस्ताक्षर गर्न तयार भइरहेका छैनन् । यद्यपि बाबुराम भट्टराई पक्षले उनीहरूलाई पनि फकाउने प्रयास जारी राखेको स्रोतको भनाइ छ ।

बाबुराम निकट एक नेताका अनुसार उपेन्द्र यादवलाई संसदीय दलबाट हटाउनका लागि हस्ताक्षर सङ्कलन भइरहेको छ । बहुमत सदस्यले हस्ताक्षर गरिसकेपछि संसदीय दलको नेताबाट उपेन्द्र यादवलाई हटाएर आफू नेता बन्ने दाउमा बाबुराम छन् । बाबुरामले कार्यकारिणी समिति र संसदीय दलमा आफ्नो बहुमत कायम गर्न सके पनि केन्द्रीय समितिमा बहुमत पुर्‍याउन भने कठिन देखिन्छ ।      

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप