सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि ब्युँतिदै ‘समाजवादी केन्द्र’ बनाउने बहस

मङ्गलबार, ३१ जेठ २०७९, १९ : १४
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच ‘समाजवादी केन्द्र’ बनाउने अभियानमा पार्टीका नेताहरू तीव्र रूपमा लागेका छन् । यो अभियानमा गोप्य रूपमा लागेका नेताहरूले ‘समाजवादी केन्द्र’ बनाएर आगामी निर्वाचनमा एमाले र काँग्रेसलाई टक्कर दिने प्रयास गरेका हुन् ।  त्यसका लागि पछिल्लो पटक तीनै दलका शीर्ष र दोस्रो तहका नेताहरूबीच घनीभूत ढङ्गले पटक पटक भेटवार्ता र संवाद भएका छन् । तर नेताहरूले यो विषयलाई गोप्य नै राख्न चाहेका छन् ।

स्रोतका अनुसार आगामी मङ्सिर मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले समाजवादी केन्द्र निर्माणको पहल थालेका हुन् ।

त्यसका लागि माओवादी केन्द्रबाट नेता वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट नेता झलनाथ खनाल, डा. बेदुराम भुसाल लगायतले नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता बनाएको उनीहरू निकट श्रोतको दाबी छ । समाजवादी केन्द्र बनाउने अभियानमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तियाक राई समेत सक्रिय रूपमा लागेका छन् ।

‘समाजवादी केन्द्र बनाउन तीन दलका नेताहरूबिच पटक पटक संवाद भइरहेको छ, तर ठोस सहमति जुटिसकेको छैन’, जनता समाजवादीका एक केन्द्रीय कार्यकारिणी सदस्यले रातोपाटीसँग भने, ‘समाजवादी केन्द्र बनाउने चर्चा एक वर्ष अघि देखिबाट भए पनि अहिले त्यसले साकार रूप पाउला जस्तो छ ।’

दोस्रो तहका नेताहरूको सक्रियतासँगै यी तीन दलका शीर्ष नेताहरूबिच पनि समाजवादी केन्द्रबारे कुराकानी तीव्र ढङ्गले भइरहेको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव निकट एक नेताका अनुसार माओवादी अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र समाजवादीका अध्यक्ष यादवबीच गत शुक्रबार भएको भेटवार्तामा पनि समाजवादी केन्द्र गठनबारे एक घण्टा कुराकानी भएको छ । ती नेता भन्छन्, ‘सोमबार माओवादी अध्यक्ष प्रचण्ड बर्दियाबाट फर्केपछि पनि तीन नेताबीच यसबारेमा छलफल भएको छ ।’

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले समाजवादी केन्द्र बनाउने विषयमा नेताहरूबिच संवाद भएको पुष्टि गरे पनि छलफल कसरी अघि बढिरहेको छ भन्नेबारे खुलाएनन् । उनले यो बहस पहिलेदेखि नै भएको भन्दै यस्तो बहस राजनीतिक वृत्तमा चल्नु स्वाभाविक रहेको प्रतिक्रिया दिए । ‘राजनीतिक रूपमा यस्ता बहस हुनु स्वाभाविक नै हो । तर अहिले ठोस कुनै प्रगति भइसकेको छैन’, बस्नेतले रातोपाटीसँग भने ।

किन आवश्यक छ समाजवादी केन्द्र ?

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा नेपाली काँग्रेसले अन्य घटकलाई ‘अण्डरस्टिमेट’ गरेकाले काँग्रेस इतरका नेताहरू आगामी निर्वाचनमा समाजवादी केन्द्र बनाएर जान उपयुक्त हुने निष्कर्षमा पुगेका हुन् ।

‘स्थानीय निर्वाचनमा काँग्रेसले अन्य दललाई पेल्ने रणनीति लिएको देखियो । अब मङ्सिर मा हुने निर्वाचनमा पनि काँग्रेस सुध्रने लक्षण छैन’, नेकपा समाजवादीका एक शीर्ष नेताले भने, ‘तीनै पार्टी मिलेर समाजवादी केन्द्रमार्फत आगामी निर्वाचनमा साझा उम्मेदवार बनाएर निर्वाचनमा गए काँग्रेस र एमाले दुवैलाई ‘काउन्टर’ दिन सकिन्छ भन्ने हो ।’ ती नेताका अनुसार तीन पार्टीका शीर्ष नेताहरूले दोस्रो तहका नेताहरूलाई वातावरण बनाउन दिएको निर्देशन अनुसार पछिल्ला भेटघाट र छलफलहरू भइरहेका छन् ।

‘शीर्ष नेताहरू आफ्नै ढङ्गले लाग्नु भएको छ । त्यसपछि दोस्रो तहका नेताहरू देशभर तीनै पार्टीको संगठनको अवस्था, जनतमको विश्लेषण र समाजवादी केन्द्र बनाउँदा हुने फाइदाका बारेमा मिहिन अध्ययन भइरहेको छ’, उपेन्द्र यादव निकट जनता समाजवादीका एक नेताको भनाइ छ । उनले समाजवादी केन्द्र बनाउन सके र त्यसको माध्यमबाट आगामी संसदीय चुनावमा जाँदा स्थानीय चुनावमा भन्दा बढी फाइदा हुने आफ्नो पार्टीको विश्लेषण रहेको बताए ।

‘पाँच दलीय गठबन्धन भनेपनि हामीलाई स्थानीय चुनावमा कुनै फाइदा भएन । माओवादी र नेकपा एसको पनि विश्लेषण उही छ । बरु अव काँग्रेसलाई ठुलो बनाउनुभन्दा हामी आफ्नै सामर्थ्यमा किन अघि नबढ्ने ?’, ती नेताले आफ्नो नाम नखुलाउने सर्तमा भने, ‘समाजवादी केन्द्र बनाउने कुरामा कसैको पनि विमति नभएकाले चाँडै टुङ्गोमा पुगिन्छ र गठन पनि हुन्छ ।’

बाबुरामले वर्ष दिनअघि थालेका थिए बहस

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गत वर्षको साउन महिनामै समाजवादी केन्द्र बनाउने बहस थालेका थिए । त्यसवेला उनले ट्वीट गर्दै लेखेका थिए– ‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह ः मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो ? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला ? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि ?’

जतिवेला डा. भट्टराईले यो बहसको प्रारम्भ गरेका थिए, ठिक त्यसैबेला नेकपाबाट छुट्टिएर अलगथलग भएका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सरकार भर्खरमात्र बनेको थियो । त्यसवेला एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सङ्घर्ष गरेर देउवा नेतृत्वको सरकार बन्दै थियो । जसले नेताहरूलाई तत्कालै अर्को गठबन्धन बनाउन कठिन थियो । तर अहिले समय र परिस्थिति फरक भइसकेकाले पनि समाजवादी केन्द्रका लागि नेताहरूलाई सक्रियता बढाउन सहज भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप