शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच दलको गठबन्धन सम्मानजनक भएन : खनाल

मङ्गलबार, ३१ जेठ २०७९, १९ : ०५
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा (एकीकृत (समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रीय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो । 

सचिवालयको तर्फबाट प्रस्तुत सो समीक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनले प्रतिवेदनमा नेताहरूले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको समेत बताए । खनालका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ । 

सम्मानित नेता खनालले भने, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समीक्षा बैठक हो यो । समीक्षा सम्बन्धी एउटा प्रतिवेदन तयार भएको छ । यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ । छलफल हुँदैछ । र, यो समीक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दा खेरी आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं । त्यो क्रम जारी छ ।’ बैठक भोलि (बुधबार) पनि जारी रहने र निर्वाचनको समीक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप