शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विपदले दुई महिनामा ६५ जनाको मृत्यु, ५१ करोडभन्दा बढीको आर्थिक क्षति

मङ्गलबार, ३१ जेठ २०७९, १८ : ३७
मङ्गलबार, ३१ जेठ २०७९

पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि  जेठ ३१ गते विहान १० बजेसम्मको अवधिमा उनीहरुले ज्यान गुमाएका हुन् । 

पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश र जनावरको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।  पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना वेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् । दुई महिनामा विपद्का घटनाबाट ८९९ परिवार प्रभावित भएका छन् । 

विपद्का घटनामध्ये पहिरोमा परी ६, चट्याङ लागेर २६, सर्पको टोकाइबाट ३, आगलागीमा परी १४, हावाहुरीमा परी ८ र जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । वैशाख र जेठमा विपद्का घटनाका कारण राज्यले ५१ करोड २८ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाले २०७९ साल सुरु भएयता हालसम्म ४६ करोड ७२ लाख ८४ हजार १६० रुपैयाँको आर्थिक क्षति गरेको छ । 

सो अवधिमा पहिरोका कारण ४६ लाख १० हजार रुपैयाँ, बाढीका कारण ४ लाख ३५ हजार रुपैयाँ, भारी वर्षाका कारण ११ लाख ४५ हजार ५ सय रुपैयाँ, चट्याङका कारण ११ लाख ३३ हजार रुपैयाँ, जंगल आगलागीका कारण १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण २ करोड ५० लाख ७९ हजार ८ सय रुपैयाँ र जनावरको आक्रमणबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप