आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको चुनावी क्षेत्रमा चुनाव लड्ने डा. आचार्यको तयारी

मङ्गलबार, ३१ जेठ २०७९, २१ : ००
मङ्गलबार, ३१ जेठ २०७९

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र व्यक्तिहरुले धमाधम उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । पछिल्लो पटक काठमाडौंबाट चुनाव लड्ने घोषणा गर्ने स्वतन्त्र उम्मेदवारहरूको लहर नै चल्न थालेको छ ।

यसरी चुनावको मिति नै घोषणा नभइ स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि कतिपयले दलहरूको भविष्यमाथि नै चिन्ता प्रकट गर्न थालेका छन् । तर दलका नेताहरुले भने दलको विकल्पमा स्वतन्त्र व्यक्तिहरु हुनै नसक्ने दावी गर्दै आएका छन् । यसै क्रममा साझा विवेकशीलका पूर्वनेता समेत रहेका पूर्वाधारविद डा. सूर्यराज आचार्य पनि आगामी मंसिरमा हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका छन् । चितवन ३ नम्बर निर्वाचन क्षेत्र घर भएका आचार्य पछिल्लो समय चितवनमा निकै सक्रिय समेत रहेका छन् । चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र हो । २०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

‘चितवन मेरो गृह जिल्ला हो । त्यहाँ मेरो सक्रियता हुने नै भयो’, उनले भने, ‘आगामी निर्वाचनमा मैले स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएपनि काठमाडौं १ वा चितवनमध्ये कहाँबाट निर्वाचन लड्ने भन्ने टुंगो लागिसकेको छैन ।’ आचार्यले दुवै ठाउँको जनमतबारे अध्ययन गरिरहेको समेत बताए । आचार्य ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट चुनाव लडेका थिए । काठमाडौ २ माधव नेपालको निर्वाचन क्षेत्र भनेर समेत चिनिन्छ । त्यसबेला आचार्यले ७ हजार ४३७ मत ल्याउँदा माधव नेपालले २७ हजार ३६६ मत ल्याएर निर्वाचित बनेका थिए । स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. आचार्य जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि प्राप्त हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप