शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग

मङ्गलबार, ३१ जेठ २०७९, १७ : ०६
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थ मन्त्रालयमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर भएको विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले आगामी आर्थिक वर्षको बजेट वक्तव्य आफूहरुले शिष्टतापूर्वक बसेर सुनेको स्मरण गराए । त्यो बेलासम्म आफूहरुलाई अर्थ मन्त्रालयमा आधिकारिक मान्छे पन्छाएर अनधिकृत व्यक्तिलाई प्रवेश गराई बजेट निर्माणका क्रममा भएका अनियमितताबारे थाहा नभएको उनले बताए ।

उनले खास घरानाका व्यक्तिको घरमा बसेर उनीहरुको हितमा बजेट बनाएको आफूहरुलाई उतिबेलै आभास भएको पनि बताए । उनले अर्थमन्त्रीलाई लक्षित गर्दै अगाडि भने, ‘जतिसुकै टालटुल गर्ने प्रयास गर्नु, अर्थतन्त्रको सूचकांकले देश उधो गतिमा गएको प्रस्ट भनिरहेको छ ।’

उनले राज्यको करको दर तोक्न अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको घटना दुनियाँमा कहीँ नभएको पनि बताए । उनले उक्त दिनको सीसीटीभी फुटेज मगाउन सभामुखसमक्ष आग्रहसमेत गरे । ‘अर्थमन्त्रीले होइन भन्नु भएको छ, हो भन्न त सक्दै सक्नुहुन्न,’ उनले भने, ‘राति अनधिकृत मान्छे त्यहाँ प्रवेश गरेका छन्, म नाम लिन चाहन्न । यो भन्दा राष्ट्रघात अर्को हुन सक्दैन ।’ संसदीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप