शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बाढीले क्षति नगरे वर्षा सकिएलगत्तै मेलम्चीको पानी काठमाडौं आउँछ : मन्त्री चौधरी

मङ्गलबार, ३१ जेठ २०७९, १५ : ५६
मङ्गलबार, ३१ जेठ २०७९

खानेपानी मन्त्री उमाकान्त चौधरीले वर्षायाममा बाढीले आयोजन स्थलमा क्षति नगरे वर्षा सकिएलगत्तै काठमाडौंमा मेलम्चीको पानी आउने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै मन्त्री चौधरीले वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिए बितिकै पानी सञ्चालन गर्न सकिने बताएका छन् । 

मन्त्री चौधरीले मेलम्ची जलाधारमाथि करोडौं घनमिटर गेग्रान थुप्रिएर बसेको बताए । वर्षाको बेला लेदोको रुपमा बग्ने सम्भावना रहेको र त्यस्तै लेदोको कारण हेडवक्र्स पुरिएको, सुरुङमा पसेको लेदोसमेत सफा गरी केही समय पानी सञ्चालन समेत गरिएको बताए । उनले अर्बौंको लगानीमा निर्मित सुरुङको सुरक्षाका लागि जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्को सुझाव, अर्ली अर्लाम सिस्टम र विज्ञहरुको सल्लाहका आधारमा मेलम्ची खानेपानी आयोजना वर्षायामसम्मका लागि बन्द गरिएको जानकारी दिए ।  वर्षाको समयमा सुरुङलाई थप क्षति हुनबाट जोगाउन सकेमा वर्षा सकिएबितिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना रहेको उनले सुनाए । 

मेलम्चीबाट पानी नआउने बेला वैकल्पिक खानेपानीको व्यवस्था गर्ने बताए । मन्त्री चौधरीले भने,‘सो अवधीमा काठमाडौंवासीलाई पानीको अभाव हुन नदिन बागमती नदीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठाउने, केयूकेयल अन्र्तगतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतहरुको पानी उपयोग गर्ने काम भइरहेको छ । मेलम्ची जलाधार क्षेत्रको अध्ययन एसियाली विकास बैंकको टोलीले गरिरहेको छ । अध्ययन अनुसार पहिरो न्यूनिकरणका कार्यक्रमहरु आगामी आर्थिक वर्षबाट काम गर्न बजेट व्यवस्था गरिएको छ ।’

उनले मेलम्ची खानेपानीको पुरक र विकल्पको रुपमा काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थाका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउनेबारे योजना बनिरहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप