शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किन एकाएक बढ्यो नारायणकाजीको दौडधुप ?

बालकोटदेखि डल्लुसम्म भेटवार्ता र छलफल
मङ्गलबार, ३१ जेठ २०७९, १४ : ०४
मङ्गलबार, ३१ जेठ २०७९

व्याख्यात्मक घोषणासहित संसद्‍बाट एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयपछि मौन प्रायः रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक राजनीतिक दौडधुप तीव्र पारेका छन् । यसक्रममा उनले जेठ २९ गते आइतबार साँझ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालकोट पुगेर करिब २ घण्टा लामो छलफल गरे । नेकपा विभाजनपछि सम्भवतः एकै मञ्चमा समेत नउभिएका यी दुई नेताबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।  

ओलीलाई भेटेको भोलिपल्ट जेठ ३० गते सोमबार श्रेष्ठ एमालेबाटै अलग भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्न पुगे । ओली र नेपालसँगको भेटवार्तापछि श्रेष्ठले मंगलबार बिहान् (जेठ ३१ गते) नेकपा एकीकृत समाजवादीकै सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालसँग उनकै निवास डल्लु पुगेर करिव एक घण्टा भेटवार्ता र छलफल गरेका छन् ।

श्रेष्ठको पछिल्लो दौडधुप र नेताहरुबीच भएको छलफलको विषयवस्तु र अन्तर्य भने प्रस्ट भैसकेको छैन । यद्यपि, स्थानीय निर्वाचन सम्पन्न भएर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने चर्चा भइरहेका बेला नेता श्रेष्ठको सक्रियता र दौडधुपलाई लिएर कतिपयले वाम गठबन्धनको ‘वार्मअप’ प्रयासका रूपमा अथ्र्याएका छन् छन् भने कतिपयले वर्तमान सरकारले लिएको गलत विदेश नीति सच्चाउने पहलका रूपमा रहेको बताएका छन् । 

नेता श्रेष्ठले आफ्नो पछिल्लो भेटवार्ता र कुराकानी भएको पुष्टि गरे पनि छलफलको ठोस विषयवस्तुबारे भने खुलाउन चाहेनन् । ‘समग्र राजनीतिक परिस्थिति र नेपालको लोकतान्त्रिक आन्दोलनका बारेमा सबै नेताहरूसँग कुराकानी भएको हो’, श्रेष्ठले रातोपाटीसँग भने ।

उनले ओलीसँगको भेटमा वाम गठबन्धनबारे कुनै छलफल नभएको जिकिर समेत गरे । ‘ओलीसँगको भेटमा वाम गठबन्धनका बारेमा कुनै छलफल र कुराकानी भएको छैन, भ्रममा नपर्नुस्’, श्रेष्ठको भनाइ छ । त्यसो त नेता श्रेष्ठ हालको सत्ता गठबन्धनसँग सन्तुष्ट नरहेको उनी निकट नेताहरूले बताउने गरेका छन् ।

‘विचार र सिद्धान्त मिल्नेहरुसँगकै गठबन्धन वा एकता हुनुपर्छ भन्ने मान्यता राख्नु अस्वाभाविक होइन । नेता श्रेष्ठ पनि त्यो मान्यताबाट फरक हुनुहुन्न तर समय महत्त्वपूर्ण हो’, श्रेष्ठ निकट माओवादीका एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘अहिलेको विषय वाम गठबन्धनभन्दा पनि अरू महत्त्वपूर्ण विषय छलफलका विषय बन्न सक्छन् ।’

ती केन्द्रीय सदस्यका अनुसार नेता श्रेष्ठको भेटवार्ता र छलफल पनि पछिल्लो समय नेपालसँग जोडिएर आएको भूराजनीतिक समस्या र राष्ट्रियता स्वाधीनताको सवाललाई केन्द्रविन्दुमा राखेर छलफल भएको हुनसक्छ । एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने आशंकासहित सरकारमाथि प्रश्न र तर्कहरु उठिरहेका बेला नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्न अमेरिकाले गरेको प्रस्तावको मस्यौदासमेत बाहिरिएको छ । यसबारे प्रमुख प्रतिपक्षले संसदमै प्रश्न उठाइसकेको छ ।

एसपीपी कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्ष एमालेलेमात्रै नभई सत्तारुढ दल माओवादी केन्द्रकै नेताहरूले समेत प्रश्न गर्दै विरोध गरिरहेका छन् । सार्वजनिक भएको उक्त प्रस्तावअनुसार सो सम्झौता नेपालको रक्षा मन्त्रालय र अमेरिकाको रक्षा मन्त्रालयमार्फत हुनेछ । जानकारहरुका अनुसार अमेरिकाले नेपाललाई सन् २०१५ मा नै एसपीसी कार्यक्रममा सहभागिताको लागि आग्रह गरे पनि नेपालले हालसम्म त्यसमा सहमति जनाइसकेको थिएन । अमेरिकाको यो प्रस्ताव बाहिरिएसँगै नेता श्रेष्ठको दौडधुप सोही प्रस्तावकाविरुद्ध राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा समेत हेरिएको छ ।  

एमसीसीका खरो आलोचक मानिने श्रेष्ठ २०७८ फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्‍बाट एमसीसी अनुमोदन गर्दापनि पार्टी अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’सँग सन्तुष्ट हुन सकेका थिएनन् । हाल काँग्रेसको नेतृत्वमा माओवादीसहित ५ दलीय गठबन्धनको सरकार छ । राष्ट्रियताको मुद्दामा केपी ओली नेतृत्वको सरकार कमजोर भएको आरोपसहित त्यसको विकल्पमा बनेको वर्तमान गठबन्धन सरकारले लिएको विदेश नीति थप कमजोर साबित हुँदै गर्दा असंलग्न परराष्ट्र नीति लिएको स्वतन्त्र मुलुक नेपालमाथि पश्चिमा हस्तक्षेप बढ्ने र युक्रेन बन्ने विश्लेषणहरू भइरहेका छन् । यसबाट छिमेकी मुलुक चीन समेत सन्तुष्ट हुन नसकेको जानकारहरूले बताउन थालेका छन् ।

राष्ट्रियताको सवालमा सबै सकारात्मक !

श्रेष्ठ र नेताहरुबीचको भेटवार्ता र छलफलमा राष्ट्रियता जोगाउने सवालमा सबै भेटेका सबै नेताहरू सकारात्मक रहेको आफू निकटका नेताहरूलाई बताउने गरेका छन् । तर त्यसका लागि अवलम्बन गर्ने बाटो भने पहिचान भइनसकेकाले त्यसका लागि लगातार छलफल र भेटवार्ता हुँदै जाने श्रेष्ठको भनाइ छ । ‘राष्ट्रियता जोगाउने सवालमा सबै सकारात्मक छन्, तर कुन बाटो अवलम्बन गर्ने भन्ने पहिचान गर्न बाँकी नै छ,’ श्रेष्ठ निकट नेताहरूको भनाइ छ ।  नेता लिलामणि पोखरेल राष्ट्रिय स्वाधीनताको विषय अत्यन्त जटिल अवस्थामा पुगेको बताउँछन् । तत्काल र यही अवस्थामा वाम गठबन्धन वा एकता हुने सम्भावना नरहे पनि परिस्थितिले त्यो स्थिति नआउला भन्न सक्ने अवस्था नरहेको पोखरेलको भनाई छ ।

‘वाम गठबन्धन सामान्य कुरा हो विगतमा हामीले पार्टी नै एकता गरेको हो तर अहिले जस्ताको तस्तै भइहाल्छ भन्ने कुरा होइन’, पोखरेलले ओलीप्रति सङ्केत गर्दै रातोपाटीसँग भने, ‘उहाँको चिन्तन, स्वभाव, अहंता, जस्ता कुरा एकताका बाधक हुन् । यदि त्यसमा सच्चिने हो भने नगर्ने भनेर भनेकै होइन, गरेर पार्टी नै एउटै बनाएको हो ।’

उनले पछिल्लो समय एसपीपी प्रस्तावबारे बाहिर आएको मस्यौदा एमसीसीको एक रुप भएको भन्दै डरलाग्दो गल्ती भइरहेको बताए । ‘यसमा ब्लण्डर हुँदैछ । हामीले पहिलेदेखि भन्दै आएका हौँ । यस्तो अब सोफा एग्रिमेन्टलगायतका अरू धेरै सिरिजका रूपमा आउँदैछ’, पोखरेलले भने, ‘हाम्रो राष्ट्रियतामाथि झन्झन् खतरा आउँदैछ ।’ उनले नेपालको राष्ट्रियता जोगाउने हो भने संसद्बाट पास भएको एमसीसी त्यहीबाट उल्ट्याउनुपर्ने बताए । ‘तर अहिले भनेको त्यो दिशामा नजाऊँ भनेर रोक्ने हो, यदि रोक्न सकिँदैन भने विकल्पको रूपमा सोच्नुपर्ने हुन्छ,’ पोखरलले थपे, ‘अब सरकार कि हाम्रो स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता प्रमुख भनेर सोच्नुपर्ने बेला आयो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप