बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीको ‘६ ब’ सिद्धान्त : के भन्छन् सरोकारवाला ?

मङ्गलबार, ३१ जेठ २०७९, १३ : २८
मङ्गलबार, ३१ जेठ २०७९

कर्णाली प्रदेश सभाको स्मारिका वर्ष २०७६ मा ‘यसरी सम्भव छ कर्णालीको समृद्धि’ भनेर कर्णाली प्रदेशका जीवनबहादुर शाहीले ‘६ब’ को व्याख्या गरे । जति बेला उनी प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा थिए, उनी साबिक कर्णाली क्षेत्रको वर्तमान अवस्थालाई सुधार नल्याई कर्णालीको समग्र परिवर्तन गर्न सकिन्छ भनेर हौसिनु मूर्खता हुन जान्छ भनेर सरकारको चर्को आलोचना गरिरहन्थे । 

‘कर्णालीको विकासका लागि मुख्य जिम्मेवारी प्रदेश सरकारको काँधमा छ । आजसम्म केन्द्रीय सरकारले विभेद गर्‍यो । हामीले जस्तो विकास गर्न पाएनौँ भनेर आवाज निकाल्दै आयौँ । अब केन्द्रलाई धारे हात लगाएर बस्ने परिस्थिति छैन । अरूलाई आरोप लगाएर बस्ने सुविधा हामी कसैमा छैन । किनकि यहाँको वास्तविक भूगोल, समस्या तथा आवश्यकता र यहाँ रहेको प्रचुर अवसरलाई पहिचान गर्न सक्नुपर्छ । कर्णाली रूपान्तरणका लागि अब पनि गफ गरेर, नारा मिलाएर, ताली पिटेर, सरकार कान नसुन्ने, आँखा नदेख्ने, विचारहीन र विवेकहीन हुनु हुन्न । कर्णाली प्रदेशको विकासको मोडालिटी परिवर्तन गर्न जरुरी छ,’ उनको भनाई थियो । 

उनले विकसित र समृद्ध कर्णाली बनाउन ६ वटा ‘ब’ को कुरा उठाएका थिए । ६ ब’ को सूत्र भनेको बाटो, बिजुली, विचार, वन सम्पदा, बजार र व्यवस्थापन हुन् । उनले विकासलाई चलायमान बनाउन आधुनिक युग सुहाउँदो बाटो चाहिने तर्क गरेका छन् । तर हाल कर्णालीको मुख्यमन्त्री रहेका शाहीको गृह जिल्लामा नै अझै राष्ट्रिय सडक सञ्जाल पुग्न सकिरहेको छैन । 

उता २१ हजार मेगावाट जलविद्युत उत्पादन हुन सक्ने क्षमता रहेको कर्णालीमा जम्मा ४ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ । ‘दक्षिणतिर पानी बगेको बग्यै छ, जलस्रोतको अथाह सम्भावना बोकेको प्रदेश भनेर अस्मिताको नारा लगाइरहेका छौँ,’ उनले प्रतिपक्षको भूमिकामा रहँदा सरकारलाई सुझाव दिन्थे । 

सत्तामा आएपछि पनि शाहीले पटक–पटक यही कुरा उठाउँदै आएका । 

सोही अनुरूप आर्थिक वर्ष २०७९–८० नीति तथा कार्यक्रम उनले यही ‘६ ब’ सिद्धान्त अपनाए । नीति, कार्यक्रमको सुरुमै यही ‘६ ब’ नै हामी सबैको सहकार्य र सरोकार’ मूल उद्देश्य लिई विगत वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । 

शाहीको ‘६ ब’ सिद्धान्तमाथि अहिले विभिन्न खालका टिका–टिप्पणीहरू भइरहेका छन् । कतिपयले उनको सिद्धान्तमा शिक्षा, स्वास्थ्यका कुराहरू नसमेटिएको र अपुष्ट भन्दै आलोचना गरेका छन् । सत्ता पक्ष माओवादी, एकीकृत समाजवादी र काँग्रेसका नेताहरूले समर्थन जनाए पनि प्रतिपक्षले भने मुख्यमन्त्रीले चलाखीपूर्ण तरिकाले शब्द चयन गरेको भन्दै टिप्पणी गरिरहेको छ । 

प्रतिपक्षको हमला 

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले  मुख्यमन्त्री शाहीले ‘६ ब’ सूत्र चलाखीपूर्ण तरिकाले चयन गरेको बताए । दसौँ अधिवेशनको दसौँ बैठकमा बोल्दै कँडेलले भने,‘ नयाँ सिद्धान्त रहेछ । चलाखीपूर्ण शब्द चयन गरिएको छ । बाटो त बनेकै छैन । माटो त खोस्रिएकै छ । गन्तव्यमा त पुगिएकै छैन नि..।’ पहिलो ‘ब’ बाटोलाई लक्षित गर्दै कँडेलले मुख्यमन्त्री जीवन शाहीकै गृह जिल्ला हुम्लामा सडक नपुगेको कुरा उनले बताएका थिए । 

तीन वर्ष प्रतिपक्षको भूमिकामा रहँदा बोले अनुसार सत्ता पक्षमा आएपछि कर्णालीको विकास र समृद्धिको लागि केही नयाँ कुराहरू आउने अपेक्षा थियो, तर त्यो पाउन नसकिएको कँडेलको गुनासो थियो । साथै प्रतिपक्षसँग गरिएको सात बुँदे सम्झौता पत्र अलपत्र पारेको भन्दै उनले आलोचना गरे । हिजो तीन वर्षसम्म जति बोले पनि आज दिन बिताउने, झण्डा हल्लाउने हो भन्ने कुरालाई प्रमुख ठानेर नीति तथा कार्यक्रम आएको उनको भनाइ थियो ।

एमाले सचेतक गुलाबजङ्ग शाहले पनि ‘६ ब’ माथि टिप्पणी गर्दै भने, ‘विगतको सरकारले ‘समृद्ध कर्णाली सुखी कर्णालीवासी’ को नारा छँदैछ । त्यो अनुसार व्यवहारमा लागु भएको छैन । ब मात्रै थपेर बबाल खालको बजेट ल्याउने कुरा औचित्यहीन हो, समर्थन गर्न सकिँदैन ।’

पूर्व सामाजिक विकास मन्त्री दल रावलले पनि ‘६ ब’ हटाएर ‘६ स’ राख्न सुझाव दिए । उनले भने,‘ यसअघि अर्थमन्त्री ज्युले ‘६ स’को स्लोगन प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्री काँग्रेसको, अर्थमन्त्री माओवादीको भएर फरक–फरक आयो । फेरि गठबन्धन टुट्ला बरु ‘६ स’ नै राख्दा उपयुक्त हुन्छ । पहिलो कुरा सुशासन, सभ्यता, संरचना, साझेदारी, सहभागिता लगायतका कुराहरू पर्छन् ।’  

योजना आयोगको सोच २१ सय र पञ्चवर्षीय योजनाकै अङ्ग होः डा. रोकाया

प्रदेश योजना आयोगका पूर्व सदस्य डाक्टर दीपेन्द्र रोकाया ‘६ ब’ को सिद्धान्त योजना आयोगको सोच २१०० र पञ्चवर्षीय योजनाको अंगकै रूपमा लिन्छन् । उनी भन्छन्–‘उहाँ (मुख्यमन्त्री)ले पहिले देखिनै उठाउँदै आएकाले आफ्नो सिद्धान्त प्रयोग गर्नु स्वभाविक हो । मूलतः योजना आयोगले तयार गरेको सोच २१०० र प्रथम पञ्चवर्षीय योजनामा सात वटा प्राथमिकतामा तय भएका विषयवस्तुकै पेरिफेरीमा समेटिएको छ । उहाँको कुराहरू अघिल्लो सरकारको पालामा ल्याइएको सात प्राथमिकता, सोच २१०० मा केन्द्रित छ ।’ 

ब,ब,ब मिलाएर लोकप्रियता कायम गर्ने रणनीति मात्र हो : पीताम्बर ढकाल

नागरिक अगुवा एवं मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल ब,ब,ब पहिलो अक्षर मिलाएर लोकप्रियता कायम गर्ने रणनीति मात्र भएको टिप्पणी गर्छन् । ‘कसैको सिद्धान्तलाई कार्यान्वयन गर्ने भन्दा विशेषतः जनताको पक्षमा के काम गर्न सकिन्छ ? आवश्यकता के छ ? भन्ने कुरा महत्त्वपूर्ण हो । बाटो र विद्युत्को कुरा जुन छ, त्यो राम्रो हो,’ उनले भने,‘ सिद्धान्त मात्र अपनाउने तर कार्यक्रममा विद्युत्सम्बन्धी कुनै रूपान्तरणकारी योजना त समेटिएकै छैनन् नि..! सिद्धान्त प्रतिउत्पादन गर्नु मात्र ठुलो कुरा होइन, कार्यान्वयनको प्रभावकारी भूमिकालाई महत्त्व दिने हो ।’ 

ढकालले मुख्यमन्त्री शाहीको सिद्धान्त अपुष्ट जस्तो भएको टिप्पणी गरे । बजारको कुरा गर्नुभएको छ । तर उत्पादन नै छैन, बजारको कुरा गरेर के अर्थ भयो र ?  हाम्रो शरीरबाहेक सबै कुरा विदेशी नै हो,’ उनले भने,‘ त्यो भन्दा पहिला त शिक्षा, दीक्षा दिनुपर्‍यो नि..! स्वास्थ्यको कुरा उठाइएको देखिँदैन,’ उनले भने, ‘कर्णालीका लागि महत्त्वपूर्ण कुरा र आवश्यकता त यी हुन्, खोइ कहाँ छन् ?’ 

‘कर्णालीका उद्योग, कलकारखानाहरू स्थापना गरेर रोजगारीका अवसरहरू जुटाउनुपर्ने देखिन्छ । त्यो बारे खोइ त त्यहाँ बोलेको ? ढकालले प्रश्न गरे  ।

मुख्यमन्त्री शाही भन्छन्, ‘सबै कुरा पोलिसीभित्र आउनुपर्छ भन्ने छैन’ 

मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘६ ब’ एउटा नीति भएको बताए । त्यो नीति भित्र सबै कुरा आउनुपर्छ भन्ने छैन,’ ६ ब बारे उठेका प्रश्नको जवाफ दिँदै भने,‘यो ब भनेको आज मात्र होइन २० औँ वर्ष अघिदेखि कर्णालीको विकास र समृद्धिका लागि हो । यहीभित्र रहेर अघिको सरकारले काम गरेको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप