शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले अर्थमन्त्रीको विषय संसद्लाई जानकारी गराउन एमालेकाे माग

मङ्गलबार, ३१ जेठ २०७९, ११ : ५८
मङ्गलबार, ३१ जेठ २०७९

नेकपा(एमाले)का सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रूपमा पदमा बस्न नमिल्ने बताए । 

उनले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानबिन हुनुपर्ने बताए । सांसद पाण्डेले यस विषयमा संसद्ले पनि कदम चाल्नुपर्ने बताए । उनले भने – ‘यति गम्भीर प्रश्न उठेपछि नैतिक रूपले अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसद्लाई चाहिन्छ । म प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहन्छु, यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनु पर्छ कि पर्दैन ? यो केवल अर्थमन्त्रीको मात्रै विषय हो कि के हो ? यसको जानकारी संसद्लाई चाहिन्छ । नेकपा(एमाले)को तर्फबाट यो कुरालाई हामी गम्भीरतापूर्वक उठाएका छौँ । यसले देशमा खासगरी करको विषय ज्यादै गोपनीय विषय हो र राष्ट्रिय सुरक्षा जस्तै विषय हो । यस्ता गोपनीयताहरू बाहिर सार्वजनिक गर्ने र गोपनीयताहरूमा अझ साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरू गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । र संसद्ले यसबारेमा कदम चाल्नुपर्दछ । यसको जवाफ हामी चाहन्छौँ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ । हाम्रो दलको तर्फबाट पनि हामी त्यो कुरा भन्न चाहन्छौँ ।’

सांसद पाण्डेले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराए । उनले यस विषयमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसद्लाई जानकारी गराउन पनि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप