सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदामा बेथिति !

मङ्गलबार, ३१ जेठ २०७९, ११ : ४४
मङ्गलबार, ३१ जेठ २०७९

जेठदेखि हप्तामा २ दिन बिदा दिएको नेपाल सरकार आफ्नो निर्णयमा एक महिना पनि टिक्न सकेन । यही असारबाट पुनः आइतबारको बिदा काटिएको छ । नेपालमा सार्वजनिक बिदाको कुरा गर्नु भन्दा पहिला विश्वमा साप्ताहिक बिदा कसरी जन्मियो, यसबारे जानकारी पस्किँदै यो लेखको सुरुवात गरियो ।

आजभन्दा करिब ४ हजार वर्ष पहिलेको बेबिलोन सभ्यतामा मानिसहरु सौर्यमण्डलमा सात मात्र ग्रह रहेको विश्वास गर्दथे । सोही अनुसार ७ दिनको एक हप्ता एकाइ गणना गरेको अनुमान गरिन्छ । तथापि ईसापूर्व २५० देखिमात्र पश्चिमा क्यालेन्डरमा सात दिनको एक हप्ता कायम गरियो । जिउसहरुका अनुसार ईस ३० वा ३३ मा जिसस क्राइस्टलाई शुक्रबारदेखि तीन दिनसम्म क्रसमा झुण्ड्याइएको थियो । सोहीअनुसार शुक्रबार, शनिबार र आइतबार उनीहरुको लागि महत्वपूर्ण दिन भयो । क्रिश्चियनहरु प्रायः आइतबार चर्च जाने हुनाले पश्चिमा समाजमा आइतबार बिदा दिने प्रचलन सुरु भयो । आइतबार बिदाको दिन चर्च जाने, साथीभाईहरुसँग रमाईलो गर्ने गर्दा अधिकांश कामदार सोमबार कार्यस्थल नजाने समस्या बन्यो । त्यसको समाधानस्वरुप सोमबार समयमा नै काम गर्न आउने प्रतिबद्धता लिएर शनिबार आधा दिन बिदा दिन सुरु गरिएको इतिहास छ ।

सन् १९०८ मा न्यू इंग्ल्याण्ड मिलले हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने प्रचलनको सुरुवात गर्यो । १९३ संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रहरुमा १० ओटा राष्ट्रबाहेक अन्यमा हप्तामा २ दिन बिदा दिने चलन रहेको छ । यसमध्ये ७ राष्ट्रले आइतबार र ३ राष्ट्रले शुक्रबार बिदा दिन्छन् भने बाँकी राष्ट्रहरुले हप्ताको दुई दिन शनिवार र आइतवार बिदा दिदै आएका छन् । सार्क राष्ट्रहरुमा नेपालमा मात्र यही जेठ १ गतेबाट हप्ताको २ दिन बिदा दिन सुरु गरेको थियो । एक महिना पनि बित्न नपाउँदै नेपाल सरकार उक्त निर्णयबाट पछि हटेको छ ।

नेपालमा सार्वजानिक बिदालाई लिएर छलफल, चर्चा परिचर्चा हुँदै आएको वर्षौं भएको छ । विशेष गरी नेपालमा सप्ताहन्तको बिदाभन्दा पनि अन्य पर्व, दिवस, जयन्ती जस्ता सार्वजानिक बिदामा अत्यन्तै ठूलो विकृति रहेको छ । गणतन्त्र आएपछि र देशमा तीन तहको सरकार आएपछि यो समस्या झनै विकराल हुँदै गएको छ । आफ्नो काम, कर्तब्य र अधिकारको सामान्य जानकारी नभएका जनप्रतिनिधिहरुबाट बिदासम्बन्धी आफ्नो अधिकारको चरम दुरुपयोग भएको छ ।

जस्तो कि स्थानीय निकायका प्रमुखहरुबाट आफ्नो छोराको विवाहदेखि आफ्नो जन्मदिनमा समेत पालिकाभर सार्वजनिक बिदा दिएर लोक हँसाइएको छ । हुँदा हुँदा भर्खरै चयन भएका प्रमुखले आफ्नो जितको खुसियालीमा समेत सार्वजनिक बिदा दिएर अराजकताको पराकाष्ठा नाघेका छन् । सार्वजनिक बिदाको महत्व नबुझ्नेमा स्थानीय सरकार मात्र नभई प्रदेश सरकार र संघीय सरकार पनि रहेका छन् । कुनै विशेष जाति, धर्म सम्प्रदायलाई रिझाएर भोट बैंक बनाउन सानो जनसंख्याको जातिको लागि आज बेलुका घोषणा गरेर भोलि बिदा दिने चलन चलेको छ । यो चरम विकृति हो ।

हरेक नागरिकलाई लागि आफ्नो समयको महत्व हुन्छ । सरकारी क्यालेन्डर अनुसार चल्न जनताले विश्वको हर कुनाबाट आफ्नो समय ब्यवस्थापन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा कुनै सरकारी सेवा लिन आफ्नो समय छुट्याएको काम अकस्मात घोषणा हुने सार्वजनिक बिदाले कति जनताले कष्ट भोगे होलान्, त्यसको लेखाजोखा सरकारसँग हुनुपर्ने होइन र ? हाल पेट्रोलियम पदार्थको उच्च मूल्यको कारण खपत घटाउन सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिनको बिदा सुरु गरेको थियो । पेट्रोलियम पदार्थको मूल्य नघटेको अवस्थामा किन बिदा फिर्ता लिइयो, बुझी नसक्नु छ ।

नेपालमा बिदासम्बन्धी लामो इतिहास पाइँदैन । तथापि, साप्ताहिक रुपमा शनिवार बिदा दिने प्रचलन राणा प्रधानमन्त्री भीम शमशेर राणाको पालाबाट सुरु भएको हो । हिन्दू परम्पराअनुसार शनि देवताको दिन शनिबार शुभ कार्य गर्न नहुने भएकाले शनिवार बिदा दिएको अनुमान गर्न सकिन्छ । आधुनिक युगको आगमन भइसक्दा पनि नेपालमा भने शुक्रबार आधा र शनिबार पुरा दिन बिदा दिदै आइएको छ । दुई दिन बिदा सुरु भएपछि नेपालमा यसको पक्ष र विपक्षमा बहस चर्किएको थियो । एक पक्षले सकारात्मक रुपमा लिई यस बिदाबाट पर्न गएको अब्यवहारिकतालाई समाधान गर्दै दुई दिने बिदालाई निरन्तरता दिन भनेको थियो । अर्को पक्षले स्वास्थ, शिक्षालगायत सेवा क्षेत्रमा यसले नकारात्मक प्रभाव पारेको भन्दै यसलाई तत्काल खारेज गर्नुपर्ने आवाज उठाएको थियो । के साँच्चै नेपालमा दुई दिने बिदा व्यवहारिक छैन त ? यो विषयमा केही चर्चा गरौं ।

नेपाली समाजको ठूलो समुदाय बिदालाई कर्मचारीहरुको सुविधाको रुपमा मात्र लिन्छन् । यसमा हाल आएर सामन्य जनतालाई ठूला भनिएका मिडिया र निजी क्षेत्रले झनै भ्रमित गरेका छन् । यो सार्वजनिक बिदाले गर्दा आफ्नो खर्च बढ्ने आँकलन गरी निजी क्षेत्र यसको विरोधमा लागे । आज अर्थतन्त्रको कुल आकारमा भौतिक उत्पादनको भन्दा सेवाजन्य उद्योगको हिस्सा बढ्दै गइरहेको छ । हामी भने त्यही कार्य घण्टालाई मात्र केन्द्रमा राखेर कुरा गरिरहेका छौं । दुई दिने बिदाले कर्मचारीको कार्यक्षमता बढ्ने र त्यसले उत्पादकत्वमा पार्ने प्रभावलाई नजर अन्दाज गरिरहेका छैनौं ।

आइतबार बिदा दिँदा शुक्रबार र सोमबार काम नहुने, कर्मचारी समयमा कार्यालयमा नभेटिने तथा शुक्रबार नभ्याइएको काम गर्न थप दुई दिन पर्खिन पर्ने जस्ता कुरा लिएर यो दुई दिने बिदा खारेजीको माग गर्नेहरुको महिना दिनमै जित भएको छ । हामी वर्षौदेखि शुक्रबार आधा दिन र शनिबार पुरा दिन बिदा दिने परम्पराबाट आएका छौं । हरेक ब्यक्तिलाइ परिवर्तनको चाहना हुँदैन । तसर्थ सेवाग्राहीलाई पनि परिवर्तन हुन असहज भयो ।

केही कर्मचारीहरुलाई पनि परिवर्तित समयमा सामन्जस्यता हुन केही समय लाग्थ्यो । यो भन्दैमा दुई दिने बिदा ठीक होइन भन्ने होइन । विश्वमा कैयौं देशहरु हप्ताको तीन दिन सार्वजनिक बिदा दिने निर्णयमा पुगिसकेका छन् । हामी भने त्यही शुक्रबारको आधा दिने बिदामा अडिएर बसिरहेका छौं । विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिने बिदा अब्यवहारिक देखिएको भए त्यसको समाधान खोज्ने हो । तर लिइसकेको सही निर्णयबाट पछाडि हट्ने काम किमार्थ ठिक होइन ।

अमेरिकी वैज्ञानिक डेभिड स्टेफेनले गरेको अनुसन्धानअनुसार ४० घण्टा ५ दिन कार्य गर्ने भन्दा ४ दिनमा ४० घण्टा काम गर्दा कर्मचारीहरुको उत्पादकत्व बढ्छ । साथै उनीहरुमा स्वास्थ्य समस्या कम आएको निष्कर्ष निकालेका छन् । यसको अर्थ कार्य दिन कम भएर कार्य घण्टा बढाउँदा त्यसले कर्मचारीलाई उत्प्रेरित गर्नुको साथै उत्पादकत्व बढाउँछ । उनीहरुको पारिवारिक जीवन सहज बनाइदिन्छ । उनीहरुको सामाजिक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुन्छ । नेपालजस्तो सामूहिक पारिवारिक ढाँचा भएको समाजमा झनै दुई दिने बिदाको महत्व हुन्छ । साना बालबालिकाहरु हप्ताको दुई दिन भएपनि आफ्ना अभिभावकसँग बस्न पाउँछन्, समय बिताउन पाउँछन् । यसमा बालअधिकारको पनि कुरा आउँछ ।

कतिपयको भनाइमा २०५४ सालमा नै उपत्यकामा परीक्षण गर्दा असफल भइसकेको हुनाले यसलाई खारेज गर्नुपर्ने विचार देखियो । तर यो २५ वर्षको अन्तरालमा नेपालको कर्मचारी तन्त्रमा आमुल परिवर्तन भइसकेको छ । धेरै कामहरु ढड्ठाबाट कम्प्युटरमा परिवर्तन भइसकेको छ । अधिकांश कार्यलयमा विद्युतीय हाजिरी हुन्छ । यस्तो अवस्थामा २०५४ सालको परीक्षण असफल भयो भन्दैमा आज पनि असफल कसरी हुन्थ्यो ?

नेपाली सरकारी कर्मचारीहरुको कार्यघण्टा भनेको हप्ताको ४० घण्टा हो । हिजो छ दिन काम गर्दा पनि ४० घण्टा थियो । आज ५ दिनमा पनि ४० घण्टा नै छ । यसबाट सरकारको दैनिक प्रशासनिक खर्च जोगिनुका साथै कर्मचारीहरुको कार्यक्षमता समेत बढ्थ्यो । राष्ट्रिय योजना आयोग र अन्तराष्ट्रिय श्रम संगठनले सन् २०१८÷१९ मा गरेको अनुसन्धानअनुसार नेपालमा कामदारहरुको औसत कार्य घण्टा ४४ रहेको छ । यो भनेको अन्तराष्ट्रिय श्रम संगठनले तोकेको भन्दा ४ घण्टा बढी हो । दुई दिने बिदाले पनि औसत कार्य घण्टा ४४ घण्टा भन्दा कम हुँदैन । सबैभन्दा बढी काम गर्ने यातायातको क्षेत्रको ५५ औसत कार्य घण्टा रहेको छ भने शिक्षातर्फ न्यूनतम ४० घण्टा रहेको छ । यी दुबै क्षेत्रमा कुनै परिवर्तन हँुदैन ।

नेपालमा सार्वजानिक बिदाको समस्या दुई दिने बिदा होइन, ब्यक्तिगत तजबिजमा अकस्मात घोषणा गरिने सार्वजनिक बिदा हो । हप्तामा दुई दिने बिदा दिएपछि गर्नुपर्ने भनेको अन्य सार्वजनिक बिदाको वैज्ञानिक ब्यवस्थापन हो । सिमान्तकृत समुदाय तथा कम जनसंख्याको धर्म संस्कृतिको बिदामा देशैभर सार्वजनिक बिदा दिन आवश्यक छैन । समुदाय विशेषलाई बिदा दिए हुन्छ । यसको अतिरिक्त स्थानीय सरकार र प्रदेश सरकारलाई समेत सार्वजनिक बिदाको अधिकारमा कडाई गर्न आवश्यक छ । विशेष कारण बाहेकका आकस्मिक बिदा शून्यमा झार्न आवश्यक छ । यदि कुनै समुदायको चाडपर्व मा बिदा दिनैपर्ने भए पनि अर्को वर्षको वार्षिक क्यालेन्डरमा हाल्ने हो, सोही बर्ष आज घोषणा गरेर भोलि बिदा दिने होइन ।

हप्ताको दुई दिन बिदाले कर्मचारीहरुमा मात्र नभई रोजगारदातालाई समेत फाईदा पुग्नेछ । यसको साथै आन्तरिक पर्यटनको कारणले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने छ । कोभिडको कारण शिथिल रहेको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने छ । यसको साथै कर्मचारीहरुलाई कार्यप्रति उत्प्रेरित गर्नेछ । उनीहरुको प्रति कामदार उत्पादकत्व बढ्ने छ । तसर्थ नेपाल सरकारले दुई दिने बिदा लाई निरन्तरता दिदै एक उच्च स्तरीय आयोग गठन गरि सोही आयोगको सुझावको आधारमा पर्व, जयन्ती, दिवस तथा अन्य अवसरमा दिइने सार्वजनिक बिदा पुनरावलोकन गरोस् । यसले कर्मचारी, सरकार, रोजगारदाता, अर्थतन्त्र साथै नेपाली समाजलाई समेत दीर्घकालीन फाईदा पुग्ने छ ।

 अकस्मात सार्वजानिक बिदा दिने, एक महिना पनि आफ्नो निर्णयमा अडिग रहन नसक्ने सार्वजनिक बिदाको बेथिति अन्त गरौं । विश्व समुदायसँग समानताको लागि, कर्मचारीको उत्प्रेरणा तथा साना बालबालिकाको अभिभावकसँग केही दिन भएपनि बिताउने अधिकारको लागि पनि हप्ताको दुई दिने बिदाको लागि दबाब सिर्जना गरौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विरोध अधिकारी
विरोध अधिकारी

 [email protected]

twitter:@birodhji

लेखकबाट थप