शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्न छाडेको हिन्दुत्वको पुनरावृत्ति : ‘पृथ्वीराज चौहान’

मङ्गलबार, ३१ जेठ २०७९, ११ : ३३
मङ्गलबार, ३१ जेठ २०७९

अहिले भारतीय मिडियामा दुईटा ठूला फिल्म चर्चामा छ, एउटा अक्षयकुमार स्टारर ‘पृथ्वीराज चौहान’ र अर्को दक्षिण भारतीय सुपरस्टार कमल हासन अभिनित ‘विक्रम’ । दक्षिण भारतीय फिल्म हुँदा हुँदै पनि यसले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

 यसका अभिनेता कमल हासनले आफ्ना निर्देशकलाई टोयोटाको लेक्सस कार फिल्मको सफलताको कारणले उपहार समेत दिएका छन् । यता ‘पृथ्वीराज’ राम्रो व्यानर र स्टारडम भएका अक्षयकुमार हुँदा हुँदै पनि फ्लप हुने अवस्थामा पुगेको छ । जवकी यसलाई विजेपी शासित राज्यहरुले ट्याक्स फ्रि समेत गरिसकेका छन् । यी सवैका वावजुद यो फिल्म किन असफल भइरहेको छ, यो खोजीको विषय हो । तर यसले दिन खोजको एउटा सन्देश भने विजेपी र यसको भातृसंगठन आरएसएसले फैलाउन खोजेको हिन्दुत्वको गौरवगाथा भने बिक्न छाडेको पक्कै हो । 

बलिउड फिल्म जगतमा अक्षयकुमारलाई ‘मनी मेशिन’ मानिन्छ । किनभने उनले वर्षमा चारवटा फिल्म जति सरदरमा गर्छन् र ती सवै फिल्म सय करोड क्लबमा सजिलै पुग्छन् । तर, पछिल्लो चरणमा उनको यो हिट मेशिनले पनि काम गर्न छाडेको अनुभूति भइरहेको छ । त्यसको उदाहरणको रुपमा केही समय पहिले रिलिज भएको ‘वच्चन पाण्डे’लाई लिन सकिन्छ । किनभने यो पनि सफल फिल्मको श्रेणीमा पर्दैन भने अहिले रिलिजको दोश्रो हप्तामा चलिरहेको ‘पृथ्वीराज चौहान’ फिल्म पनि त्यही समूहमा पुगेको लगभग पक्का भइसकेको छ । 

पृथ्वीराज चौहान १२ औं शताब्दीका राजस्थानका हिन्दू सम्राट थिए । फिल्म ‘पृथ्वीराज चौहान’ उनको गौरवगाथाको कहानी हो, जुन कहानी इतिहासको धेरै किताबहरुमा चर्चित भएता पनि बलिउड फिल्म जगतले यसलाई त्यति पछ्याई रहेको थिएन । हालसालै मात्र खास गरी रोमान्टिक फिल्म बनाउन नाम कमाएको यशराज व्यानरले यो फिल्मलाई अक्षयकुमार जस्तो ठूलो स्टारसहित बाहिर ल्याएको हो । 
यो फिल्मको मूल कथा राजस्थानका वीर हिन्दू सम्राट पृथ्वीराज चौहान जो पछि दिल्लीको समेत राजा हुन्छन्, उनको वीर गौरव गाथा हो । उनको कीर्ति चारैतिर फैलिएको हुन्छ । कन्नौज राजस्थानकी राजकुमारी संयोगिताले पनि उनको नाम सुनेकी हुुन्छिन् । अरुबाट उनको बयान सुनेर मख्ख पर्दै उनले पृथ्वीराजलाई एकतर्फी प्रेम गरेकी हुन्छिन् । 

कन्नोजका राजा पनि दिल्लीको राजा हुन चाहन्छन् । तर, उनका वृद्ध काका जो दिल्लीका समेत अधिपति हुन्छन्, उनले त्यो राज्य पृथ्वीराजलाई दिन चाहान्छन् । किनकि उनको मान्यता दिल्लीको गद्दीमा वस्नको लागि उनी जत्तिको योग्य अरु कोही हुन सक्दैनन् भन्ने थियो । यो भनाईमा कन्नोजका राजा सहमत हँुदैनन् र युद्ध तथा छलकपट दुवै विधिवाट दिल्ली हात पार्नको लागि उनले आफ्नी छोरीको स्वयंम्वर गर्ने घोषणा गर्दछन् । सो स्वयम्वरमा पृथ्वीराजलाई बोलाइएको हुँदैन । उनले यसलाई आफ्नो अपमानको रुपमा लिदै सो स्वयम्वरवाट राजकुमारीलाई अपहरण गर्ने योजना वनाउँछन् । र, सो योजनामा उनी सफल हुन्छन् । 

यता रिसाएका कन्नोजका राजाले टर्कीबाट भारतमा आएका मुस्लिम सम्राटसँग साँठगाँठ गर्छन् । पृथ्वीराजसँग युद्धमा भिडाउँछन् । जबकि पृथ्वीराजले मुस्लिम सम्राटलाई पहिले नै युद्धमा हराएर जीवन दान दिएका हुन्छन् । पृथ्वीराज पराक्रमी योद्धा भएकाले प्रत्यक्ष युद्धमा हराउन नसक्ने भएपछि राति सुतेको वेलामा अकस्मात हमला गरिन्छ । पृथ्वीराजका सयौं योद्धालाई वन्दी बनाउँदा उनी आत्मसमर्पण गर्न वाध्य हुन्छन् । 

यहाँनेर हिन्दुत्वलाई वढावा दिन मुस्लिमहरु छलकपटको लडाइँ लड्छन् । तर, हिन्दूहरु स्वाभिमानको युद्ध लड्छन् भन्ने देखाइएको छ । यसरी वन्दी बनाई सकेपछि टर्कीबाट आएका मुस्लिम सुल्तानले कन्नोजका राजालाई सुम्पिने शर्तमा गरिएको सम्झौता भंग गर्छन् । र, पृथ्वीराजलाई वन्दी वनाउँछन् । वन्दी वनाएर यातना दिने क्रममा पृथ्वीराजको दुईटै आँखा फुटाइएको हुन्छ । अनि उनलाई सुल्तानसँग माफी मागे ज्यान नमार्ने शर्त राखिन्छ । त्यसो नगरेमा एउटा विशाल रंगशालामा उनले सुल्तानवाट खटाइएका योद्धाहरुसँग युद्ध लड्नुपर्ने हुन्छ । यो युद्ध जुन फिल्मको अन्तिम दृश्य पनि हो । 

अन्तिम दृष्यमा अतिरञ्जित तरिकाले तीन वटा सिंहलाई एउटा दृष्टिविहीन योद्धाले अलग अलग तरीकाले पराजित गर्छ । उसले सुल्तानलाई पनि युद्धमा आउन चुनौती दिन्छ । सुल्तान र पृथ्वीराजबिच युद्ध हुँदा दृष्टिविहीन पृथ्वीराजले सुल्तानलाई तीरले हानेर ढलाई दिन्छ । र, सुल्तानका सेनाले पृथ्वीराज र उनको पुरोहित तथा सेवकको पनि तीरले हानेर वध गरिदिन्छन् । शर्तअनुसार पृथ्वीराजसँगै वन्दी बनाइएका उनका सैनिकहरुलाई जेलमुक्त गरिन्छ । उनीहरुले पृथ्वीराज र उनका सेवकको शवलाई सम्मानसहित लगेको देखाइन्छ । 

भारतमा सती प्रथा अंग्रेजहरुले शासन नगर्दासम्म पनि निर्वाध रुपले चलिरहेको थियो । त्यसमा लाखौंको संख्यामा विवाहित महिलाहरुले जुनसुकै कारणले आफ्ना श्रीमान्को मृत्यु भएमा सँगै मृत्युवरण गर्नु पर्थ्यो । यस्तो क्रुर अमानवीय प्रथालाई उच्च जातीय हिन्दू समाजले गौरवगाथाको रुपमा अघि वढाइरहेको थियो । यो फिल्ममार्फत् सो अमानवीय प्रथालाई पनि गौरवगाथाकै रुपमा प्रस्तुत गरिएको छ । 

जब पृथ्वीराजलाई सुल्तानले वन्दी बनाइसके भन्ने खवर आउँछ, त्यसलगत्तै उनकी रानी संयोगिताले सेनाको पहिरन लगाउँछिन् । झट्ट हेर्दा उनीसहित युद्धमा मारिएका वा वन्दी बनाइएका सेनाका पत्नीहरु पनि युद्ध लड्न जाने हुन् कि जस्तो गरी उनीहरुवाट एउटा वीररसको नृत्य गराइन्छ । तर सँगसँगै ठूलो अग्निकुण्ड बनाइएको हुन्छ । नृत्यपछि सबै महिलाहरु सोही अग्निकुण्डमा हाम फालेको देखाइन्छ । यसमा पुरुषहरुले युद्धमा आफ्नो आहुति दिएका हुन्छन् भने महिलाहरुले उनीहरुसँगै सती गएर पनि युद्धमा जस्तै आहुति दिएका हुन्छन् । यो कुनै पनि दृष्टिकोणवाट सही ठहर्याउन सकिदैन । तर हिन्दुत्वको वकालत गर्नेहरुले यसलाई पनि गौरवगाथाको रुपमा प्रस्तुत गरेका छन् । 

फिल्म ‘पृथ्वीराज’लाई अर्को अर्थमा महिलामैत्री तथा उनीहरुको समान हकको रक्षकको रुपमा पनि प्रस्तुत गरिएको छ । उनले ल्याएकी संयोगितालाई दरवारमा समान हैसियत दिएर पुरुषप्रधान शासनमा पनि उनको भनाईलाई बराबरीको दर्जा दिइएको देखाइएको छ । तर यो पत्यारिलो लाग्दैन । किनभने १२औं शताब्दीको हिन्दू समाज जहाँ महिलाहरु अनिवार्य रुपमा सती जानु पथ्र्यो । अनि सामान्य मान्छेका त कयौं श्रीमती हुन्थे भने त्यो माथि राजाको त सयौंको संख्यामा श्रीमतीहरु भएको हामी पढ्छौं । त्यस्तो समाजमा पृथ्वीराजले पुरै महिलालाई समानताको दृष्टिकोणवाट हेरेका मात्रै नभईकन समान दर्जा दिएका थिए भनी पत्याउन गाह्रो पर्छ । त्यति वेला दरवारहरुमा राजकवि राख्ने चलन थियो । र, उनीहरुवाट प्रशस्तीको गौरवगाथा लेखाउने चलन थियो । वीवीसीले गरेको फिल्मसम्वन्धि समीक्षामा पनि पृथ्वीराजको मृत्युको ३५० वर्षपछि मात्र यस्तो गाथा लेखिएको भनिएको छ । 

फिल्मको अन्त्यमा स्वाभिमान र स्वतन्त्रताको लडाइँ खास गरी विदेशी आक्रमणकारीहरुको विरोधमा ७ सय वर्ष अगाडिदेखि सुरु भएता पनि २० औं शताव्दीमा मात्रै सफल भएको थियो भनिएको छ । यहाँ चर्चित लेखक पण्डित रजनीकान्त शास्त्रीको पुस्तक ‘हिन्दू जातिका उत्थान और पतन’को सारबारे यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ । यो पुस्तकले हिन्दुत्वका सबै मान्यताहरुको प्रमाणिक रुपमा धज्जी उडाएको छ । र, भारतलाई केवल अंग्रेजहरुले २ सय वर्षसम्म उपनिवेश बनाएका होइनन् । यो भन्दा पहिले अलेक्जेण्डरको पालादेखि २ हजार वर्ष पहिलेदेखि नै विभिन्न रुपमा उपनिवेश वनाउदै आएका हुन् । यसको मुख्य कारण भनेको यहाँको जात व्यवस्था हो । खास गरी मुस्लिम र मुगलहरु भारतमा किन सफल भए भन्दा हिन्दूहरुको समाज जात व्यवस्थामा विभाजित थियो । 

सो अन्तर्गत देशको रक्षा गर्ने भनेको क्षत्रीहरुले मात्र, बाँकी सबै जातजातिहरुलाई हतियार चलाउने अनुमति समेत थिएन । यसले गर्दा जब थोरै संख्यामा भएका क्षेत्रीहरु हार्थे, तब सजिलै देश पराधीन हुन्थ्यो । तर त्यसको ठीक विपरीत मुस्लिमहरुले समाजका जो कोहीलाई हतियार बोक्न दिए । र, देशलाई पर्दाखेरि सबै युद्धमा होमिए । मुख्य कुरा संख्यात्मक हिसाबले भारतमा हिन्दूहरु ८० प्रतिशत भन्दा बढी हुँदा हुँदै पनि किन १० प्रतिशत भएका मुस्लिमसँग घुडा टेक्नु पर्यो ?

अहिले फिल्ममार्फत् आरएसएस र भारतीय जनता पार्टीले बोकेको हिन्दुत्वलाई इतिहासलाई पृनरावृत्ति गरी स्थापित गर्न खोजिएको छ । तर अब जनताले पनि यसलाई स्वीकार्न छोडेको संकेत ‘पृथ्वीराज चौहान’ फिल्म असफल हुनबाट लिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हिरा विश्वकर्मा
हिरा विश्वकर्मा
लेखकबाट थप