मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जब कैदी बन्दीहरूलाई फुटबल सिकाउने जुनून जाग्यो

‘खुश्बु’को अभियानमा एएफसी र एन्फाको साथ
मङ्गलबार, ३१ जेठ २०७९, ०९ : ५६
मङ्गलबार, ३१ जेठ २०७९

‘खुश्बु’को अर्थ हुन्छ, ‘सुगन्ध’ । हो, खुश्बु ओलीले एउटा मीठो सुगन्ध छर्दैछिन्, नेपाली फुटबल इतिहासमा । त्यो हो कैदी–बन्दीहरूलाई फुटबल खेलाडी, रेफ्री र प्रशिक्षक बनाउने अभियान । ‘सेल्टर नेपाल’ नामक संस्थाकी अध्यक्ष खुश्बु ओलीले सोही संस्थामार्फत् पहिलो पटक ५६ कैदी–बन्दीहरूमा एउटा नयाँ प्रयोग गर्दैछिन् । 

कैदी–बन्दीहरू एउटा सुरक्षित घेराभित्र हुन्छन् । उनीहरुले गर्ने सबै क्रियाकलाप त्यही चार दिवारभित्र कैद हुन्छ । बाहिरी दुनियाँबाट उनीहरू बेखबर हुन्छन् । एउटा बन्द कोठा र बन्द घेराभित्र खासै केही सिक्न सक्ने अवस्था हुँदैन । त्यसैले, जेल भित्रबाट खेलाडी उत्पादन गर्न कति सहज होला ? यो प्रश्नको उत्तर नै धेरै पेचिलो लाग्छ । 

अझ खेलकुदका क्रियाकलापमा कैदी–बन्दीहरूलाई सामेल गर्न जेलमा खासै माहौल बन्दैन । त्यसमध्ये फुटबल खेल त झन् परको कुरा हो । त्यसैले, तोकेको समय जेल जीवन बिताउँदै गरेका उनीहरूलाई जेल बाहिर निस्किँदा फुटबल खेलाडी, रेफ्री र प्रशिक्षकको रूपमा देख्न सकिने कुरा अर्कै ग्रहको जस्तो लाग्छ । असम्भव जस्तो लाग्छ ।

एएफसी र एन्फाको साथ

असम्भव जस्तो लाग्ने खुश्बुको अभियान अब सम्भव हुने भएको छ । खुश्बुको सेल्टर नेपाललाई एसियन फुटबल कन्फेडेरेसन (एएफसी) तथा अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साथ र सहकार्यले यो सम्भव हुन लागेको हो । ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ नामक कार्यक्रमअन्तर्गत कैदी बन्दीहरूलाई फुटबल खेल खेलाइन थालिएको छ । जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोगका साथै उनीहरूमा आत्मविश्वास जगाउने उद्देश्य तीन वर्षको यो परियोजनाको रहेको छ । यसले एक वर्षभित्र पहिलो चरणमा २४ खेलाडी तथा १६ जना प्रशिक्षक र १६ रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ । पहिलो वर्ष नै दोस्रो चरणमा थप २४ खेलाडीलाई प्रशिक्षण दिइने छ । 

कैदी–बन्दीलाई फुटबल सम्बन्धी क्रियाकलापमा ल्याउन निकै चुनौतीपूर्ण विषय भएपनि यसलाई सबैको साथका कारण सहज बनाएको खुश्बुले बताइन् । काठमाडौँका जेलहरूमा हुने स्रोतसाधनलाई सदुपयोग गर्दै आफूहरूले फुटबलसम्बन्धी गतिविधि गर्न लागेको उनको भनाइ छ । 

कैदी–बन्दीहरूलाई फुटबलको क्रियाकलापमा सहभागी गराउन खुश्बुलाई सहज विषय थिएन । पछि एएफसीको साथ हुँदा सहज हुन्छ भन्ने उनलाई लाग्यो । कुरा अघि बढ्दै जाँदा एन्फाले पनि यो विषयलाई सहज ढंगले लियो । अनि गृह मन्त्रालयको पनि साथ पाएपछि कार्यक्रमको थालनी भयो । 

प्रशिक्षकलाई डी लाइसेन्स, रेफ्रीलाई वर्गीकरण ४ एन्फा रेफ्री प्रमाणपत्र र खेलाडीलाई सहभागी प्रमाणपत्र प्रदान गरिनेछ । उनीहरूलाई एन्फाबाट ए डिभिजन, बी डिभिजन र सी डिभिजन क्लबहरूको स्केलअनुसार स्थान दिने वातावरण मिलाइने छ । यसरी कैदी–बन्दीलाई खेलकुदमा समावेश गर्न पाउँदा आफूहरू धेरै खुसी भएको खुसी भएको खुश्बुको भनाइ छ । 

खुश्बुले यो तालिमबाट एकजना मात्र देशका लागि प्रतिनिधित्व गर्ने अवस्था आए पनि गर्वको कुरा हुने बताउँछिन् । ‘प्रशिक्षण लिएका सबै जना राष्ट्रिय स्तरमा आउनुपर्छ भन्ने होइन । कसैको मानसिक र शारीरिक अवस्था राम्रो हुँदा पनि हाम्रो अभियान सफल भएको ठान्ने छौँ । त्यसमध्ये एकजना मात्रै राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने व्यक्ति निस्किदा हाम्रो यो कार्यक्रमले सफलता पाउने छ । माहौल हेर्दा एक जनामात्र होइन, धेरैले राष्ट्रका लागि केही योगदान दिनेमा हामी विश्वस्त छौँ,’ उनले भनिन् । 

कैदी–बन्दीलाई खेलकुदका क्रियाकलापमा सहभागिता जनाउने कुरामा गृहमन्त्रालय, केन्द्रीय कारागार विभागले अहिले सहयोग गर्ने भएका छन् । पुनर्स्थापनाको सवालमा एन्फा सकारात्मक छ । तर पछि एन्फा या कुनै क्लबले उनीहरूमा चासो नदेखाए सेल्टरले नै उनीहरूलाई उचित तरिकाको व्यवस्थापन गर्न पहल गर्ने खुश्बुको भनाइ छ । 

अहिले सेल्टरले ६ महिना र एक वर्षभित्र जेलबाट छुट्ने कैदी–बन्दीहरूलाई अभियानमा समावेश गरेको छ । उनीहरू तालिम र प्रशिक्षण सकिसकेपछि आफ्नो क्षमताअनुसार पुनर्स्थापनामा जानेछन् । 

महिला बन्दी पनि उत्साही

अहिले महिला सेलमा रहेका कैदी–बन्दीहरूलाई रेफ्री प्रशिक्षण दिन थालिएको छ । नेपालमा महिला रेफ्री कम भएको अवस्थामा यो सकारात्मक पक्ष भएको एन्फाको भनाइ छ । एन्फाका महासचिव इन्द्रमान तुलाधरले यो कार्यक्रममा रहेका उत्कृष्ट प्रतिभाहरूलाई एन्फाले उचित स्थान दिने बताए । खेलाडी, प्रशिक्षक र रेफ्रीको व्यवस्थापनमा एन्फाले राम्रो भूमिका खेल्ने उनको भनाइ छ । 

‘यो कार्यक्रमबाट राम्रो प्रतिभाहरु आउनेछन् भन्ने आशा छ । उहाँहरूलाई व्यवस्थापनमा हामी सकारात्मक छौँ । नयाँ विषय भएकाले सबैको चासो पनि छ,’ तुलाधरले सेल्टर नेपालसँगको सम्झौतापछि भनेका थिए । 

यता फुटबल प्रशिक्षक राजकुमार केसीले हालसम्म प्रशिक्षणमा आएका व्यक्तिहरू उत्कृष्ट प्रतिभा भएको बताए । उनले उनीहरूमध्ये पाँचजना जति बी र सी डिभिजन लिग खेल्न सक्ने अवस्थामा भएको बताए । 

‘उहाँहरू पनि बाहिर खेल्ने र सिक्ने खेलाडी जस्तै हो । सिकाउन थालेको लामो समय भएको छैन । पाँच जना जति बी र सी डिभिजन लिग खेल्न सक्ने अवस्थामा छन् । उहाँहरूको प्रतिभालाई बाहिर ल्याउने कुरामा म धेरै प्रफुल्लित छु,’ केसीले भने । 

विश्वकपमा सडक बालबालिका र अवार्ड

हरेक वर्ष फुटबल र क्रिकेट विश्वकप अघि सडक बालबालिकाको विश्वकप पनि आयोजना हुन्छ । रसिया विश्वकप अघि नेपालले पनि त्यसमा सहभागिता जनाएको थियो । 

नेपालले दुई खेलमा जित निकाल्दै क्वाटरफाइनलमा पुगेको थियो । त्यसपछि सेल्टरकी अध्यक्ष ओलीले एएफसी ड्रिम एसिया २०१८ को अवार्ड पाएकी थिइन् । उनले व्यक्तिगत विधामा उक्त अवार्ड पाएकी थिइन् । सडक बालबालिकाको विश्वकपसँगै फुटबलमा अन्य क्रियाकलापलाई मूल्याङ्कन गर्दै अवार्ड प्रदान गरिएको थियो । अहिले कैदी बन्दीहरूलाई फुटबलको त्रिकोण खेलाडी, रेफ्री र प्रशिक्षक बनाउने उनको अभियानको खेलप्रेमीहरुले मुक्त कण्ठले सराहना गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप