सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन र आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

मङ्गलबार, ३१ जेठ २०७९, ०६ : ५१
मङ्गलबार, ३१ जेठ २०७९

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि  सडक दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले बिहान पहिरो पन्छाइ दुईतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यता भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँ स्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।

शुक्रबार सडक भासिँदा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ । 

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ । दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप