बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कामु प्रधानन्यायाधीशको प्रश्न–आईजीपी नियुक्ति पहिले र अहिलेमा के फरक छ ?

वकिलको जिकिर–सरेण्डर गराउन बिदा अस्वीकृत
सोमबार, ३० जेठ २०७९, २० : ३४
सोमबार, ३० जेठ २०७९

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सोमबारबाट सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ । यसअघि प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्णसुनुवाईका लागी पेश गर्न आदेश गरेकी थिइन् । तर, १७ जेठमा सुनुवाई हुन सकेन् ।  सोमबार कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश डा. कुमार चुडालले सो मुद्दाको सुनुवाई गरेका छन् ।

पूर्वडिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवाविरुद्ध हालेको रिटको सुनुवाई सकिएपछि आईजीपी नियुक्तीविरुद्धको रिटमा अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका हुन् । धिरज प्रताप सिंहलाई बढुवा गर्दा मन्त्रिपरिषद्ले ‘आधार र कारण’ उल्लेख नगरेको दावी गर्दै अधिवक्ता पोखरेलले भने–‘बढुवाको पहिलो आधार नै जेष्ठता हो ।’

धिरज प्रताप सिंह र विश्वराज पोखरेलसँगै सेवा प्रवेश गरेको भएपनि सेवाको दौरानमा पोखरेलले नयाँ मेरिट कायम गरेको अधिवक्ता पोखरेलले जिकिर गरेका छन् । इजलासमा उनले भने,‘सँगै सेवा प्रवेश गरेपनि सेवाको दौरानमा नयाँ मेरिट बन्नसक्छ ।’ अधिवक्ता पोखरेलले एआईजी पदमा धिरज प्रताप सिंहभन्दा विश्वराजले करिब १६ महिना लामो अनुभव हाँसिल गरेको भन्दै उनी नै जेष्ठ भएको बताए ।

अधिवक्ता पोखरेलले बहस गर्दा कामु प्रधानन्यायाधीश कार्कीले उनलाई प्रश्न गरेका छन् ।

 कामु प्रन्या : पहिलेको नियुक्ती र यो निर्णयमा के फरक छ ?’

अधिवक्ता पोखरेल : फरक छ श्रीमान् ! प्रकाश अर्यालको नियुक्ती र अहिलेको निर्णयमा फरक छ ।

कामु प्रन्या : अदालतमा मुद्दा परेका र यसमा फरक होला तर, अरुमा पनि फरक छ र ?’

कामु प्रधानन्यायाधीशको प्रश्नको जवाफमा अधिवक्ता पोखरेलले मुद्दा नपरेको निर्णयबारे खोजबिन नगरिएको बताएका छन् ।

सरेण्डर गराउन बिदा अस्वीकृत
मन्त्रिपरिषद्ले वैशाख १८ मा धिरज प्रताप सिंहलाई आईजीपी नियुक्त गरेको निर्णयविरुद्ध मुद्दा लडिरहेका विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेको विषयमा पनि इजलासमा छलफल भएको छ । जेठ २५ मा पोखरेलले पेश गरेको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका थिए ।

अधिवक्ता मेघराज पोखरेलले बिदाको कुरा उठाए–‘सरेन्डर गराउन बिदा अस्वीकृत गरियो श्रीमान् ।’ बिदाको विषय जानकारीमा आएको भन्दै कामु प्रधान न्यायाधीश कार्कीले उनलाई रोकेका थिए ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप