निरन्तर बलियो बन्दै डलरः कस्तो असर पर्ला नेपालको अर्थतन्त्रमा ?
पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दै जाँदा नेपालको अर्थतन्त्र प्रभावित बन्ने भएको छ । सन् २०२० को तुलनामा अहिलेसम्म ११ रुपैयाँभन्दा बढीले महँगीको डलरबाट नेपाल जस्तो सानो र विकासशील राष्ट्रको अर्थतन्त्र प्रत्यक्ष प्रभावित बन्ने भएको हो ।
सन् २०२० को जनवरीमा एक अमेरिकी डलरको सटही दर ११३.७६ रुपैयाँ थियो । जुन, अहिले सन् २०२२ को जुन महिनासम्म आइपुग्दा ११.०८ रुपैयाँ बढेर १२४.८४ रुपैयाँ पुगेको छ । यसले पछिल्लो समय नेपाली मुद्राको तुलनामा अमेरिकी डलर निरन्तर बलियो बन्दै गइरहेको तथ्याङ्कले देखाउँछ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्ला केही वर्षहरूमा नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बन्दै गइरहेको छ । सन् २०२० को जनवरी महिनामा प्रति डलर ११३.७६ रुपैयाँ सटही दर रहेको थियो । जुन, सन् २०२१ को जनवरीसम्म आइपुग्दा ११६.६५ रुपैयाँ पुगेको थियो ।
यस्तै, सन् २०२२ को जनवरीसम्म आइपुग्दा पनि अमेरिकी डलर बलियो बन्ने र नेपाली मुद्रा कमजोर बन्ने क्रम रोकिएको छैन । नेपाली मुद्राको तुलनामा डलर निरन्तर बलियो बन्दै यो वर्षको जनवरी महिनामा १ अमेरिकी डलरको सटही दर ११८.७८ रुपैयाँ पुगिसकेको थियो । यो क्रम जुनसम्म आइपुग्दा १२४.८४ रुपैयाँ पुगिसकेको छ ।
यसरी, पछिल्लो २ वर्षमा निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ बढ्दा नेपालको आयात महँगिने र बढी रकम विदेशिने जानकारहरू बताउँछन् । अर्थविद् ज्ञानेन्द्र अधिकारीका अनुसार डलर दिनदिनै बलियो बन्दै जाँदा आयातमुखी अर्थतन्त्र भएका नेपालजस्ता मुलुकको अर्थतन्त्रमा नकरात्मक प्रभाव पर्छ ।
‘हाम्रो अर्थतन्त्र आयातमा आधारित छ । हामीले खपत गर्ने प्रत्येक वर्षको आयात गर्छौं र त्यसको भुक्तानी अमेरिकी डलरमा हुन्छ,’ अधिकारी रातोपाटीसँग भन्छन्, ‘थोरै रकम तिरेर किन्न मिल्ने वस्तु डलरको भाउ बढेपछि धेरै रकम तिर्नुपर्छ ।’ जसबाट आयातमा नेपालको अतिरिक्त पूँजी पलायन हुन्छ ।
खास गरी, नेपालको अर्थतन्त्र आयातमै आधारित छ । चालू आर्थिक वर्षको साउन–वैशाख अवधिमा विदेशबाट १६ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । यसका लागि हामीले खर्बौं रुपैयाँ भुक्तानी गरेका छौं । २ वर्ष अघि डलरको सटही दर ११३ रुपैयाँ कायम भएको समयमा वस्तु आयात गर्दा अहिले प्रतिडलर ११ रुपैयाँ रुपैयाँ बढी तिर्नुपर्छ । यसले नेपालको धेरै पूँजी पलायन हुने र कम वस्तु आयात हुने स्थिति बन्छ ।
किन कमजोर बन्दै छ नेपाली मुद्रा ?
अमेरिकी समाचार संस्था ब्लूमवर्ग डलर स्पट इण्डेक्सका अनुसार अघिल्लो वर्ष विश्वका १० मूल्यवान् मुद्राको तुलनामा डलरको भाउ १२ प्रतिशतले बढेको छ । यस्तै, यो वर्षको मे सम्ममा डलरको भाउ अन्य मूल्यवान मुद्राको तुलनामा ७ प्रतिशतले बढेको छ । डलरको प्रयोग र यसको मजबुतीको अवस्था नाप्न ब्लूमवर्ग डलर स्पट इण्डेक्सको आँकडालाई लिइन्छ ।
खास गरी, यतिबेला कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वभरको अर्थतन्त्र धराशायी बनेको छ । यही क्रममा अन्य मुलुकको जस्तै छिमेकी मुलुक भारतको अर्थतन्त्र पनि समस्यामा परेको छ । हजारौंको रोजगारी गुमेको र उद्योगधन्दा कलकारखानाको उत्पादनमा कमी आउनुका साथै ऊर्जाको मूल्य बढ्दा महँगी दर सरकारी अपेक्षाभन्दा माथि पुगेको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य बढ्दा भारतको अर्थतन्त्रमाथि धान्नै नसक्ने गरी चाप परेको छ ।
यही समयमा विदेशी पर्यटकको आगमन न्यून हुँदा तथा चरम ऊर्जा संकटका कारण औद्योगिक उत्पादन न्यून हुँदा भारतीय अर्थतन्त्र समस्यामा छ । भारतमा बिजुली, पेट्रोलियम पदार्थ, कोइलालगायत सबै प्रकारका ऊर्जाको मूल्यले कीर्तिमान कायम गरिरहेको छ । यस्तै, यतिबेला भारतबाट निर्यात हुने चिया र गहुँसमेत फिर्ता आइरहेको छ । भारतको गहुँमा हानिकारक पदार्थ भेटिएको भन्दै टर्की र इजिप्टले फिर्ता गरेका थिए । त्यसको एक साता नवित्दै धेरै मुलुकले अत्याधिक विषादी प्रयोग भएको भन्दै भारतमा उत्पादित चिया फिर्ता पठाएका थिए । यसले भारतको निर्यातमा प्रत्यक्ष प्रभाव परेको छ ।
औद्योगिक उत्पादन घट्नु, आयात बढ्नु र निर्यात खुम्चिनुले भारतको अर्थतन्त्र कमजोर स्थितिमा छ । फलस्वरूप भारतीय रुपैयाँ (भारू) डलरको तुलनामा कमजोर बन्दै गइरहेको छ । र, नेपाली रुपैयाँ र भारूबीच स्थिर विनिमय दर रहेकाले भारतको मुद्रा डलरको तुलनामा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर बन्छ । जसको पछिल्लो उदाहरण हो, डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जानु । ‘भारूसँग स्थिर विनिमय दर हुँदाको धेरै फाइदा छन् । तर, फाइदा मध्येबाट बेफाइदा केलाउँदा यो बेफाइदा हो,’ अर्थविद् ज्ञानेन्द्र अधिकारी भन्छन् ।
आयातमा बढ्छ महँगी
भन्सार विभागका अनुसार नेपालले चालू आर्थिक वर्षको १० महिनामा १६ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । र, नेपालले तेस्रो मुलुकबाट गर्ने आयातको भुक्तानी अमेरिकी डलरमार्फत् गर्नुपर्छ । विदेशबाट नेपालमा आयात हुने सुन, चाँदी, हीरा, पेट्रोलियम पदार्थ, लत्ताकपडा लगायत सबै प्रकारका वस्तुको भुक्तानी अमेरिकी डलरमार्फत् गर्नुपर्छ ।
फलस्वरूप नेपालले अघिल्ला वर्षकै परिमाणमा वस्तु आयात गर्दा समेत अतिरिक्त मूल्य चुकाउनुपर्छ । त्यसैले, डलरको दर बढेको समयमा यी वस्तुको भुक्तानी गर्दा नेपालबाट यस अघिको तुलनामा धेरै मुद्रा बाहिरिन्छ । यसको अर्थ, नेपालमा रहेको कुल विदेशी मुद्राको सञ्चितिले यस अघि आउने वस्तुको परिमाण डलर बलियो बनेपछि आउँदैन ।
उदाहरणका लागि, रुस–युक्रेन युद्ध अघि प्रतिब्यारेल ९० अमेरिकी डलरमा आउने कच्चा तेलको मूल्य अहिले १२० डलर पुगेको छ । जसलाई सन् २०२० मा ११३ रुपैयाँ प्रति डलरमा भुक्तानी गर्न मिल्नेमा अब १२४ रुपैयाँ प्रति डलरभन्दा धेरै तिर्नुपर्छ । पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा डलरको सटही दर बढ्दा डलरको सञ्चितीमा झनै दबाब बढ्ने बताउँछन् । ‘नेपालको निर्यात र आयात बीचको खाडल ठूलो छ,’ ओझाले भने, ‘यसले नेपालको डलर सञ्चितीमा ठूलो दबाब पर्छ ।’
यसै गरी, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा र डलरको मूल्य पनि बढ्दा ढुवानी लागत र कर्मचारीको लागत बढ्दा सम्पूर्ण लजिस्टिक कस्ट महँगिने सरोकारवालाहरू बताउँछन् । यसबाट नेपाली अर्थतन्त्रलाई बचाउन स्वदेशी वस्तुको उत्पादन र खपत बढाउने तथा अत्यावश्यक वस्तुको आयात नियन्त्रण जरुरी छ ।
निर्यातमा फाइदा
यद्यपि, अमेरिकी डलर नेपाली मुद्राको तुलनामा बलियो बन्दै जाँदा नेपालबाट हुने निर्यातमा पर्याप्त फाइदा हुन्छ । चालू आर्थिक वर्षको १० महिनामा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । नेपालबाट तेस्रो मुलुकमा हुने निर्यातको भुक्तानी डलरमा हुने गर्छ । यसको अर्थ नेपालबाट वस्तु निर्यात गर्दा त्यसबापत नेपाललाई अमेरिकी डलर आर्जन हुन्छ । तर, नेपालसँग निर्यातयोग्य वस्तुको अभाव छ ।
‘डलर बढ्दा आयातमुखी अर्थतन्त्र भएकाले डलर सञ्चितीमा झनै दबाब पर्छ,’ ओझा भन्छन्, ‘निर्यातमा बढावा दिनुपर्ने हो । तर, यसका लागि हामीसँग निर्यातयोग्य वस्तुको अभाव छ ।’ डलरको सटही दर बढेको समयमा नेपाली वस्तुको मूल्य सस्तो हुन्छ । र, यही समयमा निर्यात बढाउनुपर्ने हो । तर, नेपालमा उत्पादन हुने र निर्यातयोग्य वस्तुको सूची नै अभाव देखिन्छ । नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको खाने तेलको कच्चा पदार्थसमेत विदेशबाट आयात हुने गरेको छ ।
नेपाली मुद्राको तुलनामा अमेरिकी डलर बलियो बन्दा निर्यातमा फाइदा हुने भएपनि नेपालसँग निर्यातयोग्य वस्तुको अभाव छ । त्यसैले यसबाट फाइदा लिन सक्ने स्थिति देखिँदैन । यसरी डलर बलियो बन्दा नेपालले निर्यातबाट फाइदा लिनुको तुलनामा आयातबाट बढी क्षति ब्यहोर्नुपर्ने हुन्छ ।
पर्यटनमा फाइदा
डलरको मूल्य बढ्दै जाँदा नेपालले यसबाट प्रत्यक्ष फाइदा लिने एउटा क्षेत्र पर्यटन पनि हो । डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर बनेपछि विदेशी पर्यटकका लागि नेपाल सस्तो गन्तव्य मुलुक बन्छ । अर्थात् थोरै डलर खर्चेर नेपाल भ्रमण गर्न सकिन्छ । अर्कोतर्फ पर्यटक आउँदा नेपालले बढेको डलरको प्रत्यक्ष फाइदा लिन्छ । तर, कोभिड–१९ महामारीलगायत आवश्यक पूर्वाधारको अभावमा नेपालमा पर्यटकको आगमन प्रसस्त छैन ।
‘नेपाली मुद्राको तुलनामा डलर बलियो बन्दा पर्यटन क्षेत्रले लाभ लिन सक्छ,’ अर्थविद् अधिकारी भन्छन्, ‘विदेशीका लागि नेपाल सस्तो गन्तव्य मुलुक बन्छ । तर, नेपालमा अहिले प्रसस्त पर्यटक आएका छैनन् ।’ यद्यपि, नेपालमा उल्लेख्य संख्यामा विदेशी पर्यटक आउँथे र पर्याप्त खर्च गर्थे भने डलर बलियो बनेको समयमा नेपालले डलर आर्जन गर्न सक्थ्यो ।
तर, सन् २०२२ मे महिनासम्म नेपालमा ५३ हजार ६०८ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा सबैभन्दा धेरै भारतीय पर्यटक २६ हजार तथा समग्र दक्षिण एसियाली मुलुकबाट ३० हजार पर्यटक नेपाल आएका छन् । यस्तै, अन्य एसियाली मुलुकबाट २ हजार, यूरोपबाट ६ हजार तथा उत्तर अमेरिकाबाट ४ हजार र अन्य देशबाट १ हजार पर्यटक भित्रिएको तथ्याङ्क छ ।
यद्यपि, डलरको भाउ बढ्दै जाँदा नेपालबाट विदेशतर्फ पढ्न जाने विद्यार्थी र विदेश भ्रमणमा नेपाली निस्कँदा भने नेपाललाई नोक्सान हुन्छ । यस्तो अवस्थामा बढी नेपाली मुद्रा तिरेर डलर लिनुपर्दा नेपाललाई प्रत्यक्ष नोक्सानी हुने भएको हो ।
रेमिट्यान्समा फाइदा
नेपालको अर्थतन्त्रको प्रमुख सूचक मध्येमा विदेशबाट भित्रिने रेमिट्यान्स पहिलो सूचक हो । नेपालको बढ्दो आयातलाई रेमिट्यान्सले वर्षौदेखि धानिरहेको छ । यस्तो अवस्थामा डलर बलियो बन्दा विदेशबाट भित्रिने रेमिट्यान्सको आप्रवाह बढ्छ । यतिबेला नेपाली मुद्राको तुलनामा अमेरिकी डलरसँगै, युरोपियन, खाडी मुलुक लगायतका देशको मुद्रा बलियो बनेको छ ।
ती देशमा लाखौं नेपाली रोजगारीको सिलसिलामा पुगेका छन् । जसले ती मुलुकमा रोजगारी गरेबापत सोही मुलुकको मुद्रामा तलब आर्जन गर्छन् र नेपाल पठाउँछन् । नेपाली मुद्रा कमजोर भएको अवस्थामा ती मुलुकबाट आउने रकम बढी हुन जान्छ । सोही कारण, डलरसहित विदेशी मुद्रा बलियो बन्दा त्यसको प्रत्यक्ष लाभ रेमिट्यान्सबाट पाइन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको १० महिनामा ६ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको रेमिट्यान्स भित्रिएको छ । यसरी भित्रिएको रेमिट्यान्स बढेको डलरको मूल्यमै भित्रिन्छ । जसले गर्दा नेपालमा अघिल्लो वर्षको तुलनामा बढी रेमिट्यान्स आप्रवाह हुने सरोकारवालाहरू बताउँछन् । अघिल्लो वर्षको तुलनामा डलरमा आप्रवाह हुने रेमिट्यान्स १६ प्रतिशतले घटेको पनि राष्ट्र बैंकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो