आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चार स्रष्टा सम्मानित

सोमबार, ३० जेठ २०७९, १२ : २६
सोमबार, ३० जेठ २०७९

डम्बर कुमारी–गणेश कोइराला प्रतिष्ठानले आख्यानको क्षेत्रमा  विशिष्ट योगदान पुर्‍याउने चार साहित्यिक स्रष्टाहरूहरूलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा नेपाल सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आयोजित सो कार्यक्रममा गीता केशरी, परशु प्रधान, डा. बेञ्जु शर्मा, डा. ध्रुवचन्द्र गौतमलाई सो पुरस्कार प्रदान गरिएको थियो । कोरोनाका कारण स्थगित भएको सो पुरस्कार २०७६ को गीता केशरीलाई, २०७७ को परशु प्रधानलाई, २०७८ को डा. बेञ्जु शर्मालाई र २०७९ को  डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको हो । 

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीका माता–पिता डम्बरकुमारी र गणेश कोइरालाको ६८औँ विवाह उत्सवको उपलक्ष्यमा स्वयम्वर शैलीमा उहाँहरू दुवैले एक अर्कालाई दूबोको माला, सिन्दूरपोते लाउने र औँठी साटासाट गर्ने कार्य भएको थियो भने दोस्रो चरणमा पुरस्कार  तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । 

पुरस्कृत स्रष्टा डा. ध्रुवचन्द्र गौतमले  पुरस्कार दिने व्यक्ति र संस्था चोखो रहेको सहर्ष स्वीकार्दै रुद्राक्षको माला भए पनि पुग्ने बताए । उनले भने, “पुरस्कार  दिनेको नियत र स्रोतमा भने विचार गनुपर्छ ।”

अर्का सम्मानित साहित्यकार डा. वेञ्जु शर्माले फरक शैलीको यो कार्यक्रममा सम्मानित र पुरस्कृत हुन पाएकोमा खुसी लागेको बताइन् । उनले भनिन्– “डम्बरकुमारी–गणेश कोइरालाको विवाह उत्सवसहित पुरस्कार कार्यक्रम अहिलेसम्म देखेका कार्यक्रमभन्दा नौलो भएको र बेहुला बेहुलीको झल्को दिने यो कार्यक्रम फरक खालको र अनुकरणीय छ ।” 

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अहिले नारी जागरणको युग आएको र छोराहरूले गर्नुपर्ने काम छोरीबाट हुन थालेको बताए । उनले भने, “मन्दिराको आर्थिक हैसियत जेजस्तो भए पनि ठूलो काम गरेकी छिन् । उनको आचरण र स्वाभिमान अतुलनीय देखिएको छ ।”
वरिष्ठ कथाकार तथा आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले मन्दिरा मधुश्री लेखनका साथै जन्म दिने आमा बाबुको नाममा पुरस्कार स्थापना गरेर धेरै राम्रो कार्यको थालनी गरेको बताइन् । 

सो कार्यक्रममा कवि तथा गीतकार एस्पी कोइरालाले सभालाई सम्बोधन गरेका थिए भने कृष्णमोहन कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

तुलसीहरि कोइरालाद्वारा सञ्चालित उक्त कार्यक्रममा साहित्यकारहरू हिरण्यकुमारी पाठक, लव गाउँले, पवन आलोक, दिव्य गिरी, रवि प्राञ्जल, निशा केसी, शान्ति शर्मा, बाबा न्यौपाने, गोविन्द मानसिंह कार्की, कुमार कोइराला, मुरारि  सिग्देल, श्रीओम श्रेष्ठ रोदन, प्रकाश घायल, जय छाङ्छा राई, विनोद नेपाल, रेणुका भट्टराई, शान्ति सापकोटा, प्रभा बराल,  शर्मिला खड्का, श्याम प्रधान, मञ्जु पौडेल, लीलाराज दाहाल, चिराग चैतन्य गोकुल अधिकारीलगायत अन्य अतिथिहरूको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप