आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा किशोरीमाथि सामूहिक बलात्कार

सोमबार, ३० जेठ २०७९, ११ : ४५
सोमबार, ३० जेठ २०७९

बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । 

बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको ज्यादतीबारे अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । 

आइतबार पीडित किशोरीका अभिभावकले आरोपित दुवै युवक र गर्भपतन गराउने डाक्टर महतोविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेका आरोपित दुवै युवक र डाक्टर महतो फरार रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं. प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको थापाले बताए । 

पीडित किशोरीकी आमाका अनुसार तीन महिनाअघि बलात्कार भए पनि आरोपित युवकहरूले ज्यान मार्ने धम्की दिएर तर्साएका कारण किशोरीले आफूमाथि भएको कुकर्मबारे कसैलाई पनि जानकारी गराउन सकेकी थिइनन् । तर महिनावारी (रजस्वला) रोकिएपछि किशोरीले यसबारे आरोपित युवकहरूलाई भेटेर आफू गर्भवती भएको बताएकी थिइन् ।  त्यसपछि ती दुवै युवकले शनिबार राति उनलाई जबरजस्ती डाक्टर महतोकोमा लगेर गर्भपतन गराएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप